• मंसिर ६ २०८१, बिहीबार

माओवादी एक हुने कि क्रान्तिकारी कम्युनिस्टहरु एक हुने ?

असार २० २०७८, आईतवार

माओवादी फुटेर अहिले दर्जनजति टुक्रा परेको छ । धेरै टुक्रा परेर कमजोर भएपछि दयामाया लागेर माओवादी समर्थक जनता र कार्यकर्ताले सबै माओवादीहरु जुटे हुँदो हो भनेर चिन्ता र चासो गर्दै जुट्नको लागि सुझाव र दवाव पनि दिने गरेका छन् । माओवादी एक हुनुका साथै एमालेको खनाल–नेपाल समूहसँग पनि एकता गर्ने कुराले त अझ नेपाली वाम जगतको ध्यान पूरै आकर्षित गरेको छ ।

सामान्यतया पार्टीहरु जुट्ने र बलियो बन्ने कुरा दलीय व्यवस्थामा अत्यावश्यक नै हुन्छ । पार्टीहरुमा विश्वास बढाउन, राज्य संचालनमा स्थिरता ल्याउन र देसमा विकास र समृद्धी ल्याउनका साथै सुशासनको लागि पनि पार्टी एकता र सुदृढीकरण अत्यावश्यक कुरा हो ।

तर जब पार्टी एकता गर्ने कुरा निश्चित नेता र तिनका गुट, उपगुटहरुका निहित स्वार्थमा केन्द्रित रहेर नितान्त अपारदर्शी, हठात र बलात तरिकाले हुन्छन् र गरिन्छन् तब त्यहाँ विचार, सिद्धान्त र राजनीतिजस्ता प्रमुख कुराहरु ओझेल पर्छन् । नेता–कार्यकर्ताका संकीर्ण स्वार्थ र अदृश्य नियत अनि जनताका सतही भावनाहरु हावी हुन्छन् ।

त्यो स्थितिमा वास्तवमा त्यो पार्टी एकता विचार र सिद्धान्तमा आधारित एकतै हुँदैन । त्यो त भागबण्डा र लेनदेन अनि तानातान र हानाहानमा सिमित एउटा गठबन्धन मात्र हुन्छ । आज एमाले र माओवादी बीचको अनि मधेसवादी दलहरुबीचको एकता, झगडा र फुटको अवस्थाले यही कुराको पुनर्पुष्टि गरेको छ ।

हो, माओवादी केन्द्र र एमालेको खनाल–नेपाल समूहसँग एकता गरेपछि त पार्टीलाई विधिपद्धति अनुसार चलाउन र सरकार संचालनको अनुभव सेयर गर्न तथा एकअर्का नेतृत्वबीच चेक एण्ड ब्यालेन्स गर्न सक्ने अवस्था उत्पन्न हुने तर्क र आशा गर्ने आधार त देखिन्छ तर प्रथमतः यस्तै आशा र अपेक्षा गरि सिङ्गो माओवादी र सिङ्गो एमालेबिच एकता भएको त आज लोप्पा खाइएको छ भने एमालेको खनाल–नेपाल समूहसँग बादल बिनाको प्रचण्ड माओवादीको एकता प्रथमतः हुँदै नहुने कुरा आजै मात्र पनि एमालेका थिङ्क ट्याङ्क मानिएका नेता वेदुराम भुसालको कान्तिपुर एफएममा आएको अन्तर्वार्ताबाट समेत पुष्टि भएको छ ।

कथंकदा एकता भैहाले पनि त्यो दुई भिन्न धारा, स्कूल र पृष्ठभूमिबाट अर्थात एमाले संसदीय पृष्ठभूमिबाट र माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएका र विगतमा एकले अर्कालाई समाप्त गर्न हत्यासम्म गर्ने र गराउने प्रकृयाबाट आएकाले समयक्रममा त्यो पीडा र आक्रोसले एकअर्कालाई पिरोल्छ र निश्चित समय र अवस्थामा एकले अर्कालाई निषेध गर्ने अवस्थामा पुग्ने र अन्ततः फुट्ने प्रबल सम्भावना हुन्छ र पुनः लोप्पा नै खाने अवस्था न आउला भन्न सकिन्न । त्यसमाथी आआफ्ना नेता र समूहहरुबीचका सत्ता र शक्ति प्राप्तिको सोंच र संस्कार अनि तिनैमा हुने विदेशी चलखेल पनि कति प्रवल रहेछ भन्ने कुरा अहिलेको ओली र माओवादीबिचको मात्र होइन ओली र खनाल–नेपाल गुटहरुबिचको विवाद र वैमनस्यले समेत स्पष्ट पारेको छ ।

