• मंसिर १७ २०८१, सोमबार

बेलायतकी महारानी एलिजावेथ र राजतन्त्रबारे केही तथ्य

असार १२ २०७८, शनिबार

इङ्ल्याण्ड, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्स नामका भूगोलहरुको संयुक्त देशको रुपमा संयुक्त अधिराज्य अर्थात् युके रहेको छ । यो देशलाई बेलायत समेत भनेर चिनिन्छ । यहाँ राजतन्त्रात्मक संसदीय राजनैतिक व्यवस्था रहेको छ । संसदले प्रधानमन्त्री छानेर राष्ट्रप्रमुखले नियुक्त गर्ने व्यवस्था यही देशबाट सुरुवात भएको मानिन्छ ।अर्थात याे देशलाई संसदीय व्यवस्थाकाे जननी भनिन्छ ।  याे देशकाे राजतन्त्र संसारमा सबैभन्दा लोकप्रिय मानिँदै आएको छ ।

यतिसम्म भनिन्छ कि बेलायतको राजतन्त्र मात्रै पृथ्वीमा भएका देशहरुमध्ये पहिलो राजतन्त्र थियो र यो नै अन्तिम राजतन्त्र पनि हुनेछ । किनकी यहाँको राजतन्त्र पूर्णरुपमा संवैधानिक रहेको छ ।   विश्वका शक्तिशाली र विकसित देशहरु क्यानाडा र अष्ट्रेलिया समेतले यहाँकै राजतन्त्रलाई मानेर आफ्नो देशमा राष्ट्राध्यक्षको व्यवस्था गरेका छैनन् । यी बाहेक अरु देश तथा भूगोल पनि रहेका छन् जहाँ राष्ट्रपतिको व्यवस्था गरिएको छैन र बेलायतकै राजतन्त्रलाई राष्ट्रको प्रमूख मानेर शासन गरिँदै आएको छ । अहिले बेलायतको राष्ट्राध्यक्षको रुपमा रानी एलिजावेथ द्वितीय रहेकी छिन् । जसलाई बेलायतीहरू महारानी एलिजावेथ भनेर पुकार्ने गर्छन् भने बाँकी संसारले पनि उनलाई महारानी एलिजावेथ नै भनेर चिन्ने गर्छ ।

को हुन् एलिजावेथ द्वितीय ?

अहिले ९५ वर्ष पुगेकी महारानी एलिजावेथको जन्म सन् १९२६ अप्रिल २१ का दिन बेलायतको राजधानी शहर लण्डनमा अवस्थित देशको शाही दरवार वकिङ्गघम प्यालेसमा भएको थियो । उनको खास नाम अथवा पुरा नाम एलिजावेथ अलेकजेन्ड्रा मेरी विण्डसर हो । बेलायको राजकाज सम्हालेपछि उनलाई महारानी एलिजावेथ भन्न लागिएको हो ।  कुनै समयको ब्रिटिस साम्राज्य अहिले अंग्रेजीमा कमन वेल्थ भनिने ५४ देशहरुमध्ये १६ वटा स्वतन्त्र र सार्वभौमिक देशहरूको संवैधानिक प्रमुख रहेकी बेलायतकी महारानी एलिजावेथ द्वितीय, महारानीको रुपमा बेलायतका चर्च अफ इङ्ल्यान्डको सर्वोच्च गभर्नर हुन् ।

उनी जन्मँदा बेलायतमा उनका हजुरबुवा जर्ज पाचौंको शासनकाल चलिरहेको थियो । उनका बुवाको नाम राजा जर्ज छैटौं र आमाको नाम एलिजावेथ बोसें त्यौन हो । उनका बुवा राजकुमार हुँदा एल्बर्ट थिए भने राजा भएपछि उनलाई जर्ज छैटौं भन्न थालिएको हो । उनी राजाकी दोस्री छोरी हुन् । उनले सन् १९५२ फेब्रुवरी ६ का दिन बेलायतको राजगद्धी सम्हालेकी थिइन् भने उनको राज्याभिषेक १९५३ जुन २ मा सम्पन्न भएको थियो । उनका श्रीमान राजकुमार फिलिप थिए ।

राजकुमार फिलिपको ९९ वर्षको उमेरमा सन् २०२१ अप्रिल ९ का दिन मृत्यु भइसकेको छ । एकसय वर्ष पुग्न २ महिना मात्र बाँकी रहँदा राजकुमार फिलिपको निधन भएको थियो । महारानी एलिजावेथ र राजकुमार फिलिप सन् १९४७ नेभेम्बर २० का दिन विवाह बन्धनमा बाँधिएका थिए । महारानी एलिजावेथ र राजकुमार फिलिपका चार सन्तानहरु रहेका छन् । राजकुमार चार्ल्स, राजकुमारी ऐन, राजाकुमार एण्ड र राजकुमार एडवर्ड उनीहरुका सन्तानहरूका नाम हुन् ।

महारानी एलिजावेथबारे ८ रोचक तथ्य

१) एलिजावेथ द्वितीय नामबारे

माथि पनि भनियो कि उनको नाम एलिजावेथ अलेकजाण्ड्रा मेरी विण्डसर हो । विण्डसर उनीहरुको वंश हो । यो वंशका राजपरिवारले अन्तिम नाम नलेख्ने भएकोले उनलाई एलिजावेथ मात्रै भनेर भन्ने गरिन्छ । १६औं सताब्दीको मध्यदेखि १७औं सताब्दीको सुरुको बेलासम्म बेलायतको शासनमा रहेकी महारानीको नाम पनि एलिजावेथ नै भएकोले अहिलेकी महारानीलाई एलिजावेथ द्वितीय भनेर चिनिन्छ ।

