• मंसिर १७ २०८१, सोमबार

काठमाडौंको कर्णाली अर्थात् भट्टेडाँडासम्मको हाम्रो यात्रा (शब्दचित्रमा)

असार १७ २०७८, बिहीबार

काठमाडौं । झट्ट सुन्दा काठमाडौं उपत्यका भित्रका सबैठाउँमा विकास भएको होला वा यहाँका कुनैपनि ठाउँ दुर्गम वा अविकसित होलान् भनेर कसैले सोच्दैन । केन्द्रिय सरकारको राजधानी हुनु त्यसको कारण हो । काठमाडौंमा २५० वर्षभन्दा अघिदेखि राजा महाराजा, साधुसन्त, महन्त र पछिल्लो चरणमा प्रधानमन्त्री, मन्त्री, सरकारी उच्चअधिकारी, सुरक्षा निकायका प्रमुखहरु, न्यायाधीश, व्यापारी, दलालहरु र सामान्य नागरिक समेत बस्दै आएका छन् ।

त्यसकारण यहाँ सबै कुराको सुविधा हुन्छ भन्ने सोचाई धेरैको मनमा रहेको छ । जसलाई अन्यथा मान्न सकिन्न । किन की जहाँ ठूलाठालूहरु बस्छन् त्यहीँ नै सुविधा थुपार्ने र दूरदराजका बस्तीभने विकासको पहुँचबाट टाढा रहँदै आएका छन् । ठूलाहरुले आफू बस्ने ठाउँमा नै सेवासुविधा थुपारेका कारण यस्तो भएको हो । तर सुविधा सम्पन्न भनिएको काठमाडौं वरिपरीका बासिन्दापनि अविकसित र अविकासको अवस्थामा छन् भन्ने सुन्दा जो कोहीलाई पनि विश्वास नलाग्न सक्छ । तर यो कुरा सत्य हो । उपत्यकाभित्र काठमाडौं र भक्तपुरसित जोडिएको ललितपुर जिल्लाको कम्तिमा आधाभन्दा पनि बढी भूगोल पश्चिमको कार्णाली जत्तिकै विकट र अविकसित छ भनेर धेरैलाई विश्वास नलाग्न सक्छ ।

उपत्यका भित्र रहेको लतिपुरको दक्षिणतिरको साविकका १९ वडा गाविसहरु निकै विकट र अविकसित अवस्थामा छन् । त्यहाँ भर्खर बाटो खुल्दै गरेको अवस्था छ । बत्ति र खानेपानी पनि भर्खर पुग्दैछ । आज त ती ठाउँहरुको अवस्था त्यस्तो छ भने हिजो राणा, राजाहरुको पालामा कस्तो अवस्था थियो होला ? सहजै अनुमान गर्न सकिन्छ । किन की उनीहरुले आफ्ना लागि त सिंहदरवारहरु बनाए तर जनताका लागिभने हिंड्ने बाटो पनि बनाएनन् । आफू महलमा बसे तर जनतालाई खरका झुपडीभन्दा माथिल्लो स्तरमा जीवन जीउन दिएनन् । प्रजातन्त्र आएपछिका संरचनामा ढालिएका ललितपुरका हिजोका १९ वटा गाविसलाई आजको संघीय संरचनामा ढालेर ३ वटा गाउँपालिका बनाइएको छ । जसमध्ये बागमती गाउँपालिकाको भूगोलहुँदै हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ गएको छ ।

यो लोकपथ र यस वरपरका बस्तीहरु निकै विकट अवस्थामा रहेका छन् । ती गाउँहरु रोल्पा र कालिकोट जस्तै लाग्छन् र त्यहाँका जनता पनि अविकसित जीवन बिताइरहेका छन् । त्यहाँ मोटर बाटो भर्खर पुग्दैछ । खानेपानीको सुविधा पनि सबैलाई पुगेको छैन । विजुली बत्तिपनि सबैले बालेको आभाष भएन । बत्तिका लागि कतैकतै मात्र पोल गाडिएका थिए भने ती पोलमा तारहरु राखेको सबैमा देखिएन । केही दिनअघि मात्रै हाम्रो पत्रकारको समूह त्यहाँको यात्रामा जाँदा देखेको कुरालाई यहाँ शब्दमा व्यक्त गर्न खोजिएको हो । विद्यालय, स्वास्थ्य चौकी तथा अन्य सरकारी कार्यालयका भवनहरु भर्खर बन्दै गरेको अवस्थामा देखिए ।

