• मंसिर ११ २०८१, मंगलवार

अमेरिकाले देश निकाला गर्दापनि साहसी पत्रकार बन्न सफल जोन रिड

असार १९ २०७८, शनिबार

‘उनी सुनेका कुरा लेख्ने कोठे रिपोर्टर थिएनन् । उनी कसैले भनेकै भरमा लेख्ने पत्रकार थिएनन् । उनी स्थलमै जान्थे, हेर्थे, बुझ्थे, लेख्थे र भन्थे,‘ सबै चीज मैले आफ्नै आँखाले देख्नुपर्छ ।’

सब चीज आफ्नै आँखाले देख्नुपर्ने ती व्यक्ति थिए, जोन रिड । उनको जन्म अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्ड शहरमा भएको थियो । उनी जन्मदैदेखि शारिरीकरुपमा कमजोर थिए । सानोछँदा उनी विरामी भइरहन्थे । उनी लड्न भनेपछि धेरै डराउँथे । त्यसैकारण उनी सबैसँग ठगिन्थे । तर उनी धेरै मेहनती थिए । जसका कारण उनीमा सहास पलाउँथ्यो । उनी देश विदेशका वीरहरुका कथा सुन्न मन पराउँथे ।

९ वर्षको उमेरमा उनले अमेरिकाको हास्य इतिहास लेखे । १६ वर्षको उमेरमा न्युजर्सी बोर्डिङ स्कूलमा भर्ना भए । उनी सानैदेखि मिलिजुली बस्थे । त्यसैक्रममा कथा, कविता लेखेर स्कूलको पत्रिकामा छाप्न दिन्थे । त्यसबेला देखि नै उनले वासिङ्टन र लिंकनलाई पढिसकेका थिए । उनी इतिहासका कुरा भनेपछि हुरुक्क हुन्थे ।

सन् १९०६ मा उनी हार्डबर्ड विश्वविद्यालयमा भर्ना भए । त्यहाँ भर्ना भएको दोस्रो वर्षमा कलेजकै दैनिक अखबार र एउटा पत्रिकाको सम्पादकमा चुनिए । उनी धनि केटाहरुसित कहिल्यैपनि मिल्न सकेनन् । राम्रा कपडा लगाउने केटाहरु उनको गिल्ला गर्ने गर्थे । उनीहरुले उनलाई हेलाँ र अपमान गर्थे । तर उनी भने इज्जतसाथ बाँच्न चाहन्थे । केही साथीहरुसित मिलेर सम्पन्नहरुको सो गुटमा एउटा समाजवादी क्लब खोेले । जहाँ राजनीति, अर्थशास्त्रजस्ता विषयको छलफल र अध्ययन हुन्थ्यो । त्यसरी विस्तारै उनी प्रगतिशील र समाजवादी बन्दै गए ।

विश्वविद्यालयको पढाई सकेर उनी खेलनमा लागेका थिए । कथा, कविता, नाटक लेखेर ‘द अमेरिकन म्यागजिन’मा छपाउन थाले । उनले त्यसका सफलता पाउँदै गए । उनले अमेरिकामा समाजवादी, अराजकतावादी, मजदूर नेता, काल्पनिक समाजवादीहरुसित भेट गर्न थाले । साहित्यको गहन अध्ययन गर्न थाले । जसका कारण उनी परिपक्क बन्दै गए । उनले अमेरिकाको पिटरसन्मा सुती मिलका मजदूरहरुको हड्ताललाई नजिकबाट नियाल्ने मौका पाए ।

अमेरिकी अरबपति रकफेलरको खानीमा मजदूरहरुको हड्ताल र पुँजीपतिहरुले गरेको निर्मम दमनपनि नियाल्ने मौका पाए । सो घटनाले उनलाई मजदूर आल्दोलनमा होमिन प्रेरित गर्यो । सन् १९१० र ११ मा मेक्सिको सरकारले किसान र आदिवासीलाई तिनीहरुको जग्गाबाट निष्कासन गर्यो । यसका विरुद्ध किसान र मजदूर विद्रोहमा उत्रिए । अमेरिकाले त्यसमा हस्तक्षेप गरी विद्रोह चर्काउन थाल्यो । उनी त्यसैबेला युद्ध संवाददाता भइ मेक्सिको पुगे । त्यहाँका किसानहरुको पक्षमा ‘विद्रोही मेक्सिको’ नामको पुस्तक निकाले ।

