• मंसिर १५ २०८१, शनिबार

राष्ट्रपति कार्यालयबाट प्रतिनिधिसभाको अधिकार अपहरण भयो : सभामुख सापकोटा

असार १५ २०७८, मंगलवार

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको आरोप लगाएका छन् ।

मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामा बोल्दै सभामुख सापकोटाले संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने बताए ।

अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको उनको भनाइ छ ।

आफूले नागरिकता विधेयकको बारेमा पनि कुरा राखेको तर प्रधानमन्त्री ओलीले ध्यानाकर्षण भएको छ भनेर जवाफ दिएको उनले सुनाए । उनले भने, ‘राज्यका तीन अंगले के गरिरहेका छन् भन्ने जनतालाई जानकारी दिनुपर्छ, छलफल र बहस गर्नुपर्छ ।’

प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा दायर रिटमाथि बहस चलिरहेको चर्चा गर्दै उनले अदालतलाई पनि सही निष्कर्षमा पुग्नका लागि सहज हुनेगरी छलफल गर्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा परिवर्तन भइरहेको समयमै संसद विघटन भएको उनको भनाइ थियो ।