• आश्विन ५ २०८१, शनिबार

पार्टी स्थापनाको शतवार्षिकीको अवसरमा चीनले गर्यो मंगल ग्रहको भिडियो सार्वजनिक

असार १३ २०७८, आईतवार

काठमाडौँ। अरु सबै क्षेत्रमा प्रतिस्पर्धा गरिसकेको संसार अहिले मंगल ग्रहको यात्राको प्रतिस्पर्धामा छ । शक्तिशाली देशहरुले आ–आफ्ना यान तथा रकेटहरु मंगल ग्रहमा पठाएर आफूले संसारमा श्रेष्ठता कायम गरेको छु होडबाजीमा समेत रहेका छन् । देशहरु मात्रै होइन यस प्रतिस्पर्धाको यात्रामा संसारका केही खरबपति मानिसहरु समेत सामेल भएका छन् । देश तथा मानिसहरु प्रत्यक्ष रुपमा आफै पुग्न नसकेपनि आफूद्वारा निर्मित यन्त्रमानव पठाएर मंगल ग्रहको अध्ययन गरिरहेका छन् । यो यात्राको प्रतिस्पर्धा यतिसम्म पुगेको छ कि केही समय पहिले देशहरुले पठाएका यान र रकेटले पृथ्वीमा पठाएका तस्विरहरु सार्वजनिक गर्ने गर्थे तर अहिले ती यानहरुले मंगल ग्रहमा पुगेर पठाएको भनेर भिडियो नै सार्वजनिक गरिरहेका छन् ।

यो मंगल ग्रहको यात्राको प्रतिस्पर्धामा अरु शक्तिशाली देशहरुसँगै हाम्रो उत्तरी छिमेकी देश चीन सगरमाथाको उतापट्टीबाट लागिरहेको छ । चीन यो यात्रामा लागिरहेको मात्रै छैन उसले आफ्नो प्रतिस्पर्धाको यो यात्रामा श्रेष्ठता समेत हासिल गरिरहेको पनि छ । हालै चीनले पठाएको यानले मंगल ग्रहको भिडियो समेत पठाएको छ । चीनको दाबि र उसले सार्वजनिक गरेका केही भिडियो अनुसार चीनको यान मंगल ग्रहमा फेरि पुगेको छ ।

मंगलग्रहमा पुगेर भिडियो पठाएको चीनको यान
मंगलग्रहमा पुगेर भिडियो पठाएको चीनको यान

बीबीसीले बताए अनुसार चीनको अन्तरिक्ष सम्बन्धी अध्ययन गर्ने निकाए ‘द चाइना नेशनल स्पेस एजेन्सी’ (सीएनएसए)का अनुसार जुरोङ्ग ४२ नाम राखिएको चीनको मंगलयानले मंगल सोल्स अर्थात मंगल ग्रहमा २३६ मिटर गुडेर यात्रा गरेको छ । जुरोङ्गको सो यात्रालाई मंगल सोल्स नाम दिइएको छ । जुरोङ्गले ४२ दिनमा मंगल ग्रहको सो दुरी पार गरेको हो । मंगल ग्रहमा उसले २४ घण्टा ३९ मिनेटको एक दिन हुने बताइएको छ ।

चीन मंगल ग्रहमा सफलतापूर्वक अवतरण गर्ने दोस्रो देश हो । जुरोङ्ग रोभरले चीनमा पठाएका तस्विरहरु रोभरले जमिनमा जडान गरेको वायरलेस क्यामराले कैद गरेको बताइको छ । जुरोङ्गले मे महिनामा मङ्गल ग्रहमा गरेको अवतरण उसको प्यारासुट प्रणालीको कार्यान्वयन जमिनमा छोएको क्षण पनि चीनले सार्वजनिक गरेको छ । ६ वटा पांग्रा भएको सो यानले मंगल ग्रहको युटोपिया प्लानिसिया क्षेत्रको अन्वेषण गरिरहेको सीएनएसएले बताएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष

आउने जुलाई १ तारिखमा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एकसय वर्ष पुग्दैछ । सोही कम्युनिष्ट पार्टीले चीनमा अहिले शासन गरिरहेको छ । विगत ७२ वर्षदेखि त्यहाँ कम्युनिष्ट पार्टीले शासन गरेर चीनलाई विकासको चरमचुलीमा पुर्याउँदै मंगल ग्रहसम्मको यात्रामा सफलता हात पारेको छ । रातोग्रह समेत भनिने मंगलग्रह परिक्रमा गरिरहेको सो यानले यो भन्दा पहिले नै तस्विरहरु पृथ्वीमा पठाइसकेको थियो । पार्टी स्थापनाको शतवार्षीकिको अवसरमा चीनले विभिन्न चमत्कारिक काम गर्दै आएको छ । यस अन्तर्गत मंगल ग्रहको यो पाइला सार्वजनिक भएको हो । सीएनएस प्रेस विज्ञप्तिमा भनिएको छ ‘अर्बिटर र मङ्गलमा अवतरण गरेको रोभरबीच राम्रो काम भइरहेको छ । रोभरले मङ्गलबाट मातृभूमिमा सन्देशहरू पठाइरहेको छ, पार्टीको शतवार्षिकी सन्दर्भमा दूरको आशीर्वाद पठाइरहेको छ ।’

यो भन्दा पहिले अमेरिकी वैज्ञानिकहरुको संस्था नासाले गत फेब्रुवरी १८ मा आफ्नो यान मंगल ग्रहमा पुगेको भिडियो सार्वजनिक गरेको थियो ।