काठमाडौंबाट ललितपुरको भट्टेडाँडासम्मको हाम्रो यात्राको क्रममा जे देखियो त्यही कुरालाई पाठक सामु पस्कन खोजेका हौं । मंगलबार पत्रकार सुसान्त न्यौपाने र यो पंक्तिकार सो यात्रामा निस्कँदा रातभर पानी परेर दिन विस्तारै खुलेको अवस्था थियो । ललिपुरको सातदोबाटोबाट दक्षिणतिर मोटरसाइकलमा हुँइकिएका हामी सोही दिन नै काठमाडौं फर्किनु पर्ने थियो । ललिपुरको प्याङगाउँमा रहेको बसपार्कदेखि हिलोमा मोटर साइकल चलाउन बाध्य भएका हामी भट्टेडाँडा पुग्दासम्म नै यात्रा जोखिम नै रह्यो । फर्कंदा पनि अवस्था त्यस्तै हुने नै भयो । आउजाउ समेत झण्डै ४ घण्टाको समय लागेको यो यात्राको विवरण शब्द र चित्रमा उतार्ने प्रयास गरिनेछ ।

काठमाडौंलाई तराईसित छिटो जोड्ने उद्धेश्यले ६४ वर्ष अघि निर्माण कार्य थालिएको यो राजमार्ग धेरै ठाउँमा भत्किएको छ । यो सडकको लम्बाई ९० किलोमिटर रहेको छ । यो सडक काठमाडौं जोड्ने नारायणगढ–मुग्लिन सडक भन्दा झण्डै आधा दूरीको फरक रहेको छ । मानिसलाई लाग्न सक्छ र धेरै मानिसले भन्ने पनि गर्छन् की ‘नेपालमा विकास असारमा हुन्छ, त्यसकारण बनाइएका संरचनाहरु कमजोर हुन्छन् र छिटो भत्कन्छन्, फलस्वरुप जनधनको क्षति हुन्छ । यो भनाई वा बुझाई धेरै हदसम्म सत्य ठहरिन्छ जब असारको महिना आउँछ । किन की प्रायजसो असारमै बाटो खन्ने, बाटो पक्की गर्ने, तथा अन्य संरचना बनाउने काम तीब्ररुपमा गरिन्छ ।

पानी परिसकेपछि जब माटो कमलो भइरहेको हुन्छ तब संरचना बनाउने काम गर्दा कमजोर माटोमा बन्छ र बिग्रिन वा भत्किन थाल्छ । पानीले गलेको जमीनमा पिच गर्दा भत्किने नै भयो । गलेको जमीनमा गाह्रो लगाउँदा भत्कने नै भयो । फेरि धेरै नै मेहनत र स्रोत लगाएर परेको ठेक्का र पाएको काम असार मसान्तसम्म काम सकेर बील पेस गरेपछि मात्रै सरकारले रकम भुक्तानी गरिदिने भएको कारण पनि असारभित्रै जसरी पनि निर्माणका काम सक्नुपर्ने बाध्यता रहेको छ । यसरी बाध्यताका बीचबाट काम गर्नु पर्ने अवस्थामा सडक भासिनु, भत्किनु स्वभाविकै हो । हिँउदैमा वा पानी नपरेको अवस्थामा निर्माणका काम गर्दा काम बलियो हुने भएकोले छिटै काम गर्नुपर्ने हुन्छ । तर असारमा मात्रै भुक्तानी पाइने चलन भएका कारण ठेकेदार कम्पनीहरुले काम पनि असारमै गर्ने गरेको पाइन्छ । यसैबीच मंगलबार कान्तिलोपथ (हेटौंडा–काठमाडौं)को लतिलपुरको भट्टेडाँडासम्को यात्रामा हामी निस्किएका थियौं ।

