काठमाडौं । आसन्न भदौमा सम्पन्न हने १४ औं महाधिवेशनका लागि नेपाली काँग्रेसका शीर्ष नेताहरूको नयाँ नेतृत्व अर्थात् सभापति पदका लागि हानथाप सुरु भएको छ ।
काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले भदौमा हुने महाधिवृेशनमा पुनः सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । असार ५ गते सभापति देउवाले प्रदेश स्तरीय अगुवा नेताहरूसँगको छलफल र भेटको क्रममा सभापतिका लागि आफूले पुनः उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
देउवाले पुनः सभापतिको उम्मेदवारी घोषणा गरेसँगै काँग्रेसभित्र हलचल मच्चिएको छ । पार्टी र पार्टीका राजनीतिक एवम् वैचारिक संघ, संगठन जसरी चलाउनुपथ्र्यो, त्यसरी नचलाएको भन्दै पार्टीभित्रै देउवाको चर्को आलोचना हुँदै आएको छ । कतिपय नेताले यसपटकको महाधिवेशनमा उनले सभापतिको उम्मेदवारी नदिएको भए हुन्थ्यो भन्ने पनि सोचेका थिए । तर, उनीहरूको सोचाइ विपरीत देउवाले पुनः सभापतिका लागि उम्मेदवारी बन्ने घोषणा गरेरै ठाडे ।
सभापति देउवाको उक्त घोषणा पश्चात् देउवालाई नै काउन्टर दिँदै काँग्रेस शीर्ष नेता एवम् संस्थापन पक्षका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सभापति पदका लागि हानथाप गर्न थालेको स्रोत बताउँछ । यद्यपि अर्का आकांक्षी तथा काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने हालसम्म मुख खोलेका छैनन् । तर, पार्टीभित्र र बाह्य राजनीतिक वृत्तमा सिटौला पनि सभापति पदका लागि यसपटकको महाधिवेशनको बलिया उम्मेदवार हुन् भन्ने चर्चा कायमै छ । तथापि उनले आजसम्म आफ्नो कुनै पनि औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।
यसभन्दा पहिले काँग्रेसको १३ औं महाधिवेशनमा सिटौला प्रतिस्पर्धी थिए । तर, उनले पराजय भोग्नु परेको थियो । उनी १३ औं महाधिवेशनका प्रतिस्पर्धी भएकाले यसपटक फेरि उठ्ने वा अन्य कोहीँ नेतालाई सहयोग गर्ने भन्ने बारेमा प्रष्ट धारणा राखेका छैनन् । तर, आफूनिकट नेताहरूसँग सिटौला छलफल तथा परामर्शमै रहेको एक नेताले बताए ।
१४ औ महाधिवेशनको समय नजिकिदै गर्दा काँग्रेसका वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री सिंह र नेता शेखर कोइराला नयाँ नेतृत्व चयनका लागि एकआपसमा भेटवार्ता, छलफल तथा परामर्श गर्दै आएका छन् । किनकि यसपटकको महाधिवेशनमा प्रतिस्पर्धीहरूको भारी प्रतिस्पर्धा हुने सम्भावना छ । सभापतिको आकांक्षी तत्काललाई यी केही नेता देखिए पनि अन्ततः अत्याधिक हुने सम्भावना कायमै छ ।
त्यस्तै तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले हिजो (सोमबार) पौडेल र सिटौलालाई आफ्नै निवासमा बोलाएर संस्थापन पक्षको सभापतिको उम्मेदवार एउटै हुनुपर्ने बताएकी छिन् । ‘संस्थापन पक्षका धेरै उम्मेदवारले प्रतिस्पर्धा गरेको खण्डमा पराजय हुने सम्भावना हुन्छ । यसर्थ सकभर एउटै उम्मेदवारी बनेको खण्डमा देउवालाई सहजै पराजित गर्न सकिन्छ,’ –सुजाताले भनिन् । उनीले यस्तो बताए पनि संस्थापन पक्षका उम्मेदवार पाँच जनाभन्दा बढी हुने सम्भावना रहेको संस्थापन पक्षकै नेताहरूले बताउँदै आएका छन् ।
सोमबार साँझ शेखर कोइरालाले आफूनिकट नेताहरूलाई भेटेर सहयोग र समर्थन गर्न आग्रह गरेका छन् । त्यस्तै अर्का पूर्वमहामन्त्री सिंहले पनि वरिष्ठ नेता पौडेललाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । यतिबेला काँग्रेस नेता तथा सभापतिका आकांक्षीले एकआपसमा भेटवार्ता, छलफल र परामर्श गर्दै आएका छन् । तथापि एकले अर्कालाई सहयोग समर्थन गर्नसक्ने सम्भवना नरहेको बताइएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक सभापतिका लागि आफूलाई सहयोग र समर्थन गर्न आग्रह गरेका छन् । आफू पार्टीको वरिष्ठ नेता भएको र पार्टी र लोकतन्त्रका लागि विगत लामो समयदेखि लड्दै आएकोले यसपटक सहयोग गर्न संस्थापन निकटका नेताहरूलाई आग्रह गरेका छन् । पौडेलले संस्थापन पक्षका सबै नेताहरू एकढिक्का नभए पुनः देउवा नै सभापति हुनसक्ने सम्भावना भएकाले आफूहरू एक हुनुपर्ने बताएका छन् ।
काँग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व अर्थात् सभापति पदका लागि नेताहरू एकले अर्कोलाई सहयोग गर्न आग्रह गर्दै आएका छन् भने आफूनिकट नेताहरूसँग निरन्तर छलफल तथा परामर्शमा जुटेका छन् । तर, एकआपसमा एकले अर्कोलाई सहयोग गर्न नसक्ने उनीहरू स्वयंले विभिन्न सञ्चारमाध्यम तथा सार्वजिक कार्यक्रममा बताउँदै आएका छन् ।