• मंसिर १५ २०८१, शनिबार

एकताका लागि एमाले दोस्रो वरियताका नेता पुनः सक्रिय

असार १७ २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल–झलनाथ खनाल समूहबीच गहिरिदै गएको विवादले अन्ततः एमाले फुटको सम्मुखमा पुगेको छ ।

फुटबाट जोगाउन प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच केही महिना पहिले राजधानीको एक होटलमा अनौपचारिक भेटवार्ता भएको थियो । त्यसयता उनीहरूले औपचारिक भेटवार्ता भने गरेका छैनन् । ओली र नेपाल–खनाल समुहबीच सम्बन्ध चिसिएको झन्डै सात महिना बितेको छ । यी दुवै समुहको चिसिएको सम्बन्ध न्यानो पार्न वा पुनर्मिलन गराउँन यतिबेला एमाले दोस्रो वरियताका नेताहरू पुनः सक्रिय भएका छन् ।

यसअघि एकताका लागि ओली समूहको तर्फबाट सुवास नेम्वाङ र नेपाल–खनाल समूहबाट घनश्याम भुसालसहित केही नेताले राजधानीका विभिन्न होटल चहारेका छन् । यद्यपि उनीहरूले चहारेका होटलबाट एकताको सन्देश सकारात्मक भएको बताए पनि परिणाम भने निस्किन सकेको छैन । तर, एकताका लागि भन्दै उनीहरूले होटलमै पुगेर अनौपचारिक भेटवार्ता र छलफल गर्न छुटाएका छैनन् ।

उनीहरूबीको भेटवार्ता र छलफलकै क्रममा प्रधानमन्त्री ओलीले गत जेठ २३ गते नेपाल–खनाल समूहसँग एकताका लागि ६ बुँदै प्रस्ताव आह्वान गरे । ओलीको उक्त प्रस्ताव आह्वानलाई सो समूहले अस्वीकार गरेको थियो । त्यसपछि दुवै समूहबीच झन् विवाद बढ्दै गयो र एकआपसमा नेताहरूले चर्को आलोचना गरे । ओलीले सरकारी तथा पार्टीगत कार्यक्रममा नेपाल–खनाल समूहलाई आक्रामक शैलीमा अशोभनीय अभिव्यक्ति दिँदै आएका छन् । तर, उनको अशोभनीय अभिव्यक्तिप्रति नेपाल–खनाल समुहले भने कुनै आपत्ति जनाएको देखिदैन ।

गहिरिएको विवाद र अशोभनीय अभिव्यक्तिको बीचबाट ओलीले नेपाल–खनाल समूहलाई एकताका लागि पुनः आह्वान गरेका छन् । हिजो (बुधबार) बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीलाई २०७६ जेठ २ मा फर्काउने निर्णय गरेको छ । ओली समूहको यो निर्णयसँगै आज (बिहीबार) नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक बसेको छ । उक्त समूहको सो बैठकमा ओलीले गरेको यो निर्णय पनि मान्य नहुने बताएको छ ।

त्यस्तै ओलीले असार १८ गते बोलाएको बैठकमा पनि नजाने अडान राखेको छ । तर, दुवै समूहका दोस्रो वरियताका नेताहरूले भने १८ गतेको बैठक केही दिनका लागि पछाडि सार्नुपर्ने माग गरेका छन् । बिहीबार ललितपुरको एक होटलमा छलफल गर्दै उनीहरूले यस्तो माग गरेका हुन् । छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली समूहको तर्फबाट नेताहरू विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी थिए । वरिष्ठ नेता नेपाल–खनाल समूहबाट घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे सहभागी रहेको स्रोतले जनाएको छ ।

उनीहरूबीच भएको छलफलका क्रममा नेपाल–खनाल समूहलाई सहभागी गराउन ओली समूहका नेताहरू सक्रिय भएका छन् । यद्यपि ती नेताहरूले उक्त सक्रियता बढाए पनि ओलीले बोलाएको असार १८ गतेको बैठकमा सहभागी नहुने नेपाल खनाल समूहले निर्णय गरेको छ ।