२)शासन गर्ने देशहरु

महारानी एलिजावेथ द्वितीय बेलायतको मात्रै नभएर अरु १६ वटा देशकी समेत संवैधानिक प्रमूख (महारानी) हुन् । अष्ट्रेलिया, क्यानाडा, न्यूजिल्याण्ड, पपुवा न्यूगिनी, सेन्ट लुसिया, सेन्ट भिसेन्ट एण्ड द ग्रोनाडिनेस, जमैका, ग्रेनाडा, सेन्ट किट्स एण्ड नेभिस, सोलोमोन टापू, तुभालू, एण्टिगुवा एण्ड बर्मुडा, बेलिज, द बहामास, बारबाडोज र बेलायत उनी राष्ट्रप्रमूख रहेकी छिन् । बेलायत बाहेक अरु देशहरुमा उनका प्रतिनिधीको रुपमा गभर्नर जनरलहरुले राष्ट्रप्रमुखका रुपमा भूमिका निर्वाह गर्दछन् । यसरी यतिधेरै देश तथा भूगोलमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा शासन गर्ने शासक पृथ्वीमा यिनी मात्रै रहेकी छिन् ।

३) लामो शासन समय

महारानीले सन् १९५२ मा शासन सुरु गरेकी थिइन् । उनको शासन कालमा झन्डै दुई दर्जन मुलुकहरुले बेलायको साम्राज्यबाट स्वतन्त्रता पाएका थिए । झन्डै ७० वर्ष लामो (६७ वर्ष) शासन समय बेलायतको इतिहासमा लामो समय रहेको छ । यसअघि उनकी जिजु हजुरआमा महारानी भिक्टोरियाले सन् १८३७ देखि १९०१ सम्म ६४ वर्ष शासन गरेकी थिइन् । महारानी एलिजावेथको शासनसमयमा बेलायतमा विन्स्टर्न चर्चिलदेखि बोरीस जोनसनसम्म आउँदा १४ वटा प्रधानमन्त्री भइसकेका छन् ।

४) महारानीका असिमित अधिकार

महारानी एलिजावेथ द्वितीलाई बेलायतमा मोटर चलाउन सवारी चालक अनुमति चाहिदैन । उनलाई कर लाग्दैन किनकि बेलायतमा उठाइने कर नै महारानीको नाममा हुन्छ । तरपनि महारानी आफ्नो आम्दानीको कर तिर्ने गर्छिन् भनेर भनिन्छ । महारानीलाई आफूलाई मान्ने मुलुकहरुमा भ्रमण गर्दा पासपोर्ट चाहिँदैन । उनलाई कुनैपनि बेला बेलायका प्रधानमन्त्री नियुक्त र बर्खास्त गर्ने अधिकार रहेको छ । त्यसका अलावा उनले कसैको हत्या गरेमा समेत उनलाई कानुन लाग्दैन ।

५) महारानीको सौख

महारानी एलिजावेथ द्वितीयलाई घोडा चढ्नमा एकदम रुची छ । फुटबलमा पनि उनको रुची रहेको छ । आफ्नो देशको आर्सनल फुटबल क्लव उनको मनपर्ने क्लव हो भनिन्छ । परेवा उडाउनु उनको अर्को रुची रहेको छ ।

६) भेष बदलेर भ्रमण गर्ने महारानी

महारानी एलिजावेथ द्वितीय आफ्नो भेष बदलेर बेलाबेलामा भ्रमणमा निस्कने गर्छिन् । महारानी भेष बदलेर केही समय पहिले स्कटल्याण्ड पुगेकी थिइन् । स्कटल्याण्डमा उनको अमेरिकी पर्यटकसँग कुराकानी हुँदा उनले आफ्नो घर उतै नजिक भएको, आफूले महारानीलाई अहिलेसम्म नभेटेको तर आफ्नो छेउमा रहेका प्रहरीले भने महारानीलाई भेटेको हुनसक्ने भनेकी थिइन् ।

७) रक्सी पिउने बानी

महारानी एलिजावेथको हरेक रात सुत्नुअघि एक गिलास स्याम्पेन (एक प्रकारको रक्सी) पिउने बानी रहेको छ । त्यसबाहेक लन्च भन्दा अघि उनी जीन र डुबानेई पिउँछिन भने लन्चमा उनी वाइन पिउने गर्छिन् । लन्चपछि उनी ड्राई मार्टिनी पिउने गर्छिन् ।

८) भाषा र जन्मदिन

महारानी अंग्रेजी बाहेक फ्रेन्च भाषामा समेत निपुण रहेकी छिन् । एकपटक उनी फ्रान्सको भ्रमणमा रहँदा त्यहाँको संसदमा फ्रेन्च भाषामा सम्बोधन गरेकी थिइन् । त्यस्तै उनको जन्म अप्रिल २१ मा भएपनि बेलायती संस्कार अनुसार उनको औपचारिक जन्मदिन जुन महिनामा मनाइन्छ ।