जानकारीमा आए अनुसार यो सडक अघिल्लो वर्ष ८० प्रतिशत काम सम्पन्न भएको हो । हेटौंडाबाट काठमाडौं जोड्ने यो द्रुतमार्ग जम्मा ७९ किलोमिटर रहेको छ । यो मध्ये ५५ किमी भाग पक्की गरिसकिएको समाचार त्यतिबेलै प्रकाशमा आएको थियो । यो सडकको ३९ किलोमिटर मकवानपुर र १६ किलोमिटर भाग ललितपुरतिर पर्दछ । यो मध्ये ३० किमी भाग अघिल्लै वर्ष पक्की भइसकेको हो । तर विकट भूगोल, पहिरोको अत्यधिक जोखिमका कारण सडक धेरै ठाउँमा भत्किएको छ ।

भत्किएका ठाउँमा मर्मत पनि भइरहेको छ तर पानीले भिजेको कमजोर जमिनमा काम भइरहेको छ । पहिरोले सकडलाई तलबाट तानिरहेको छ भने माथीबाट पुरिरहेको छ । यात्राका क्रममा अहिले नै खसेर च्याप्लान् झैं गरी भित्तामा अडिएका ढुंगा देख्दा जो कोहीलाई पनि डर लाग्छ भने तलतिर हेर्दा आँखा घुमाउने छाँगो देखिन्छ । माथीबाट ढुंगा खसेर लाग्ला भनेर हामी छिटोछिटो ती ढुंगाका भञ्ज्याङहरु डराईडराई पार गर्यौं । बाटोको बीचबीचमा कामदारहरु काम गरिरहेका देखिन्थे । जाली भर्ने, ढुंगा ओसार्ने, भर्ने र गाह्रो लगाउने जस्ता जोखिमपूर्ण कामहरु उनीहरु गरिरहेका थिए । उनीहरुको काम देख्दा मलाई जनवादी कलाकार खुशिराम पाख्रिनको

‘के पायो र कुल्ली दाईले
के पायो र कुल्ली भाईले
अर्कैले ट्याक्सी गुडायो’

भन्ने गीतको याद आयो ।
कुरा घुमिफिरी विकासको काम गर्ने समयकै आउँछ । हिँउदभरी बस्ने अनि वर्षा लागेपछि विकास निर्माणको काम गर्ने के बाध्यता हो ? यहाँ मात्रै होइन, देशैभर हालत यस्तै छ । बेमौसममा काम गर्ने अनि काम कच्चो भएर बर्बाद हुने र बजेटको सत्यानास पार्ने, ठेकेदार मोटाउने तर जनताले सास्ती मात्रै पाउने भनेर जनताले गुनासो वर्षौंदेखि गरिरहेकै छन् तर सुनुवाई भएको छैन । राज्य भने यतातिर खासै ध्यान दिइरहेको देखिँदैन ।

काठमाडौंको कर्णालीलाई सकस :

गोदावरीबाट दक्षिणतिरको भयंकर पहाड छिचोलेर बनाइएको कान्ति राजमार्गमा भत्किएको सडक र रातभर पानी परेका कारण हिलाम्य भएका कारण ६÷७ ठाउँमा पल्टिँदै र कतै ओर्लिंदै, कतै पैदल हिँड्दै हामी त्यो उकालो छिचोलेर तिनपाने पुग्यौं । तिनपाने काठमाडौं छिर्ने नाका रहेछ । सानो बजार रहेकोले रमाइलो देखियो । हामी हिलोले लछप्पै भएर त्यहाँ पुगेका थियौं । नाका पार गरेर ओरालो लागेका मात्रै के थियौं, देखिए दक्षिणतिरका कालाकाला पहाड र अनकन्टार जंगलका बीचमा भित्तामा रहेका बस्तीहरु । पश्चिममा रुकुम र रोल्पा जस्ता लाग्ने ती बस्तीहरु कुहिरोले घरी छोपिने, घरी देखिने गर्थे ।

 

क्षितिज पारी पारी आकास र धर्तीको बीचमा गजधम्म बसेजस्ता लाग्ने ती बस्तीहरु देख्दा उहिले जनयुद्धमा लामवद्ध हुँदाको स्मरण गरायो । टाढाबाट बादलमुनी मलिनमलिन देखिने ती बस्तीहरुमा सडकका लागि खनिएका ट्रयाकहरु धगोका धर्साजस्तै देखिन्थे र लाग्थे आशाका किरण जस्तै । भेटिएका स्थानीयसितका कुराकानीमा ती बस्तीरुमा विजुलीको लाइन गएका थिएनन् । कुराकानीका क्रममा भट्टेडाँडा गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले सडक, बत्ति र खानेपानी जस्ता अति आवश्यक क्षेत्रमा बजेट विनियोजन गरिएको बताए ।

