काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी कांग्रेसको भएको बताएका छन् ।
गिरिजाबाबुको ९८ औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन कर्णाली प्रदेशले आज आयोजना गरेको ‘लोकतन्त्रको सङ्घर्ष र गिरिजाबाबुको योगदान’ विषयक भर्चुअल अन्तरक्रियामा उनले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षाको जिम्मेवारी पनि पार्टीको भएको बताएका हुन् ।
‘गिरिजाबाबुलाई अन्तिम अवस्थामा पनि संविधानको चिन्ता थियो, सुशील कोइरालाको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको हो’, उनले भने । केन्द्रीय सदस्य जीवनबहादुर शाहीले गिरिजाबाबुले शान्ति स्थापना र संविधान बनाउन खेलेको भूमिका प्रशंशनीय रहेको बताए । कर्णाली प्रदेशका उर्जामन्त्री दिनबन्धु श्रेष्ठले कर्णाली राजमार्गको शिलान्यास गिरिजाबाबुको पालामा भएको भन्दै उनी कर्णालीवासीको अभिभावक भएको उल्लेख गरे ।