काठमाडौं । नेकपा (एमाले)को दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरिएको छ । आज बसेको बैठकले उक्त आयोजक कमिटी भंग गरि केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरिएको एमाले पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
पार्टी एकता र सर्वोच्च अदालतको केन्द्रीय कमिटी ब्युँताउने फैसलालाई ध्यानमा राख्दै आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गरिएको छ । अब उप्रान्त पार्टीका हरेक कामकारबाहीहरू सोही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन गरिने भएको छ । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरूलाई समेत स्थायी कमिटीमा लैजाने निर्णय गरिएको छ ।
उक्त बैठकले नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटीमा लैजाने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताए । त्यस्तै केन्द्रीय कमिटीको आगामी बैठक यहि असार १८ गते बस्ने भएको छ । गत बैशाख १२ र जेठ २३ गते बसेको स्थायी कमिटी बैठकले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खानल (नेपाल–खनाल) समूहका नेता तथा कार्यकर्तालाई गरेको कारबाही फुकुवा गर्ने निर्णय गरिएको छ ।
यद्यपि एमाले पुरानै संरचनामा फर्काए पश्चात् नेपाल–खनाल समूहका नेताहरूले संसद् पुनःस्थापना हुनसक्ने सम्भावित आकलन गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ मा फर्काएको आरोप लगाएका छन् । दोस्रो पटक अर्थात् जेठ ८ गते विघटन गरेको संसद् अदालतबाट पुनःस्थापना भएमा नेपाली काँग्रेस पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हुनबाट रोक्ने आधार खडा गर्न खोजेको उनीहरूको आरोप छ । दोस्रो पटक विघटित संसद् पुनःस्थापना भए सभापति देउवालाई समर्थन गरेका एमाले नेपाल–खनाल समूहका २३ सांसदमध्ये कम्तीमा ११ जना सांसद ओलीले आफ्नो समूहमा भित्र्याउन सके देउवाको प्रधानमन्त्री बन्ने यात्रामा विराम लाग्ने छ ।
नेपाल–खनाल समूहनिकट नेतृ अष्टलक्षी शाक्यले ओलीको यो मनमौजी निर्णयले एकता हुनसक्ने सम्भावना न्यून रहेको बताएकी छिन् । कम्तीमा पार्टीलाई जेठ २ मा फर्काउनुपूर्व नेता नेपाल–खनालसँग औपचारिक छलफल तथा भेटवार्ता गर्नुपथ्र्यो । कोही कसैसँग छलफल नै नगरी एकाएक यस्तो निर्णय गर्नुमा ओलीले आफ्नो समूहलाई फुटाउन खोजेको नेतृ शाक्यको आरोप छ ।
त्यस्तै नेपाल–खनाल समूहनिकट अर्का नेता भीम रावलका अनुसार, ‘ओलीले एमाले पार्टीलाई एकता गर्न चाहेको भए कम्तीमा दुवै समूहका शीर्ष नेताहरूसँग छलफल गरेर यो निर्णयमा पुग्नुपथ्र्यो । एमाले एकता कार्यदलको अनौपचारिक वा औपचारिक छलफलका माध्यमबाट सहमतिमा पुग्न सकिन्थ्यो । कार्यदलले औपचारिक सहमति गरे पश्चात् अध्यक्ष ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमको तर्फबाट एकताका बुँदा औपचारिक रूपमा सार्वजनिक गरिन्थ्यो ।’
आज (बुधबार) बसेको स्थायी समिति बैठकले एमाले २०७५ जेठ २ मा फर्काउने निर्णय गरेको छ । तथापि एमाले नवौँ महाधिवेशनबाट निर्वाचित २ सय ३ सदस्यीय केन्द्रीय सदस्य कमिटी छ । तर, ओलीले २ सय ४१ सदस्यीय केन्द्रीय समिति रहने बताएका छन् । ओलीको यो निर्णयप्रति नेपाल–खनाल समूह भने सहमत हुने सम्भावना देखिएको छैन । सो समूहले २ सय ३ सदस्यीय केन्द्रीय कमिटी मान्य हुने र २ सय ४१ सदस्यीय केन्द्रीय कमिटी मान्य नहुने बताउँछ । यो निर्णय २०७५ जेठ ३ नै भएकोले यसमा सहमति हुन नसकिने नेपाल–खनाल समूहको अडान छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको नेतृत्वमा आज (बुधबार) बसेको स्थायी कमिटी बैठकले गरेको यो निर्णय फेरबदल नहुने बताएको छ । यसका साथै यो निर्णयले एमालेको पुनर्मिलन हुने सम्भावना नजिकिएको ओली समूहले दाबी गरेको छ । तर, नेपाल–खनाल समुह ओली समूहको यो निर्णयप्रति सहमत हुन नसक्ने बताउँछ । ओलीको मनमौजी निर्णय र माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरू समेटेर विस्तार गरिएको स्थायी कमिटी आफूहरूका लागि मान्य नहुने नेपाल–खनाल समुहको अडान छ ।