काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् ।
कूल ४५६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाटको पहिलो युनिट बिजुली उत्पादन शुरू भएको छ ।
माथिल्लो तामाकोशीमा ७६-७६ मेगावाटका ६ वटा युनिट छन् । भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य छ ।
माथिल्लो तामाकोशी स्वदेशी लगानीको सबैभन्दा ठूलो आयोजना हो । शुरुआती लागत ३५ अर्ब रहे पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्ब हाराहारी पुगेको छ ।
यो परियोजनाले आर्थिक वृद्धिमा करिब एक प्रतिशत योगदान दिने अर्थ तथा ऊर्जामन्त्री विष्णु पौडेलले जानकारी दिए । उनले यसले दिगो रुपमा लोडसेडिङ अन्त्य गर्ने सुनिश्चित गरेको बताए ।