हाम्रो शिक्षा प्रणाली विकृतिको थुप्रोले थिचिएको हालतमा छ । यसमा आमूल परिवर्तन नगरी हाल भइरहेको तदर्थवादी प्रयत्नले प्रतिफल प्राप्त हुँदैन । संविधान समाजवादउन्मुख भनिए पनि नयाँ शिक्षा नीति निर्धारण हुन नसक्नु अहिलेको शैक्षिक परिपाटीमा देखिएको प्रमुख समस्या हो । मुलुकमा अझै पनि २०२८ को शिक्षा नीतिका मुख्य बुँदाहरुले जरो गाडेर बसेका छन् ।
विद्यालयमा भौतिक संरचनाको अभाव तथा शैक्षिक सामाग्रीको कमि कमजोरीको कारण, योग्य तथा दक्ष शिक्षकको अभाव आदिका कारणले शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कारखाना बन्न पुग्यो । पढेका र प्रमाण पत्रधारी ठूलो समूह बेरोजगार बनेर विदेशी श्रम बजारमा अदक्ष श्रमिकका रुपमा पलायन हुन बाध्य छ । वर्तमान परिप्रेक्ष्यमा शैक्षिक लगानी र शिक्षा क्षेत्रमा अर्बौं बजेट खर्च गरियो तर प्रतिफल शुन्य जस्तै छ ।
नेपालमा हाल दिइएको शिक्षाले नेपालीहरु साक्षर हुनु बाहेक अर्को सफलता हासिल गर्न नसकेको कुरा शिक्षा क्षेत्रका तमाम हस्तीहरुलाई अवगत नै छ । भनिन्छ, एक वर्षमा परिणाम प्राप्त गर्नु छ भने अन्नको खेती गर्नु, दश वर्षमा परिणाम प्राप्त गर्नुछ भने फलफूलको खेती गर्नु, जीवनलाई नै परिणाममुखी बनाउनु छ भने शिक्षाको खेती गर्नुपर्छ ।
अतः शिक्षामा लगानी गरेर मात्रै आवश्यक प्रतिफल हासिल गर्न सकिँदैन । त्यसका लागि पुरानो तथा विद्यमान शैक्षिक परिपाटीको अन्त्य गरिनुपर्छ र नयाँ प्रणाली र पाठ्यक्रम लागू गर्नुपर्छ । यो विषय नै समग्र शैक्षिक सफलताको लागि नित्तान्त आवश्यक सन्दर्भ हो ।
विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा विभिन्न खालका विकृति, विसङगति व्याप्त छन् । यो सबैखाले विकृति र विसङ्गतिका विरुद्धमा मुलुकमा कृयाशिल विद्यार्थी संगठनहरु देशव्यापी विषयवस्तु र मुद्धाका आधारमा कतिपय अवस्थामा संयुक्त रुपमा वा एकल रुपमा शिक्षा क्षेत्रमा रहेका विकृति विरुद्ध, विसङगति विरुद्ध र शैक्षिक माफियाको विरुद्ध कृयाशिल भएको र कयौं शैक्षिक सफलता पाएको सर्वविदितै छ ।
नेपालमा कृयाशिल विद्यार्थी संगठनहरु विभिन्न राजनीतिक पार्टीका वैचारिक सामिप्यता जाहेर गर्ने गरेको जनसंगठनको रुपमा रहेपनि शिक्षा क्षेत्रमा रहेका र देखिएका समस्याको सवालमा आफ्नो पार्टिका नीति, विधि, निर्देशन र निर्णयका विरुद्ध समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको इतिहास ताजै छ । समयानुकूल पाठ्यक्रम परिमार्जन नगर्नु अर्को समस्या हो । यसकासाथै योग्य शिक्षकको अभाव हुनु आजको वास्तविक समस्या पनि हो ।
नेपालमा शिक्षण पेशा आफैमा मर्यादित छैन । शिक्षा नीति गतिलो नहुँदा राज्य र समाजले शिक्षकलाई आवश्यक मर्यादा दिन सकेका छैनन् भने शिक्षक स्वयमले मर्यादा बचाउन पनि नसकेको अवस्था छ । शिक्षण पेशा मर्यादित र सम्मानित नभई योग्य व्यक्ति शिक्षक बन्न आउँदैनन् । तसर्थ कमजोर योग्यता भएका व्यक्तिबाट दक्ष जनशक्ति उत्पादन हुन सक्दैनन् । यो आजको शैक्षिक प्रणालीको मुख्य समस्या हो ।
वर्तमान शिक्षा प्रणालीमा देखिएको प्रमुख समस्या भनेको घोकन्ते शिक्षा नै हो । प्राविधिक तथा व्यवसायीक शिक्षा प्रणाली संचालन गर्ने भन्ने कुरा नाम मात्र भएको छ । यसले उचित स्थान प्राप्त गर्न नसक्नु अर्को चुनौती हो । त्यसैले यी सबै प्रकारका विद्यमान समस्यालाई चिरफार गर्दै, घोकन्ते परिपाटीलाई फालेर व्यवहारीक र प्रविधिमैत्री शिक्षा प्रणालीको प्रयोग आजको पुस्ताको प्रमुख आवश्यकता हो ।
राज्यले अंगिकार गर्दै आइरहेको द्वैध खाले असमान शिक्षा नीति बन्दगरी हुँदा खाने र हुनेखाने दुबैलाई समान हुने खालको शिक्षा नीति लागू गर्नुपर्दछ । शिक्षाका नाममा देखा परेका तमाम अनियमितता, भ्रष्टाचार एवं सम्पूर्ण खाले विकृति र विसङगतिको अन्त्य गरिनुपर्छ ।
शिक्षामा लगानी बालुवामा पानी :
नेपालमा हालसम्मको बजेट इतिहासलाई नियाल्दा प्रमुख पक्षपोषण शैक्षिक क्षेत्रलाई गरिन्छ । अर्बौं बजेट विनियोजन गरिन्छ तर प्रतिफल शुन्य जस्तै छ ।
सैद्धान्तिक ज्ञानलाई मात्र आधार मान्ने, प्राविधिक शिक्षा अन्तर्गतका सिकाइ क्रियाकलाप जस्तै कृषि क्षेत्र अन्तर्गत ह्वाइट बोर्डमै तरकारी, फलफूल फलाउने, इन्जिनियरिङ तर्फ बोर्डमै घर, पुल, सडक जस्ता भौतिक संरचनाको खाका कोर्ने, भेटेरिनरी शिक्षा तर्फ बोर्डमै पशुचौपायाको उपचार गर्ने जस्ता लज्जास्पद शैक्षिक परिपाटीले देशको भाग्य र भविस्य अझै अन्धकार तर्फ धकेलिएको छ ।
भोलीको विकास र परिवर्तनको आधार मानिने आजका विद्यार्थीलाई सुगा रटाई शैक्षिक प्रणालीले कस्तो परिवर्तन दिन सक्छ ? यो सबैले सोच्नुपर्ने विषय हो । यसको मतलव व्यवहारीक शैक्षिक प्रणाली अवलम्बन गर्नुपर्छ । छलफल केन्द्रित सिकाइ माध्यमलाई पालना गर्नुपर्छ र त्यो ज्ञान व्यवहारमा लागू हुनपर्छ ।
वैज्ञानिक शिक्षा माध्यमबाट सिकाई प्रक्रिया अगाडि बढाउनुपर्छ । प्रविधिको समूचित प्रयोग गरिनुपर्छ । इत्यादी कार्य तुरुन्त लागू गर्नसके शैक्षिक सफलता चाँडै प्राप्त गर्न सकिन्छ ।