काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट विरोधीसँगको साठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताएका छन् ।
प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको आयोजक कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई गलत ढंगले कब्जा गर्ने र विरोधीसँगको साठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताएका हुन् ।
उनले बिकासको काममा जुटेको प्रधानमन्त्रीको राजीनामा माग गरेपछि मुलुक अस्थिरतातर्फ जाने अवस्था पैदा भएको जिकिर गरे । ओलीले पार्टीभित्रको एकतालाई जोगाउन अधिकतम लचकता अपनाएपनि अर्को पक्षले त्यसलाई आफू अनुकुल प्रयोग मात्र गरेको तर्क गरे ।
एमाले राष्ट्र हाक्ने जिम्मेवारी बोकेको पार्टी भएकाले पार्टी भित्रको समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिएको उनले बताए । प्रधानमन्त्री ओलीले एमाले नेतृत्वको सरकारले अभूतपूर्व ढंगले बिकास निर्माणका साथै शान्ति सुरक्षा तथा जनताका लागि काम गरेको तर गलत प्रचार हुँदा जनतामा निराशा छाउनु स्वभाविक भएको धारणा राखे ।
त्यस्तै, उनले मुलुकमा भ्रष्टचार नियन्त्रण गरेर देखाएको र अन्य मुलुकसँगको सम्बन्ध सुमधुर बनाएको दाबी गरे ।