• असार २२ २०८१, शुक्रबार

डा.द्वय महरा र पुनको सेवाले कोरोना जित्यो गिठेपानीले

असार २० २०७८, आईतवार

घोराही,२० असार ।
यो समाचार लेखिइरहँदा घोराही १८ गिठेपानी क्षेत्रमा २३ जनाले कोरोना भाइरसलाई जिति सक्नुभएको छ । लक्षण देखिएका तर न जँचाएका चारजना थप सञ्चो हुनुभयो । अहिले कोरोनाको चर्चा घट्दै गएको छ । अब थप विरामी हुँदैनन् भन्ने मानसिकताको विकास बढ्दै गरेको छ ।
परिवारैलाई कोरोना भएपछि बन्द भएको मिलिजुली टोलको एउटा किराना पसल चालु गरिएको छ । सबैलाई सञ्चो लागेपछि खुला गरिएको सञ्चालकले बताए । बच्चा सहित सबैलाई लागेको थियो । शुरुका दिनमा डर लाग्यो । शरीर दुख्यो उपचारपछि बिस्तारै निकोहुँदै गयो । सबै परिवार सञ्चो भएपछि पसल खुला गरिएको हो । छरछिमेकबाट किन्न आउँछन् ।

लकडाउनसँगै बन्द भएको पिपलखालीको चिया पसल पनि खुलेको छ । गाउँमा प्रहरीले त्यति कडाइ नगरेपनि डरैडरमा पसल बन्द थियो । कोरोनाले कसैको ज्यान खराब नगरेपछि खुला गरिएको सञ्चालकको भनाइ छ । त्यहाँ नियमित जसो चिया पिउने । गफ गर्ने । भेटघाट हुने गरिन्छ । त्यो स्थल लामो समय सुनसान थियो । अहिले चहलपहल शुरु भएको दिदीबहीनी टोलका अध्यक्ष घनबहादुर रावतको भनाइ छ । उहाँका अनुसार गाउँ बाहिरको भने कोही आउँदैन ।

त्यस क्षेत्रका ८१ वर्षे जेष्ठ नागरिक, मृगौला पीडित भई डाइलासिस गराउँदै आएका विरामी, अपांगता भएका व्यक्ति र बालबालिकाले समेत कोरोना जितेका छन् । एक जनालाई मितेरी अस्पताल तिनदिन भर्ना गरिएको बाहेक सबैले घरमै कोरोना जिते । तिनको नियमित देखबहाल डा. गिरबहादुर महरा ‘रोदन’ले गर्नुभएको थियो । दुई तिन जनालाई डा. वसन्त पुनले पनि फोनबाट सहयोग गर्नुभयो । घरमै रात साँझ पुगेर डा. महराले सम्पूर्ण उपचारका उपाए अपनाउनु भयो ।

एउटै विरामीलाई पाँच पटकसम्म भेट्नु परेको डा. महराको भनाई छ । उहाँका अनुसार समस्याले भन्दा आत्तिएर बोलाउँथे । जाँच गर्ने क्रममा नर्मल हुन्थे । यसरी डराउनुको कारण कोरोनाको हाउगुजी थियो । बजार आँदा गल्लीगल्लीमा सेता टेन्ट लगाएको भेटिन्थ्यो । त्यो दुःखद दृश्यलाई हो न हो कोरोना भन्ने रुपमा बुझे । अरु कारणले मृत्यु भएपनि धेरैको बुझाईमा कोरोना हुन्थ्यो । अधिकांश मृत्यु कोरोनाले भएकापनि थिए । यस्तै हुने होकी भनेर तर्सिए ।

कोरोना पोजेटिभ भएको घरमा कोसेली सहित भेटघाट गर्न जाने शुरुवात गैह्रवारी ड्याम साइट टोलका अध्यक्ष हिमकला केसीले गर्नुभएको थियो । त्यसले स्थानीय स्तरमा धेरै सहज वातावरण बनाइदिएको थियो । उहाँका सात आठजनाको महिला जमात आँटिलाको रुपमा प्रचारित भएको छ । कोरोना पोजेटिभको घरमा औषधि खुवाउनेदेखि सबै हेरचाह परिवारका सदस्यले गरेका थिए । उनिहरुले स्याहार सुसार गर्दा कत्तिपनि माया घटाएनन् । हौसला दिइरहे ।

स्थानीय अगुवाहरुले पनि घर भेटघाट गरेर सान्त्वना दिएको मधुबावु पाण्डेयको भनाई छ । उहाँकी आमा विष्णु पाण्डेय पनि कोरोना पोजेटिभ हुनुहुन्थ्यो । मधुका अनुसार भेट्न आउनले के छ भनि सोध्दा मात्रै विरामीलाई आत्मबल बढ्दो रहेछ । अरुलाई पनि लाग्न सक्ने रोग हो । मलाई मात्रै होइन भन्ने आँट पैदा हुँदा रहेछ । अपराध होइन भन्ने बुझ्दा रहेछन् । एक्लै राख्ने कोहिले भेट नगर्दा अपराध गरेको महशुस गरी आत्मबल गिराउने खतरा रहेन ।

नजिकै रहेको घोराही बजारमा अधिकांशले पोजेटिभ भयो नै अलग कोठामा राखे । त्यहाँ ज्वरो आएको, तातो चिसो खान खोजेको कसैले सोधपुछ गरेनन् । थलिँदै गएपछि अस्पताललाई बुझाइदिएर आफु सुरक्षित हुन खोजे । त्यसले गर्दा बजारमा मृत्युदर बढि देखिएको स्थानीयको बुझाइ छ । कतिपय विरामी छटपटिँदा मलाई घरमा लैजाउ बाँच्छु भन्थे तर घरकाले हिम्मत गरेनन् । उनिहरु डराउँदा अकालमै मृत्यु भयो । त्यो अवस्थ गिठेपानीमा आइन् ।