त्यो अवस्थामा बादलहरु बिनाको माओवादी केन्द्र र खनाल–नेपाल समूहका केही होनहार युवा र केही सिद्धान्तकार मानिने वरिष्ठ नेताहरु ढुलमुलाइरहेको र एमालेकै एकतामा जोड दिइरहेको सन्दर्भमा माके र खनाल–नेपाल समूहबिच यो एकता भैहालेछ भने पनि दीगो र दरो हुने देखिन्न । यसरी यो न त एक नं कै दल बन्न सक्ने सम्भावना हुन्छ, न त सरकारको नेतृत्व गर्न सक्ने हैसियत नै बन्छ । त्यो स्थितिमा पृष्ठभूमि, शैली, संस्कार र मुद्दा नमिल्ने शक्तिसँगको एकता कति भरपर्दो होला र ? अनि त

यो एकतामा पनि अझै ठूलो र व्यापक विभाजन र विसर्जन आउनसक्छ । तर, त्यसपछि त नितान्त नयाँ शिराबाट क्रान्तिकारीहरु एकजुट हुने सम्भावना भने अझ टड्कारो बनेर आउँछ । जहाँसम्म यो भन्दा पनि प्राथमिकतामा राखेर माओवादी समर्थकहरुले सबै माओवादीहरु एक हुने कुरा गरेका छन्, त्यो त कल्पनासम्म गरेर मनको लड्डु घ्यूसित खाने गर्न त सकिन्छ तर एकता गर्ने वा हुने सम्भावना यथार्थमा परिणत हुन मुस्किल छ ।

जसरी एमाले नेतृत्वको मनपरी, स्वैच्छाचारिता, सर्वसत्तावाद, हुकुमहैकम र हालीमुहालीले विपक्षी गुटका नेताहरु हेलाहोंचो, हैरान-परेसान र पेलानमा परेपछि त्यसभित्रको गुट संघर्षले आपसमा हदैसम्म तिक्तता, विरक्तता, आवेग, प्रतिशोध, प्रत्याक्रमण र निषेधको अवस्थामा पुराएर विष्फोट र विद्रोह बढाउँदै विग्रह र विभाजन भैरहेछ, ठिक त्यसैगरी अपेक्षाकृत सिद्धान्तनिष्ठ, इमान्दार, क्रान्तिकारी, स्वच्छ, स्वाभिमानी र आलोचनात्मक चेत भएका सच्चा क्रान्तिकारीहरुप्रति हदैसम्मको अपहेलना, अन्याय र अत्याचार प्रचण्ड र उनका आसेपासे र गासेदासेहरुबाट बारम्बार हुनेगरेपछि विद्रोह र विभाजनको विकल्प रोज्न बाध्य बनेका माओवादीहरु बिच पनि अत्यन्तै तिक्तता, वैमनस्य र प्रतिशोध बढेर नै फुटेकाले सबैका सबै माओवादीहरु जुट्न पनि असम्भव जस्तै छ ।

कथं जुटिहाले पनि तिनीहरुबीच रैथाने माओवादी र आगन्तुक माओवादी, विचार र रहरका माओवादी र व्यवहार र बाध्यताका माओवादी, माओवादी र खाओवादी अनि माओवादी र गैरमाओवादी जस्ता विभिन्न गुटउपगुटहरुको द्वन्द्वले त्यो गतिहीन हुनेछ र एकता निरर्थक हुने छ ।

फेरि त्यसै द्वन्द्वका बिचमा खेलेर प्रचण्ड र उनको गिरोहले गर्ने मनपरी, अनि कुनै निश्चित जिल्ला, जाति, गुट र व्यक्तिको आधारमा हुने कथित क्षमतावान र योगदानवाला हस्तिहरुको व्यक्तिवादी र परिवारवादी स्वार्थपूर्ती स्वरुप गरिने हालीमुहाली र अन्य ससाना माओवादी गुट र गैरमाओवादी गुटबिचको भावनात्मक अनेकता आदिले गर्दा पुनः एकीकृत भएको भनिने माओवादी पार्टी पनि न दीगोरुपमा एकताबद्ध हुनसक्छ न त केही गर्ने सामथ्र्य नै राख्छ ।

