काठमाडौं । सरकारले असार २४ गतेदेखि कोरोनाविरुद्धको खोप चीनबाट प्रत्येक हप्ता आपूर्ति हुने व्यवस्था मिलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे जस्तो २०२१ भित्रै सबै नेपालीको शरीरमा खोपको डोब भने नदेखिने निश्चित छ ।
सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन डिस्क्लोजर एग्रीमेन्ट गरेको छ । यसक्रममा चीनबाट कूल ३० लाख खोप क्रमवद्ध रूपमा आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोपको ४० लाख डोज खोप खरिदका लागि नेपाल सरकारले सम्झौता गरिसकेको र अब पर्याप्त मात्रामा खोप आपूर्ति हुने सरकारी स्तरबाटै बताइएको छ ।
दुई साता अघि अमेरिकाले नेपाल सहित १८ वटा देशका लागि एक करोड ७० लाख मात्रा खोप उपलब्ध गराउने जनाएको थियो। ती खोपहरु पनि कोभ्याक्स मार्फत आउनेछन् । तर कहिले आउछन् त्यस्को टुंगो अहिलेसम्म लाग्न सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०२१ भित्र सबै नेपालीलाई खोप लगाइसक्ने घोषणा गरेपनि त्यो भने पूरा हुने देखिदैन । नेपालले खोप खरिद गर्न राखेको प्रस्तावमा जोन्सन एन्ड जोन्सन नोभ्याक्स,सेरम लगायतका ५ कम्पनीहरुले यसबर्ष खोप उपलब्ध गराउन नसक्ने बताएका छन् ।
बजेटमा खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरिएको छ । अहिलेसम्म नेपालको कुल जनसङ्ख्याको ९ प्रतिशतले पहिलो मात्रा खोप लगाउन पाएका छन् । बिज्ञहरुले कोरोनाको तेस्रो लहरको जोखिम रहेकाले छिटो भन्दा छिटो सबै नेपालीलाई खोप दिन सके कोरोनाबाट हुने मानवीय क्षति कम गर्न सकिने सुझाब दिदै आएका छन् ।