काठमाडौँ । नेपालमा केही पनि छैन, सम्भावना छैन, गरिखाने अवस्था छैन भनेर कयौं मानिसहरु विदेशतिर कुँदिरहँदा यस्ता कुरालाई चुनौती दिंदै एक कृषि परियोजनाले १० घर परिवारलाई रोजगारी दिने विज्ञापन सार्वजनिक गरेको छ । आफ्नो देशलाई धिक्कार्दै विदेशतिर कुँद्नु भन्दा स्वदेशमै जोस जाँगर देखाएर आम्दानी, उन्नती, प्रगती गरौँ भनेर कास्की जिलाको एक निजि कृषि कम्पनीले १० घर परिवारलाई राजगारी दिने बताएको हो ।
रोजगारी कसले दिने हो ?
बतास एग्रो कम्पनीले अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ भयरचौर कास्कीमा संचालन गर्न लागेको बतास एग्रो बहुउद्देस्यीय कृषि परियोजनाको लागि ४५ वर्षमुनिका १० घर परिवारलाई खेती किसानी र पशुपालनमा रोजगारी दिने भनेको छ । भयरचौरमा २ सय रोपनी जग्गामा गरिने बहुउद्देस्यीय कृषि परियोजनामा काम गर्न समावेशी तरिकाले बतास कृषि कम्पनीले परिवारलाई रोजगारी दिन लागेको हो । कृषि तथा पशुपालन काम गर्नको लागि गन्धर्व परिवार संख्या ३, दर्जी परिवार संख्या १, विश्वकर्मा परिवार संख्या १,सार्की परिवार संख्या १, गुरुङ मगर परिवार संख्या १, ब्राहमण परिवार संख्या १, क्षेत्री परिवार संख्या १ र नेवार परिवार संख्या १ गरेर १० परिवारलाई रोजगारीको लागि बतासले विज्ञापन आव्हान गरेको हो ।
रोजगारीका सुविधाहरुः
सो परियोजनामा बसेर रोजगारीमा लाग्ने परिवारलाई कम्पनीले ७ लाख बराबरको दुर्घटना बीमा, ३ लाखको औषधी उपचार बीमा, ३ लाख ५० हजारको प्राकृतिक म्यादी बीमा उपलब्ध गराउने छ । यसका साथै न्यूनतम मोबाइल खर्च मात्रै होइन सरकारी चालक अनुमति पत्र लिएका रोजगारहरुलाई कम्पनीले मोटरसाइकल किन्न ५० प्रतिशत लगानी गरिदिने र बाँकी न्यूनतम ब्याजमा किस्ताबन्दी सुविधा र मोटरसाइकलको कर तथा बीमा सुविधा उपलब्ध गराउने छ ।
रोजगारीमा गर्नुपर्ने काम
रोजगारदाताले रोजगारलाई १ वटा जर्सीगाई,१० जोडी चल्ला, १ वटा भोटे कुकुर, १ बिरालो, २ जोडी हाँस, ३ घार मौरी, ५ जोडी परेवा, रोजगारको आफ्नो दैनिक तरकारी उत्पादनको लागि १ रोपनी र धान उत्पादनको लागि ३ रोपनी जग्गा उपलब्ध गराउने छ । सिरक, सिरानी, तन्ना, पर्दा, टिभी, कुर्सी, टेबल, दराज लगायत भान्सा र अरु कामको लागि दैनिक चाहिने सबै सामग्रीहरु उपलब्ध गराउने छ ।
आम्दानी के गर्ने, कति हुन्छ मासिक तलब ?
कम्पनीले प्रदान गरेका पशुपालनबाट हुने आम्दानीमध्ये ६० प्रतिशत किसान परिवार वा रोगजारले लिने र ४० प्रतिशत कम्पनीलाई दिनुपर्ने । कम्पनीले सम्पूर्ण पशुपंछीहरुको पनि विक्री वितरण गरिदिने साथै पालेका पशुपन्छीहरुको पनि बीमा गरिदिने । बस्ने घरबास कम्पनीले किसानलाई सोही स्थानमा उपलब्ध गराउने । कम्पनीले प्रतिपरिवार मासिक ३० हजार किसानलाई जागिर दिने ।