घोराही १२, असार ।
हातमा अनार मिचेर त्यसको रस ८१ वर्षिया खगिदेवी बस्नेतलाई बुहारी बालिकाले खुवाइदिन्थीन् । आफैसँग अड्याएर जाउलो करबलले खुवाइन् । केहि दिन दिसा पिसाव स्याहार्नुपर्यो । यसरी सेवा गर्दा बुहारीका हातमा न पञ्जा हुन्थ्यो न त नाकमा मास्क नै देखिन्थ्यो ।
यसरी सेवा गर्दै घोराही–१८ प्राचिन भयाँरस्थान टोल निवासी बस्नेतले होम आइसुलेसनमैै कोरोना जित्नुभयो । उहाँको स्वास्थ्य अवस्थाको नियमित हेरफेर डा. गिरबहादुर महरा ‘रोदन’ले गर्नुहुन्थ्यो । औषधि खुवाउने देखि सबै हेरविचार खगिकी कान्छी बुहारी बालिकाले गर्नुभयो । करीब २० दिनको निरन्तर घरयासी प्रयासबाट बस्नेतले कोरोना जित्न सफल हुनुभयो ।
सँधैको आदत विहानै उठेर नुहाउनु भयो । छोरा शिवका अनुसार त्यसपछि मिठाइ खानुभयो । त्यसको केहि समय पछि घाँटि खस खस भयो । यस्तो कहिल्यै हुँदैन्थ्यो । त्यसको एक दुईदिन पछि ज्वरो आयो । अनि पखाला छुट्यो । त्यसपछि क्रमसः थलिँदै थलिँदै जानुभयो । अनि विरामी पर्नुभयोे । अरु केहि समस्या होला भनेर परिवारले उपचार प्रकृया थालनी गर्यो ।
उहाँसँगै छोरा शिव, नाती सगुन पनि विरामी हुनुहुथ्यो । त्यसपछि भने बस्नेत परिवार कोरोना लाग्यो कि भन्नेमा पुग्यो । वरपरका छरछिमेक पनि विरामी छन् रे भनेपछि टाढिँदै गए । घरको सबै काम बुहारीको काँधमा आयो । पटक पटक माड बनाएर खुवाउने, तातो पानी, चिया, दुध जे जे खान सक्नुहुन्छ खुवाउनु भयो । नाकमा गन्ध नहुने, जिब्रोमा स्वाद नआउने भएपछि खाना रुच्न छाड्यो । सासु, श्रीमान र छोरोको स्याहार नै उहाँको दैनिकी हुन थाल्यो ।
‘हामी पनि विरामी भैगिम्’ श्रीमतिले सासु र आफनोे स्याहार गरेको विषयमा टिप्पणी गर्दै बालिकाका श्रीमान शिवले भन्नुभयो, ‘सबै यसैले गरी’ उहाँले भनेजस्तै घरधन्दा उहाँकै काँधमा थियो । सरसफाइ, खानपिन बन्दोवस्तिको पुरै जिम्मेवारी हुन्थ्यो । त्यसो गर्दापनि बालिकाले न अत्यास् मान्नुभयो । न पट्यार लाग्यो । उहाँले आफ्नै आमासरी सासुको निरन्तर हेरचाह गर्नुभयो । यहि लक्षिणले सासुको आँट बढ्यो । स्वास्थ्य पनि दिनहुँ सुधारहुँदै गयो ।
‘जति खान्न भनेपनि खुवाइदिएँ’, सासुलाई सञ्चो बनाएकोमा खुशीहुँदै बालिका भन्नुहुन्छ, ‘अस्पतालमा पठाएर अरुले स्याहार्नुभन्दा घरमा आफूले गरेको राम्रो होला भन्ने लाग्यो ।’ उहाँका अनुसार अस्पतालमा अर्कै कपडा लगाउँछन् । छुन डराउँछन् । तिनले भोक तिर्खा, तातो चिसो कसरी बुझ्देलान् भन्ने सोँच आयोे । छुन डर मान्लान् । खुवाउन घिन मान्लान् र बुढी मान्छे कुस्याहार पर्ला भन्ने भयो । खानपिनको उचित व्यवस्थाले बचाउँछु भन्ने विश्वास जाग्योे । त्यसै अनुसार स्यहार सुसार गरेर बालिकाले सासुलाई कोरोना मुक्त गराई छाड्नुभयो ।
