काठमाडौँ । चर्चित जनवादी गायक तथा संगीतकार मोहित श्रेष्ठको आवाजमा हालै एक गीत सार्वजनिक भएको छ । क्रान्तिकारी शब्द र भाव रहेको सो गीतमा विगत जनयुद्धको समयदेखि गणतन्त्रसम्म आउँदा जनताले पाएको धोकाधडी र नेताहरुले जनताको नाममा गरेको लुटसम्मलाई उल्लेख गर्ने जमर्को गरिएको छ ।
नेपाली जनता दिनदिनै गरिबीले गाँजिदै गइरहेको यथार्थलाई उतार्दै गीतकार सुमित्रा श्रेष्ठले नेताहरुले प्यारो मानेको गाउँको अवस्था अहिले पनि उस्तै रहेको तर नेताहरु सुनको तक्मा लिँदै गणतन्त्रको नाउँमा ब्रह्मलुट मच्चाइरहेको विषयलाई गीतमा अभिव्यक्त गर्ने प्रयास गरेकी छिन् ।
आफ्नो भूमिमा विदेशीको हुकुम चल्दा, नेपालीको छातीमा विदेशीको गोली लाग्दासम्म नेपालका युवाहरुलाई देशको लागि अनि राष्ट्रिय स्वाधिनताको लागि लड्न, देश बचाउन लगाउन छाडेर एकछाक टार्नको लागि खाडीका गल्ली गल्लीमा भौंतारिन लागाउने काम जनताको नाममा सुनको तक्मा लगाउनेहरुले गरिरहेको गीतमा गीतकार श्रेष्ठले व्यक्त गरेकी छिन् । गीतले भन्छ,
एकछाक टार्न चाहार्छन् युवा खाडीका गल्लीमा
विदेशी हुकुम, चल्दैछन् गोली नेपाली छातीमा ।
जनता देशमा एकपछि अर्को महंगीको भार थाम्नै नसक्नेगरी बोक्न बाध्य भएको कुरा गीतमा व्यक्त गरिएको छ । यो महंगीको भार बिसाउने ठाउँ खोजिरहेका जनता एकछाक टार्न समेत समस्या सिर्जना हुँदा खानेकुराको अभाव भएर गासका थालहरुमा आँशुका थोपा खसालेको वेदना गीतले बोलेको छ । गीत भन्छ,
महंगीको भारी बोक्दैछन् जनता बिसाउने ठाउँ खोजी
आँशुका थोपा खसाल्छन यहाँ गाँसका थालभरी ।
गरिब जनताको झुपडी र छाप्रोबाट आन्दोलन गरेका नेताहरुले अहिले त्यही गरिबको छाप्रोलाई बिर्सिएको विषय मात्र होइन शहीद तथा वेपत्ता योद्धाहरुको बलिदानीको आडमा सत्ता र सरकारमा पुगेर ती शहीद र वेपत्ता योद्धाहरुलाई बिर्सेर दलाल र माफियाहरुसँग नेताहरु रमाउने गरेको दृश्यलाई सुन्दरतापूर्वक गीतले व्यक्त गर्ने प्रयास गरेको छ । गीतका शब्द छन्,
बिर्सेउ नी कठै गरिबको छाप्रो, बिर्सेउ नी शहीदलाई
छातीमा हात राखेर सम्झ वेपत्ता योद्धालाई ।
गीत चर्चित जनवादी गायक श्रेष्ठको संगीतमा सजिएको छ भने संगीतकार श्रेष्ठकै सुमधुर स्वरमा घन्किएको समेत छ । यो गीत युटुबमा पनि खोजेर सुन्न सकिन्छ । नारायण दंगालले संगीत संयोजन गरेको सो गीतलाई रदिप श्रेष्ठले रेकर्डिङ्ग र मिक्सिङ सम्पन्न गरेका छन ।
विभिन्न आन्दोलन र खासगरी जनयुद्धको समयमा जुन जनताको छहारीबाट नेताहरुले आन्दोलन र जनयुद्ध सम्पन्न गरेर नेताहरु सरकार र सत्तामा पुगे अहिले तिनै जनतालाई भुलेर गणतन्त्रको नाउमा सुनको तक्मा लिन नेताहरु लागेको तर जनताको अवस्था ज्यूका त्यू रहेको सन्दर्भमा यो गीत सिर्जना भएर बाहिर आएको गायक तथा संगीतकार मोहित श्रेष्ठले बताए ।
हेरौं गीतको भिडियो ⇓