काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ । क्रान्तिकारीले सबै जनतालाई कोरोना भाइरसको निःशुल्क खोपको व्यवस्था हुनुपर्ने, लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालका चुच्चे नक्सा पाठ्यक्रममा समावेश गरिनुपर्ने लगायतका मागहरु राखेर राजधानी काठमाडौँमा प्रदर्शन गरेको हो ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण अन्त्य हुनुपर्ने र राष्ट्रियता जनतन्त्र र जनजीविकाको सुनिश्चितता हुनुपर्ने भनेर माइतिघरमण्डलामा प्रदर्शनमा उत्रिएका क्रान्तिकारी विद्यार्थीहरुले आफ्ना मागहरुबारे सरकारलाई ध्यानाकर्षण गराउन चर्कोरुपमा नाराबाजी गरेका थिए ।
विरोध प्रदर्शन पछिको कोण सभालाई सम्बोधन गर्दै क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले कोरोना भाइरसको खोप जनतालाई उपलब्ध गराउन नसक्ने ओली सराकार नलायक सिद्ध भएको धारणा व्यक्त गरे । जनता रोग र भोकले पिल्सिंन्दा संसदवादीहरु सत्ताको लुछाचुडीमा लिप्त भएको गजुरेलले आरोप लगाए ।
सरकारले यथाशिघ्र सम्पूर्ण जनतालाई निस्शुल्क कोरोना भाइरसको खोपको व्यवस्था गर्नुपर्ने आफ्नो माग क्रान्तिकारीका अध्यक्षले गजुरेलले जोगदार पूर्वक सुनाए । संगठनकी उपाध्यक्ष शिलु न्यौपानेले जनता र विद्यार्थीहरु बाढीमा परेर दुःख पाइरहँदा केपी ओली सरकार मोजमस्तीमै रमाएको आरोप लगाइन् ।