केहि दिनपछि घरका जवान छोरा नातिलाई छोड्दै गयो । तर, बृद्धा खगिलाई दाब्दै लगेको महसुस भयो । पखालाको कारणले गलायो की भनेर डा. महराले सलाइन लगाइदिनु भयो । त्यो पनि नसा नभेटिएर दुईपटक घोराही बजार पुगी सिरिन्ज लग्नुभयो । नसा खोज्न कै लागि पवित्रा महरा पनि पुग्नुभएको थियो । निकै मेहनत पछि सलाइन सफल भयो । त्यसले ऊर्जाले दियोे तर, पुरै तागत भरिएन । डा. महराले एकपटक बज्यैको पिसिआर गर्ने कि भनेर सुझाव दिनुभयो । घर परिवारले पनि चित्त बुझाउनलाई भएपनि पिसिआर जाँच गराउने भन्यो ।
केही आफन्तले ठूला अस्पताल लैजाउँ, यसरी सन्चो हुँदैन भन्न थालेका थिए । कतिपय मानिसहरु कोरोनै लागेको हो भनेर घर तर्फ हेर्दैन्थे । धेरैले सक असक सोध्ने हिम्मत गर्दैन्थे । घर आगनमा पाइलो टेक्ने निकै थोरै थिए । पर सडकबाटै देख्या नदेख्यै गरेर मानिसहरु तलमाथि गर्थे ।
त्यसरी चित्त बुझाउन गरिएको पिसिआरको रिपोर्ट कोरोना पोजेटिभ आयो ।
छोरा शिवुका अनुसार त्यसले उहाँलाई औषधिको रुपमा काम गर्यो । रिपोर्ट आएको दिन देखि नै बसेर टिभी हेर्न थाल्नुभयो । आफै शौचालय जान लाग्नुभयो । आफूलाई परेको गाह्रो साह्रोका बारेमा भन्नुभयो । उहाँको व्यवहारले अरु सबै गरे, पिसिआर पनि गरेहुन्थ्यो भन्ने मनभित्र कहीँ न कहीँ लागेको रहेछ जस्तो महसुस भयो । घरमै पुगेर स्वाव संकलन गर्दा देखि नै मुहार खुशी थियोे ।
त्यस बेलासम्म डा.महरा धेरैपटक घरमा पुगि सक्नुभएको थियो । उहाँले मुखमा मास्क र हातमा ग्लोब्स कै भरमा उपचार गर्नुभयो । ‘मलाइ त त्यही गिरुले बचायो’, बृद्धा बस्नेत भन्नुहुन्छ, ‘त्यो नभए बाँच्दैन्थेँ ।’ उहाँका अनुसार ज्यानले हार खाइसकेको थियो । महराले आफै पुगेर र फोनबाट निरन्तर फ्लोअप गर्नुभयो । मन खस्ने वातावरण आउनै दिनुभएन । डा. महरा पिपिइ नलगाएरै सरल तरीकाले प्रस्तुत हुनुभयो । त्यसले अपनत्व बढायो । घरको माया ममतामा कुनैदिन पनि कमि आएन र भरोसा दियो । त्यही विश्वासले कोरोना जित्नुभयो ।
‘सबैको साथ सहयोग र हौसलाले ठिक हुनुभयो’, ‘खगिदेवीका जवाई धनबहादुर विसी भन्नुहुन्छ, ‘भेट्न आउनेका कुरा गरिरहनुहुन्छ ।’ उहाँका अनुसार भेट्न आउनेले दिएको हौसलाले आत्मबल बढ्यो । कसैले गलत नजर लगाउँदा हिनताबोध हुने रहेछ । कोहीले परैबाट मुन्टो भाँचे भन्नुहुन्छ । जतिले नजिक आएर सक असक सोधे तिनकै प्रेरणाले बाँचे भन्ने लागेको छ । बुढापाका हुने घर भनेर पहिल्यै अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको थियो । तर, लगाउनु परेन ।
‘छोरा बुहारीसित दिनमा दुइतिन पटक झगडा गरें बाबु’, बस्नेतले मुसुक्क हाँस्दै भन्नुभयो, ‘म खानै सक्दैन छिर्दै छिर्दैन भन्ने, यिनले नखाएर सुखै नदिने ।’ यसरी निकै करबल गरेर खुवाएपछि आङ्मा तागत लाग्यो । विमारले दाब्दा डा. महराले आवश्यक औषधिको व्यवस्था गरिदिनु भयो । सजिलो ओच्छ्यान, तागतिलो खाना, मौसम अनुसारका चिसो तातो कपडा र खानपिनमा सुविधा बुहारीले गर्नुभयो । यसरी सबैको प्रयास पछि ८१ वर्षिय बस्नेतको स्वास्थ्य पूर्ववत अवस्थामा फर्कियो । बुहारीको विशेष स्याहार सुसारबाट कोरोना जित्न सफल हुनुभयो । सासुको कोरोना स्याहार गर्ने बुहारीलाई सरेन त्यसले छरछिमेकलाई अचम्मित बनाएको छ ।