अन्ततः मेक्सिकोबाट सेना हटाउन अमेरिका बाध्य भयो । प्रथम विश्वयुद्धमा पनि उनी युद्ध संवाददाताकारुपमा मैदानमा पुगेका थिए । पछि अमेरिका युद्धबाट फर्केपछि युद्धको विरुद्धमा लेखेको हुँदा उनलाई राजद्रोहको मुद्धा पनि लगाइयो । अमेरिका आफूले चलाएको अन्यापूर्ण युद्धको पक्षमा लेखेको हेर्न चाहन्थ्यो । सन् १९१७ मा उनी रुस गए । उनले त्यहाँको महान अक्टोबर समाजवादी क्रान्ति पनि नियाले । जहाँ उनी पुग्थे र त्यहाँबाट पर्चाहरु बटुलेर ल्याउँथे । उनी भित्तामा टाँसिएका र सडकमा फालिएका पर्चाहरु बटुल्थे ।

भित्तामा पनि भएका च्यातेर लिन्थे । उनले विभिन्न समयमा र विभिन्न तरिकाले क्रान्तिकारी र प्रतिक्रान्तिकारीका पर्चाहरुको ठूलै संग्रह जम्मा गरे । सन् १९१८ मा न्यूयोर्क बन्दरगाहमा ओर्लंदा अमेरिकी जासुसहरुले उनको पोको जफत गरे । तर धरै ठूलो प्रयासपछि मात्रै उनले आफ्नो त्यो पोको आफ्नै पोल्टामा पार्न सफल भए । अनि आफ्नो कोठामा लुकाएर राखे । सोही पोकोमा जम्मा गरेर ल्याएको सामग्रीको आधारमा उनले ‘संसारलाई हल्लाइ दिने ती दश दिन’ लेखे ।

अमेरिकी सरकारले सो पुस्तकको पाण्डुलिपी चोर्न ६ पटक प्रकाशन गृहमा हमला गर्यो । तर फेला पार्न सकेन । जसरी पनि सो पुस्तक प्रकाशन भयो । यसपछि उनी संसरभर प्रसिद्ध भए । रुसले उनलाई एक क्रान्तिकारी व्यक्तित्व र वैज्ञानिकमा रुपान्तरण गर्यो । अमेरिकी मजदूर आन्दोलनले उनलाई एक जिम्मेवार क्रान्तिकारी शिक्षक बनायो । तर अमेरिकाको आँखामा उनी कसिंगर बन्न पुगे । उनी २० पटकसम्म गिरफ्तार पनि भए ।

फिलाडेल्फियामा प्रहरीले तालामारी बोल्नै दिएन । तर उनले बाहीर राखिएको साबुनको बाकसमा चढेर सडकमा जम्मा भएको मानिसको भीडलाई सम्बोधन गरिछाडे । जसका कारण शान्तिसुरक्षा भंग गरेको आरोपमा उनलाई गिरफ्तार गरियो । तर न्यायालयले उनलाई अपराधी घोषणा गर्न अस्वीकार गरिदियो । सन् १९१९ मा अमेरिकाका २ वटा कम्युनिस्ट पार्टीलाई एउटैमा मिलाउनेक्रममा कम्युनिस्ट इन्टरनेश्नलसँग मिलेर काम गर्न उनी रुसको मस्को पुगे । उनले तेस्रो अन्तराष्ट्रियमा भाग लिए ।

पछि उनी गोप्यरुपमा न्यूयोर्क फर्कंदा एक जहाजीले धोका दिएका कारण उनी जहाजबाटै गिरफ्तार भए । उनलाई त्यहाँबाट ओरालेर फिन्ल्याण्डको एउटा जेलमा एकान्त कारावासमा राखियो । त्यहाँबाट उनी रुस फर्केर कम्युनिस्ट इन्टरनेश्नलका लागि लेखहरु लेख्न थाले । बाकुमा भएको पुर्वेली जनताको महाअधिवेशनमा प्रतिनिधिकारुपमा भाग लिएका कारण अमेरिकाले उनलाई ५ वर्षकालागि देशनिकाला गर्यो । सन् १९२० मा उनी रुसको ककेसियामा थिए । त्यहाँ उनी टाइफाइड रोगबाट संक्रमित भए । धेरै उपचार गरे, औषधी खाए तर रोग निको भएन । जसका कारण उनी ३३ वर्षमै मृत्युवरण गर्न बाध्य भए ।