उनका कुरा त निकै मिठा लागे तर ती पहाड, खोंच, अनकन्टार जंगलका बीचमा रहेका बस्तीहरु उनको बनाएका योजना कहिले लागू भइ जनताले सुखको सास फेर्न पाउलान् र खै ? विश्वासै नलाग्ने कुरा जस्ता । एउटा गाउँबाट अर्को गाउँमा जान नै पुरा एक दिन लाग्ने ती ठाउँहरुमा बाटो पक्की हुने, घरघर पानीका धारा र बालबालिकाका लागि गाउँमै विद्यालय भए त कति राम्रो हुन्थ्यो होला । कल्पनाको संसारमा रमाइरहेको जस्तो लागेपनि जनताको सुख ल्याउने चाहना राखेका ती प्रमुखको सपना पूरा हवस् ।

पक्की भित्रको कच्ची बाटोको यात्राका कारण थाकेर लखतरान भएका हामी दुई काठमाडौं फर्कने सुरमा थियौं । उचाल्ने, पछार्ने र झ्याँक्ने बानी परेको मोटरसाइकलको यात्रामा भएको हाम्रो फिर्ती सवारी पनि कम दर्दनाक थिएन । उही बाटो, उकालो, भञ्ज्याङ आदि काटेर फर्कियौं उही दुषित काठमाडौं । तिनपाने भञ्ज्याङमा आएर खाजा खायौं । जनजाति समुदायको बस्ती रहेको सो भञ्ज्याङमा तामाङ्नी दिदीले बनाएको चाउमिनले मन लोभ्यायो । हातै मिठो होकी हामी भोकले मरुँला झैं भएको बेला भएर हो थाहा भएन तर त्यो चाउमिन काठमाडौंको भन्दा भिन्दै स्वादको र परिमाणमा पनि धेरै नै थियो । काठमाडौंका व्यवसायीका भन्दा ठूलो हात भएकी रहिछिन् ती तामाङनी दिदी ।

मिठो पनि अचाक्ली नै थियो । सुकुटीको मात्रा पनि काठमाडौंको भन्दा धेरै थियो । हामी पत्रकार भएको थाहा पाएपछि केही नयाँ कुरा गर्छन् की भनेर होला मुखतिर हेरिरहन्थिन् दिदी । त्यसपछि हामी माथी डाँडामा रहेको हवाई सुरक्षा टावर हेर्न माथीतिर उकालियौं । मोटरसाइकलमा झण्डै २० मिनेट गुडेपछि डाँडामा पुगियो । त्यो साँच्चिकै चारैतिरको दृश्यावलोकन गर्न मिल्ने (भ्यू टावर) स्थान रहेछ । तर वर्षातको मौसम भएका कारण त्यतिबेला टाढाको दृश्य भने देख्न सकिएन । तर अचम्म आजभोली पनि काफल पाकेका रहेछन् । एकपछिन त रमाइलो मानेर खाइयो । विमानस्थलको राडार सुरक्षार्थ खटेका नेपाली सेनाका कमाण्डर र सदस्यसित हामी झण्डै २० मिनेट जति गफियौं ।

त्यहाँको सामान्य जानकारी पनि पायौं । भर्खर सरुवा भएर आएका सेनाका पौडेल थरका कमाण्डर मजामा मान्छे रहेछन् । रामेछाप स्थायी घर भएका उनी पछि सर्लाही बसाइ सरेका रहेछन् । एकजना हाम्रै तुलसीपुरका जवान पनि रहेछन् । उनी पनि मिजासका रहेछन् । रमाइलो गफगाफ पछि हामी दूई ओरालो लाग्यौं । सुर्खेतका मेरा एकजना दाजूपनि अघिल्लो वर्षसम्म त्यहीँ नै डुयूटीमा भएका कारण ती सेनाका कमाण्डरसित बोल्न सहज भयो । केही समयको बसाइपछि उही पक्की बनेर पनि कच्ची भएको बाटोमा रहेका खाल्डाखुल्डीमा उचालिने र पछारिने गरी मोटरसाइकलको यात्रा गर्दै हामी काठमाडौं फर्कियौं ।

