काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ को सिम्ले बजार र वडा नम्बर ११ को माङ्खुटार जोड्ने भनेर बनाएको पक्की पुल बाढीले बगाएको छ । केहीदिन पहिले मात्रै ढलान सम्पन्न भएको सो पक्की पुल शुक्रबार राति र शनिबार बिहान महेश खोलामा आएको बाढीले निर्माणको अन्तिम चरणमा रहेको पुल बगाएर भत्काई दिएको हो ।
पुल निर्माण कार्य सम्पन्न भएर प्रयोगमा आउन नपाउँदै बाढीले बगाएको स्थानीय शिक्षक जयराम रुपाखेतीले बताए । राति करिब १२÷१ बजेको समयमा आग्राखोलामा बाढी आएपछि महेश खोलामा पानीको बहाव अत्यधिक बढेको थियो ।
सडक विभागको बेवास्ता र ठेकेदार कम्पनीको ढिलासुस्तीले गर्दा सिम्लेमा यो परिणाम व्यहोर्नु परेको स्थानीयको गुनासो रहेको छ । बर्खाको समयमा हतारले काम गर्दा निर्माण कम्पनीलाई आर्थिक क्षति र जनतालाई विकासमा बाधा पुगेको सरोकारवालाहरुले विभिन्न संजालहरु मार्फत व्यापक गुनासो व्यक्त गरेका छन् ।