त्यसमाथी वैचारिक मात्र होइन सांस्कृतिक र नैतिकरुपले पतन भैसकेपछि केही गर्न नसक्ने निरीह र निकम्मा हुने कुरा पनि निश्चित नै छ ।

त्यसैले अब आवश्यकता त माओवादी एकताको भावुकता र रहरको होइन, सम्पूर्ण कम्युनिस्ट पार्टीहरुभित्र र बाहिर छरिएर रहेका स्वच्छ, इमान्दार, स्वाभिमानी, स्वविवेकी, स्वनिर्भर, त्यागी, तपस्वी, यशस्वी र तेजस्वी व्यक्तिव्यक्तित्वहरुसमेतको सच्चा देशभक्त र क्रान्तिकारी कम्युनिष्ट शक्ति, समूह, मञ्च, मोर्चा, अभियान, प्रतिष्ठान आदि बीचको एकता नै आजको क्रान्तिकारी कम्युनिस्ट एकता हो र हुनुपर्छ ।

यही वास्तविक क्रान्तिकारी कम्युनिष्ट एकता नै अहिलेको हाम्रो टड्कारो आवश्यकता हो । यस्तो विचार र आचार, राजनीति र संस्कृति, नीति र नैतिकता, अनि नेतृत्व र नियतबीच सामन्जस्य भएको नितान्त नयाँ सैद्धान्तिक आधार र व्यावहारिक कार्यभार बोकेको पार्टीले मात्र नेपाली वाम–कम्युनिस्ट जनमतको सम्मान र सम्बोधन गर्न सक्छ ।

यस्तो कम्युनिस्ट पार्टीले मात्रै राज्य, पार्टी र समाजमा रहेका वर्तमानका अस्थिरता, अस्तव्यस्तता, अराजकता तथा विविध विडम्बनापूर्ण वैमनस्य, वेमेल, विकृति, विसङ्गति, विभाजन र विसर्जनको प्रक्रियालाई समेत रोक्न सक्छ । यस्तो कम्युनिस्ट पार्टीले मात्र राष्ट्रिय स्वाधीनताको पूर्ण रक्षा, अधिक जनअधिकारको प्राप्ति र अत्यधिक विकास र समृद्धि गर्न सक्छ र समाजवाद ‘साम्यवाद’को दिशामा अघि बढ्ने हैसियत र विश्वास आर्जन गर्दछ ।

तर यस्तो गर्नुको सट्टा वा गर्न नसक्ने हीन र हरूवा मानसिकताका कारण वा कुनै क्षुद्र स्वार्थ पूर्तिको लालसाका कारण अथवा उम्किनै नसक्ने गरी संसदवादमा भासिएका कारण हालका कुनै पनि कम्युनिस्ट नामका पार्टभित्र रहेर त्यहाँका इमान्दार क्रान्तिकारी र सच्चा देशभक्त नेता र कार्यकर्ताहरुले सम्बन्धित पार्टी भित्र रचनात्मक सुझाव, आलोचना, विरोध र दवाव गर्नुको कुनै पनि अर्थ र औचित्य छैन । यो कुरा त धेरै दलका धेरै इमान्दार क्रान्तिकारीहरुले भोग्दै आएको तीतो तर जीवन्त सत्य हो ।

तसर्थ यो स्थितिमा पार्टीका नेता–कार्यकर्तालाई मात्र होइन, राज्य र समाजमा हुकुम–हैकम कायम गरेर शोषण–उत्पीडन गर्ने–गराउने शोषक र शासक वर्ग र व्यक्तिहरुलाई समेत पार्टीभित्र र बाहिरका जिम्मेवार सदस्य र नागरिकहरुले जनस्तरबाटै पार्टी र सत्ताका जनविरोधी, देशविरोधी र क्रान्ति विरोधी तत्व र तिनका गतिविधिहरुका विरुद्धमा खबरदारी गर्ने कुराको भने सैद्धान्तिक रुपले मात्र होइन कि व्यावहारिक रुपले पनि ठूलो अर्थ र औचित्य छ ।