काठमाडौंको नजिकै रहेको भट्टेडाँडा पुगेर फेरि काठमाडौं नै फर्किन पनि पूरा एकदिन लागेकोमा हामी भने चकित थियौं । मलाई त लाग्थ्यो, हामी कतै रुकुम, रोल्पाका पहाडतिर पो गइरहेका छौं की । यो यात्रा अनुवभबाट लाग्यो, भौतिक विकासको सुविधा सत्तामा भएकाहरुको चाहनाको कुरा रहेछ । जनतालाई अन्धकारमा राखेर शासकहरुले मनपरी गरिरहाँदासम्म यो देशमा विकास हुँदैन । लोकतन्त्र आएपछि मात्रै त्यहाँ बाटोघाटोको सुविधा विस्तार भएको पाइयो । किनकी प्रजातन्त्र आएपछिका प्रतिनिधिहरु गाउँमै बस्ने भएका कारण बाटो र खानेपानीको सुविधा विस्तार भएको अनुभव भयो । आगामी दिनमा जनता नै यस्ता काममा सहभागी नहुने हो भने काठमाडौंको कर्णालीको हालत उस्तै रहनेछ । विकास हुने भए हिजो राणा र राजाका पालामा किन नभएको त ?

विकास गर्न राजाहरुलाई कस्ले रोकेको थियो ? उनीहरुले त्यहाँ विकास गरेनन्, किनकी त्यहाँ विकास गरेर उनीहरुलाई फाइदा थिएन । जहाँ बाटो खन्दा शासकलाई फाइदा हुन्छ त्यतै खने । जहाँ शहर बसाल्दा उनीहरुलाई राजश्व उठ्छ त्यही बसाले । तर भन्न चाहीँ जनताको लागि भने र प्रचार गरे । राजा र सामन्तहरुले जनताको सुविधा र फाइदाको लागि विकास गर्ने कुरै थिएन । त्यसकारण अबको विकासको प्राथमिकता शहरमा भन्दा गाउँमा बढाउनु पर्छ । त्यसका लागि नियतिमरुपमा हुने सामान्य विकासलाई धक्का दिएर द्रुतगतिमा विकास गर्नका लागि जनता नै तात्नु पर्ने बेला फेरि आएको छ । त्यसका लागि हालको व्यवस्थामा परिवर्तन ल्याउन पर्छ भनेपनि त्यसका लागि पनि जनता तयार हुनुपर्छ । किनकी विश्वमा हाल देखिएको विकासको गतिलाई नेपालले समात्न र अघि बढाउन सकेको छैन । त्यसका लागि नेपालका हालका नेता तयार छन् जस्तो पनि लाग्दैन । जनताले नै नेताका दिमागमा धक्का दिएपछि मात्रै नेपालमा विकासको गति बढ्न सक्छ नत्र नेताको दिमागमा त खाली कमाउने र जमाउने मात्रै देखिन्छ ।

माओवादी इतिहाससित जोडिएको भट्टेडाँडा :

हामी यात्राको अन्तिम गन्तब्य रहेको भट्टेडाँडामा रहेको प्रहरी चौकी २०५४ सालमा माओवादीले कब्जा गरेको थियो । सो स्थानमा हाल सरकारी संरचनाहरु बनाइएकोले त्यतिबेलाको चिनो भने केही छैन । भूगोलको विकटता, जनजाति बाहुल्यता, जनताको चेतनास्तर हेर्दा सो स्थानमा आक्रमण गर्न माओवादी छापामारलाई सहज भएको अनुमान गर्न सकिन्छ ।

जनयुद्ध सुरु भएको २ वर्षमै काठमाडौंको नजिकमा रहेको प्रहरी चौकी सफल आक्रमण गर्दा राजधानीमा बस्ने शासकहरुलाई निकै तनाव भएको भनाइ पनि रहेको छ । राजधानीको नाकैमुनि रहेको भट्टेडाँडा माओवादी जनयुद्धसित पनि जोडिएका कारणले यो ठाउँलाई जसरी परिचत भएको छ, त्यसरी नै यो ठाउँको विकासका लागि पनि त्यहाँका जनप्रतिनिधि र स्थानीय जनता नै जागरुक हुनुपर्ने देखिन्छ ।
भट्टेडाँडाबाट फर्केपछि।