यसगरी युगराज पोख्रेलले श्रीमति विरामी हुँदा आफैले पुरै स्याहार गर्नुभयो । उहाँलाई कोरोना सरेन । हातमा अनार मिचेर रस कोरोना पोजेटिभ सासु आमालाई खुवाउने बालिका बस्नेतलाई पनि कोरोना सरेन । केही कोरोना पोजेटिभलाई डा. महराले मोटरसाइकलमा कोरोना ओसार पसार गर्नुभयो उहाँलाई पनि कोरोना सरेको छैन । उहाँले माष्क र ग्लोब्स लगाएर मात्रै विरामी उपचार गर्नुभयो । पिपिई पनि लगाउनु हुन्नथ्यो । कालिका सामुदायीक वन उपभोक्ता समूह घोराही–१८ का सचिव दिनेश वलीले पनि कोरोना पाजेटिभलाई मोटरसाइकलमै अस्पताल लग्नुभएको थियो । उहाँहरु कसैलाई पनि कोरोना सरिन । यसले छोइदा कोरोना सर्दैन भन्नेमा स्थानीय विश्वस्त हुँदै गए । उनिहरुले कोरोना पोजेटिभको घरलाई विभेद गरेनन् ।

अघिल्लो वर्ष पनि आधारभूत विद्यालय गिठेपानीमा १८ जना कक्यारेन्टाइन बस्दा दुई तिन जनालाई मात्रै पोजेटिभ देखिएको लेकबेसी टोलका अध्यक्ष सूर्यबहादुर जिसीको भनाई छ । त्यसवेला एउटै धारा शौचालय प्रयोग गर्दापनि सबैलाई सरेन । उहाँका अनुसार त्यो घटनाले यो भ्रम फैलाएको हो । छोएर सर्दैन भन्ने बुझेका थिए । एउटै बसमा आएका सँगै सुतेका दुईजना मध्ये एकजना पोजेटिभ अर्को नेगेटिभ भएका थिए । त्यसबेला देखिनै कोरोनाका विरामीलाई अछुत बनाई अलग राख्ने होइन स्याहार गर्नुपर्छ भन्ने बुझे । त्यही अनुभवका आधारमा यस पकटकका पोजेटिभले उचित सेवा पाए । कसैको पनि ज्यान खराब हुन नपाएको स्थानीय बताउँछन् ।

त्यहाँ बेलामौकामा मात्रै घोराहीबाट प्रहरी पुग्ने भएकाले हिंडडुलमा समस्या नआएको द्रोणबहादुर महराको भनाई छ । घरघरै घुम्दापनि कसैले रोक्दैन्थ्यो । रोगलाई जटिल नबनाई उपचार विधिलाई ध्यानमा राखेकाले कोरोना जितेको स्थानिय बुद्धिजीवी धनबहादुर विसीको भनाई छ । दिपशीखा आमाविका प्रिन्सिपल विसीका अनुसार विरामीको चित्त दुखाउने व्यवहार कसैले गरेनन् । बरु पोजेटिभसँग आवश्यक दुरी कायम गरी भेटघाट, गफगाफले मनोबल उच्च बनाइदिए । आत्मबल बलियो भएपछि छिटोछिटो कोरोना जित्न सफल भएका थिए ।

कोरोना पोजेटिभ धेरै जसोले हाम्रो भगवान गिरु भनेर डा. महराको प्रशंसा गर्छन् । उहाँकै कारणले कोरोना जितेको बताउँछन् । डा. महरा नपुगेको कोरोना पोजेटिभको घरपनि बिरलै भेटिएला । सबैजसोमा पिपिई नलगाएर डा. महराले उपचार गर्नुभएको थियो । रोटरी क्लब अफ दाङले पनि स्वास्थ सामग्री दिएर मद्धत गरेको थियो । जेसी मिनराज भाट नेतृत्वको डाक्टर सहितको टोलीले घरघरै पुगेर विरामीलाई स्वास्थ्य परामर्श गरेको थियो । यसैगरी त्रिभुवननगर जेसिजले पनि स्वास्थय सामग्री वितरण गरेको थियो । यसले पनि विरामीको मनोबल बढाइदियो ।

एवं कारणले गिठेपानी क्षेत्रमा मानवीय खराबी हुन नपाएको कालिका सामुदायीक वन उपभोक्ता समूहका उपाध्यक्ष केशर रावतको भनाइ छ । उहाँका अनुसार समाज निकै सहयोगी भयो । मानवीय समवेदना व्यक्त गरेर हौसला दियो । एकजना सुगर प्रेसरले सताइएका व्यक्तिलाई कोरोना पनि देखिएको थियो । पिसाव बन्द भएका उनको उपचारकै क्रममा मृत्यु भएको छ । उहाँका परिवारका अनुसार कोरोना देखिएपनि खास कारण मृगौलाको खराबी थियो । धेरै प्रयास गर्दापनि बचाउन सकिएन । त्यसबाहेक यो समाचार तयार पार्दासम्म कोही पनि खतरामा हुनुहुन्न । त्यस क्षेत्रका १० टोलमा कोरोना पूर्वको जस्तै सामान्य अवस्था बन्दै छ ।