काठमाडौं । सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिल्ने क्रममा रहेका बेला एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको टेलिफोन संवादपछि फेरि भाँडिएको छ ।
अध्यक्ष ओलीले नेता नेपाललाई शुक्रबार बिहान टेलिफोन गरी भेटघाट गरी सहमतिमा अघि बढ्न आग्रह गरेका थिए । ओलीको आग्रहलाई नेपालले अस्वीकार गरेपछि दोस्रो पुस्ताका नेताहरूले थालेको एकता पहल फेरि बिच्किएको छ ।
बिहीबार साँझ दुवै पक्षका नेताहरूले विवादको निकासका लागि ओली र नेपालबीच संवाद गराउने सहमति गरेका थिए । सोही बमोजिम ओलीले नेपालसँग भेटघाटको प्रस्ताव राखेका थिए तर नेपालले भेट्न नमानेको स्रोतको दाबी छ ।
नेता नेपालले कुनै पनि कुरा नमिलिकन भेटघाट गर्नुको अर्थ नभएको र त्यसका लागि अहिले उपयुक्त समय पनि नभएको बताएपछि ओलीले शुक्रबार केन्द्रीय कमिटीको बैठक राखेका हुन् ।
केन्द्रीय कमिटी बैठकबाट विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर सोमबार अपराह्न ५ बजेसम्म फिर्ता लिन नेपाल पक्षलाई समयसीमा तोकिएको छ । नेपाल पक्षले भने प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दालाई उठाउनै नहुने बताएको छ ।
ओलीले मुद्दालाई प्रभावित पार्न नेपाल पक्षलाई हस्ताक्षर फिर्ता लिन समयसीमा तोकेका हुन् । अदालतबाट आउने निर्णयकै आधारमा पार्टीको विवाद निरूपण हुने भएकाले त्यस विषयमा अदालतकै निर्णय कुर्नुपर्ने नेपालले बताएका छन् ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।