काठमाडौं । गृहमन्त्री विष्णुप्रसाद पौडेलले गृह मन्त्रालय मातहतका कर्मचारी र सुरक्षा निकायलाई दबाब र प्रभावबिना काम गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्रीको रूपमा आज पदभार ग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रहरी र गृह प्रशासनमा आफूबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै जिम्मेवारी कर्तव्यनिष्ठ भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिए ।
आफू फरक खालको व्यक्ति भएको जानकारी गराउँदै उनले हरेक व्यक्ति आआफ्नो जिम्मेवारी सम्पादन गर्न सबै स्वतन्त्र हुने बताए । उनले जिम्मेवारी अनुसार आफूलाई नतिजा भने चाहिनेसमेत उल्लेख गरे । गृहमन्त्री पौडेलले भने, ‘नतीजाप्रति जिम्मेवार भएर यहाँहरूले काम गर्नुपर्छ भन्ने मान्यता म राख्छु ।’ उनले बढुवा, सरुवा, थमौती र स्वदेश, विदेश पठाउनका निम्ति मातहतका आफूकहाँ नआउन मातहतका कर्मचारीलाई भने । उनले सरकारबाट गर्नुपर्ने काममा कुनै कमि नहुने र मन्त्रीका हैसियतमा गर्ने निर्णयमा आफू जिम्मेवार रहेको पनि बताए ।
गृहमन्त्री पौडेलले राजनीतिक परिस्थितिको प्रभाव सुरक्षा निकायमा र गृह प्रशासनमा पर्न नहुनेमा जोड दिए । उनले शान्ति सुरक्षा, मानिसको जीउधनको रक्षा गर्ने सवालमा जिम्मेवारीपूर्वक काम गर्न पनि निर्देशन दिए ।
गृह प्रवक्ता जनकराज दाहालका अनुसार गृहमन्त्री पौडेलले काम छिटो, छरितो र इमान्दारपूर्वक गर्न र सरकारको नीति, योजना व्यवहारमा कार्यान्वयन हुने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
निर्देशनका क्रममा गृहमन्त्री पौडेलले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी जिम्मेवारी पूरा गर्न तथा परेका समस्याबारे खुलस्त राख्नसमेत आग्रह गरेको प्रवक्ता दाहालले जानकारी दिए ।