• मंसिर १५ २०८१, शनिबार

रत्नपार्कका भित्ते चित्र मेट्नु ‘फ्रन्टलाइनर’को अपमान : कांग्रेस

असार १७ २०७८, बिहीबार

काठमाडौँ। काठमाडौंको रत्नपार्कस्थित आकाशेपुलको भित्तामा फ्रन्टलाइनरको सम्मानमा कलाकारले बनाएको चित्र हटाएकोमा नेपाली कांग्रेसले विरोध जनाएको छ । विपक्षी दल काँग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्धको लडाईमा अग्रमोर्चामा रहेर काम गरेका फ्रन्टलाइनरको सम्मानमा कलाकारले बनाएको चित्र महानगरले हटाएपछि विरोध जनाएको हो ।

‘स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरुको सामुहिक चित्र दुई साता अघि काठमाडौंको एक पर्खालमा निर्माण गरिएको थियो। युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको चित्रलाई एकाएक नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै उनले काठमाडौंको अनेक स्थानमा थुप्रिएका फोहोरले सहरको सौन्दर्यमा असर गरेको पनि उल्लेख गरेका छन् । तर उक्त चित्रले  असर सौन्दर्य नगरेको शर्माको भनाइ छ ।