काठमाडौं । असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन हुने निर्णय सँगै एयरलाइन्सले जनस्वास्थ्यको मापदण्डको परिपालना गरी उडान सञ्चालन गर्ने गरी टिकट बुकिङ शुरु गरिसकेका छन् ।
आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले सङ्क्रमणरहित उडानका लागि आवश्यक तयारी गर्दै टिकट बुकिङ खुला गरेको हो ।
निषेधाज्ञाका कारण अनौपचारिक रुपमा सीमित सङ्ख्याका कर्मचारीमार्फत सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान खुल्ने भएपछि कार्यालय सञ्चालन तथा यात्रुको सहजताका लागि बुकिङ पनि शुरु गरिएको जनाएका छन् ।
अघिल्लो महामारीपछिको उडानमा हवाई भाडामा भारी छुटका साथ उडान गरेका एयरलाइन्सले पछिल्लो उडानमा हवाई भाडा केही मात्रामा बढ्नसक्ने जनाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको थियो ।
उक्त निर्णयबमोजिम क्यानले एयरलाइन्सलाई उडान कोटा निर्धारण गरेको छ । जसमा बुद्ध एयरले जम्मा ३१ उडान गर्नेछ । कम्पनीले काठमाडौँदेखि विराटनगर गन्तव्यमा दैनिक चार, भद्रपुर तीन, तुम्लिङटार एक, जनकपुर तीन, पोखरा तीन, भैरहवा पाँच, धनगढी दुई र सुर्खेत एक उडान गर्ने तालिका बनाएको छ ।
यस्तै यती एयरलाइन्सले कूल १५ उडान गर्नेछ । यतीले विराटनगर तीन, भद्रपुर दुई, जनकपुर दुई, सिमरा दुई र पोखरा दुई उडान तालिका बनाएको छ । श्री एयरलाइन्सले सात, सौर्य एयरलाइन्सका तीन उडान तालिका छन् ।