• मंसिर १५ २०८१, शनिबार

भोलि ‘असार २१ गते’ एमाले एकता वा विभाजन टुंगिएला ?

असार २० २०७८, आईतवार

काठमाडौं । गत शुक्रबार बालुवाटारमा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल (नेपाल-खनाल) समूहका सांसदलाई भोलि ‘असार २१’ गते साँझ ५ बजेभित्रै सर्वोच्च अदालतबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन् ।

ओलीले दोस्रो पटक (गत जेठ ७ गते मध्यराति) संसद् विघटन गरे पश्चात् जेठ १० गते नेपाल–खनाल समूहका सांसदहरूले विपक्षी गठबन्धनका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग राख्दै सर्वोच्चमा हस्ताक्षरसहित रिट दर्ता गराएका छन् । काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव–संघीय वरिषद् अध्यक्ष डा।बाबुराम भट्टराई (उपेन्द्र-बाबुराम) र एमाले नेपाल-खनाल समूहका सांसदसहित १ सय ४६ जनाले आफ्नो हस्ताक्षरसहित सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित एमाले नेपाल-खनाल समूहका २३ जना सांसदले सर्वोच्चमा हस्ताक्षरसहित रिट दर्ता गराएसँगै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली विस्तारै राजनीतिक तथा सांगठानिक रूपमा कमजोर बनेका छन् । यद्यपि उनले आफू कमजोर बनेको महसुस गर्दै पार्टी एकताका लागि यसअघि ६ बुँदे प्रस्ताव आह्वान गरेका थिए । तर उनले आह्वान गरेको एकता प्रस्ताव नेपाल-खनाल समूहले अस्वीकार गरेको छ ।

नेपाल-खनाल समूहले एमालेको राजनीतिक एवम् वैचारिक सांगठानिक संरचना २०७५ जेठ २ मा फर्काउनपर्ने जोडदार माग गर्दै आएको छ । तथापि ओलीले यसअघि पार्टीलाई जेठ ३ मा फर्काएका थिए । त्यसपछि उनले फेरि पार्टीलाई जेठ २ मै फर्काएको बताए पनि फागुन २८ को पार्टी संरचनालाई ब्युँताएका थिए । त्यसपछि सो समूह झन् चिढिएको छ ।

पार्टीको संरचना २०७५ जेठ २ मा फर्काएको भन्दै ओलीले बारम्बार एकताको नाउमा झुक्काएकोले आफूहरू सचेत हुनुपर्ने सो समूहले बताएको छ । जेठ २ को पार्टी संरचनालाई कुनै हालतमा तलमाथि नगरी पुरानै अवस्थामा नफर्काएसम्म पार्टी एकता नहुने वरिष्ठ नेता नेपालले चट्टानी अडान राखेका छन् । तर, एमाले पार्टी महासचिव ईश्वर पोख्रेलले हिजो एक कार्यक्रममा बोल्दै नेपाल-खनाल समूहले भनेकै अवस्थामा फर्किन नसक्ने बताएका छन् । योसँगै यी दुई समूहबीच झन् विवाद गहिरिएको छ ।

एमाले दुवै समूहबीच विवाद गहिरिए पनि पार्टीका दोस्रो वरियताका नेताहरू एकता जोगाउन निकै सक्रिय हुँदै आएका छन् । ओली समूहबाट नेता सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरूले पार्टी एकताका लागि सक्रियता देखाउँदै आएका छन् भने नेपाल-खनाल समूहको तर्फबाट घनश्याम भुसाल सक्रिय छन् । उनीहरूले पार्टी एकताका लागि भन्दै राजधानीका विभिन्न होटलमा अनौपचारिक छलफल एवम् भेटवार्ता गर्दै आएका छन् । नेता नेम्वाङ, पौडेल र भुसालबीचको भेटवार्ता र छलफल सकारात्मक भएको भनिए पनि निष्कर्षमा भने पुग्न सकेको छैन ।

यी नेताहरूले हिजो (शनिबार) ओली र नेपाललाई प्रत्यक्ष टेलिफोन संवादसमेत गराएका छ्न् । एकताका लागि वार्ता र संवादबाटै समाधान खोजिनुपर्ने भन्दै नेपालनिकट नेता भुसालले दुई नेताबीच टेलिफोन संवाद गराएको बताएका छन् । यद्यपि उक्त टेलिफोन संवाद पश्चात् वरिष्ठ नेता नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँग एकता सम्भव नभएको प्रतिक्रिया दिएका छन् ।

हिजो (शनिबार) स्थायी कमिटी सदस्यबाहेक काठमाडौंमा भएका सांसदहरूसँग नेता नेपालले झन्डै चार घण्टा लामो छलफल गरेका थिए । उक्त छलफलमा सहभागी सांसदहरूसँग संसवाद गर्दै ओलीसँग पार्टी एकता हुनै नसक्ने बताएका छन् । यदि ओलीले पार्टी एकता चाहेको हो भने यसअघि आफूहरूले सारेको ६ बुँदे प्रस्तावको स्पष्ट खाका तयार गर्न वरिष्ठ नेता नेपालले ओलीलाई आग्रह गरेको छन् ।

त्यस्तै आज (आइतबार) ओली समूहका नेताहरूले नेपाललाई भेटेर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै गरिएको हस्ताक्षर फिर्ता लिन अनुरोध गरेका छन् । नेपाल निवास कोटेश्वरमा पुगेर ओली समूहका नेता सुवास नेम्वाङ लगायतका अन्य केही नेताले यस्तो आग्रह गरेका हुन् । तर, उनीहरूको आग्रहलाई बेवास्ता गर्दै नेपालले अदातली प्रक्रियामा गइसकेकाले हस्ताक्षर फिर्ता नहुने जवाफ दिएका छन् ।

नेपालको यस्तो प्रतिक्रिया सुनेपछि निराश हुँदै ओली समूहका नेता नेम्वाङले भने, ‘काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा गरिएको हस्ताक्षर फिर्ता लिन हामीले आग्रह गरेका हौँ । तर, उहाँ (नेता नेपाल)ले मान्नु भएन । यदि हस्ताक्षर फिर्ता लिएमा एकताको वातारण बन्नेमा दुविधा छैन । हस्ताक्षर नै फिर्ता नलिए एकता कति सम्भव होला, तपाईंहरू आफै सोच्नुस् ।’

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले एकता प्रस्तावको नाउमा वरिष्ठ नेता नेपाल-खनाल समूहलाई झुक्काउने र सर्वोच्चबाट सो समूहका सांसदहरूले पनि हस्ताक्षर फिर्ता नलिए भोलि असार २१ गते पार्टी एकता वा विघटनको टुंगो लाग्ने निश्चित जस्तै छ । किनकि यसअघि नै ओलीले नेपाल-खनाल समूहका सांसदहरूले हस्ताक्षर फिर्ता नलिए पार्टी एकता हुन नसक्ने बताइ सकेका छन् भने नेपालले पनि हस्ताक्षर कुनै हालतमा फिर्ता नलिने बताएका छन् ।