बुटवल। उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले ताजा जनादेशको विकल्प नरहेको दावी गरेका छन् । शनिबार बुटवलमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन गर्दै पौडेलले निर्वाचन नै अबको निकास भएको जिकिर गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि अन्य दलले वैकल्पिक सरकार बनाउन नसक्दा प्रतिनिधिसभा विघटन गर्नुपरेको जिकिर गर्दै मन्त्री पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकाले ताजा जनादेशबाटै मुलुकले निकास पाउने तर्क गरे ।
संविधान निर्माणपछि राजनीतिक मुद्दामा नभई विकास र समृद्धिमा लाग्ने अठोट गरिएपनि अनपेक्षित दृश्य देखा परेको उनले बताए ।
सरकारले निर्वाचनमा गरेको बाचाअनुसार विकासका नयाँनयाँ काम गरेको पनि उनले दावी गरे । ‘चाहे पूर्वाधारको विकासका लागि होस् या चाहे मानव सूचकांकका हिसावले होस्, एकपछि अर्को राम्रो काम भएका छन्, अझै हुन्छन् सवैले अनुभूति गरेका छन् ।’,उनले भने
कोभिड विरुद्धको खोप छिटो भन्दा छिटो आपूर्ति गरेर जनतालाई लगाउनुपर्ने आवश्यकता रहेको भन्दै उनले खोपको प्रकृया शुरु भएपछि बीचमा रोक्न नपर्ने गरी काम भईरहेको बताए ।