चीनमा क्रान्ति सम्पन्न भैसकेपछिको लामो अवधिसम्म पनि पार्टीमा र सत्तामा रहेका पुँजीवादपन्थी अवसरवादीहरु र तिनीहरुद्वारा भए–गरेका प्रतिक्रान्तिकारी हर्कतहरु तथा देश र जनविरोधी कृयाकलापहरु अनि पाँच खराबी र तीन खराबीहरुका विरुद्धमा क. माओले नै व्यापक जनता र क्रान्तिकारी नेता–कार्यकर्ता एवं जनमिलिसिया र युवाहरुको परिचालन गरेर महान सर्वहारा साँस्कृतिक क्रान्ति संचालन गर्दै पार्टी र सत्तामा रहेका पुँजीवादपन्थीहरुलाई सशक्त खबरदारी र बर्खास्तगी गरी तत्कालको लागि प्रतिक्रान्तिलाई रोक्नुभएको थियो ।

त्यसैलाई आधार मानेर नै जनयुद्धकालमा समेत एकातिर पार्टीका पावरफुल नेता, कार्यकर्ता र योद्धाहरुबाट र अर्कातिर आफ्नै निर्माणाधीन नयाँ सत्ता एवं देशका प्रतिकृयावादी र अवसरवादी पार्टी र सत्ताहरुबाट भैरहेका देश, जनता र क्रान्ति विरोधी गतिविधिहरुलाई ठोक्न र रोक्नको लागि प्रचण्डले पनि जनताको प्रत्यक्ष निगरानी, नियन्त्रण र हस्तक्षेपको अवधारणा ल्याएका थिए ।

तर विडम्बना के भयो भने यस्तो खबरारी गर्ने, छुट्टै दरो र दीगो संयन्त्र निर्माण गर्न नभ्याउँदै माओको निधन भयो भने प्रचण्ड आफै प्रतिक्रान्तिकारी दिशामा उन्मुख हुँदा त्यस्तो संयन्त्र निर्माणको न त जनयुद्धकै बेलामा आवश्यकता देखे न त शान्तिकालमै म स्वयमले यस्तो संयन्त्रको टड्कारो आवश्यकता भएकोले त्यस्तो संयन्त्र निर्माण र परिचालन गर्ने सहमती माग्दा दिन चाहें ।

आखिर त्यस्तो भन्ने र गर्न खोज्ने गरेबाट म प्रचण्ड नेतृत्वको पार्टीमा कि त उनको व्यक्तिगत र पारिवारिक स्वार्थपूर्ती गर्ने गरी उपयोग हुने वा उपेक्षा र उपहासको पात्र भएर निकम्मा र निरीहहुँदै चुप लागेर बस्ने अथवा पार्टीबाटै पाखा लाग्न बाध्य हुने अवस्था आयो । यो कुरा सामान्यतया वर्तमान नेपालका सबै पार्टीमा र विशेषतः कम्युनिस्ट पार्टीमा र मुख्यतः वर्तमान माओवादी केन्द्रका सन्दर्भमा म र लोकेन्द्र विष्टजस्ता अन्य कुनै पार्टीमा नगएर स्वतन्त्र रहनेका हकमा मात्र होइन, आज एमालेमा जाने वा रहने मणि थापा लगायतका धेरैजसो इमान्दार क्रान्तिकारीहरुका हकमा समेत एकदमै सत्य हो ।

यो अवस्थामा अब त्यहाँ वा त्यस्ता सबै पार्टीमा अझ बडो, बढी र व्यापक विभाजन, विखराव र विसर्जन आउने निश्चित छ । त्यसपछि भने नितान्त नयाँ शिराबाट सच्चा इमान्दार क्रान्तिकारी कम्युनिस्टहरु एकजुट हुने सम्भावना भने प्रबल नै हुने छ ।

त्यसैले सबै माओवादीको एकता मात्र भनेर माक्र्सवादबाटै विचलित भएका, क्रान्तिप्रति धोका दिएका र विश्वासघात गरेका, साम्राज्यवादी र विस्तारवादेहरुका गोटी बनेका, दास, दलाल र दम्भी चिन्तन र चरित्र भएका नामका माओवादी तर कामका खाओ र कमाओवादीहरु बिचको एकताभन्दा देशका सबै पार्टीभित्र वा बाहिर रहेका विचार र आचारमा एकरुपता भएका सच्चा क्रान्तिकारी कम्युनिस्टहरु बिचको बृहद एकता मात्रै आजको वास्तविक आवश्यकता हो ।

यस्तो एकता मात्रै दीगो र दरो हुनसक्छ र यस्तो कम्युनिस्ट पार्टीले मात्रै देश, जनता र क्रान्तिको सही र सशक्त ढङ्गले नेतृत्व गर्दै सच्चा समाजवादको दिशामा नेपाल र नेपालीलाई अघि बढाउन सक्छ ।
चेतना भया  !