काठमाडौं । नेपाली काँग्रेसले आसन्न भदौ महिनामा महाधिवेशन गर्ने तयारीलाई गति दिएको छ । असार ४ गते काँग्रेस केन्द्रीय कमिटी बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ महिनाको १६ गतेबाट सुरु गरी १९ गतेभित्रै टुंग्याउने तयारीलाई गति दिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
यसअघि कोभिड–१९ संक्रमण तथा उच्चजोखिमबाट जनतालाई मुक्त गर्ने, संविधानको रक्षा र वैधानिक संकटबाट जोगाउन महाधिवेशन गर्ने दायित्व र जिम्मेवारी भएको भन्दै आसन्न भदौ पहिलो साताभित्रै महाधिवेश टुंग्याउने तयारी काँग्रेसले गरेको थियो । तथापि कोभिड संक्रमण तथा उच्चजोखिमको दोस्रो लहर बढेपछि काँग्रेसले १४ औँ महाधिवेशनको तयारी बीचमै रोक्नु परेको काँग्रेस नेता प्रकाश महतले बताए ।
त्यस्तै काँग्रेस केन्द्रीय बैठकको समापन पश्चात् बोल्दै नेता महतले भने, ‘हामी चहान्छौँ लोकतन्त्रको रक्षा होस्, संविधानको रक्षा होस् र त्यसमा जो पार्टीहरू, व्यक्तिहरू जोडिन चहानुुहुन्छ, उहाँहरूलाई जोड्दै यसलाई अझ मजबुतिका साथ अगाडि बढाउने र संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्ने, वर्तमान ओली सरकारले जसरी लोकतन्त्र, संविधानको मूल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम भएको छ त्यसको विरुद्ध बृहत्तर एकता जो लोकतन्त्रमा विश्वास गर्छ र संविधानमा विश्वास गर्छ ती पार्टीहरू र समुहहरूलाई जोड्दै लाने, एकताबद्ध बनाएर लाने निर्णय आजको पार्टीको बैठकले निर्णय गरेको छ । यसकासाथै काँग्रेसले वर्तमान प्रधानमन्त्री तथा नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चहाने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रुपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ ।’
यद्यपि केही दिनअघि काँग्रेस सभापति शेरबहादुर देउवाले आसन्न भदौमा सम्पन्न हुने महाधिवेशनका लागि सभापतिको उम्मेदवारी दिने बताएसँगै काँग्रेसमा सरगर्मी बढेको छ । त्यतिमात्रै होइन, काँग्रेसमा गुटगत भेला तथा छलफल हुने गरेका छन् । यसपटक पनि नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि सभापतिको उम्मेदवारका दावेदारमध्ये एक वरिष्ठ नेता रामचन्द्र पौडेल पनि हुन् । वरिष्ठ नेता पौडेलले भदौमा सम्पन्न हुने पार्टीको महाधिवेशनको तयारीका लागि आफूइतरका केही शीर्ष नेतासँग शुक्रबार छलफल गरेका छन् ।
राजधानीको एक होटलमा पौडेलले आफूनिकट नेताहरू महामन्त्री डा।शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, शेखर कोइराला, प्रकाशशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, दिलबहादुर घर्ती, हृदयराम थानी, गगन थापा, प्रदीप पौडेल, धनबहादुर गुरुङ, बद्री पाण्डे, कल्याण गुरुङ, गुरुराज घिमिरे, कमला पन्त, जीवन परियारसँग छलफल गरेका छन् ।
त्यस्तै काँग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा।शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि शुक्रबार छुट्टै भेटवार्ता गरेका छन् । कोइराला निवास महाराजगञ्जमा तीन नेताले भेटवार्ताले महाधिवेशनसम्म मिलेर जाने सहमति गरेको निष्कर्ष निकालेका छन् । यसभन्दा अघि पनि उनीहरूले विमलेन्द्र निधि निवासमा लामो समय छलफल गरेका थिए ।
त्यस्तै काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनकै लागि क्रियाशील सदस्यता नवीकरण गर्न बाँकी सदस्यका लागि असार ९ गतेसम्मको म्याद तोकेको थियो । क्रियाशील सदस्यता छानविन समितिका संयोजक केशव रिजालले असार ४ गते विज्ञप्ति जारी गरी असार ९ गतेभित्रै नामावली पठाउन जानकारी गराएको सो विज्ञप्तिमा उल्लेख छ ।
विधान बमोजिम नविकरण गर्न छुट भएको भए, नवीकरण गर्नुपर्ने सदस्यको नामावली विवरण र शुल्क समेत नेपाली काँग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिमा सबै जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका कार्यसमिति, वडा कार्यसमिति र सम्बन्धित क्रियाशील सदस्य स्वयंले असार ९ गते पठाइ सक्नुपर्ने विज्ञप्तिमा भनिएको छ ।
योसँगै देशमा जारी लकडाउन केही खुकुलो र कोभिड संक्रमण तथा उच्चजोखिम कम हुँदै गएपछि काँग्रेस केन्द्रीय कमिटीको बैठक बसेको थियो । उक्त कमिटीको बैठकले आगामी भदौ १६ गतेदेखि १९ गतेभित्रै आफ्नो महाधिवेशन सम्पन्न गर्ने तयारी थालेको छ । यसका लागि काँग्रेसले साउन १२ गते गाउँ तथा नगरपालिकाको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका र नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रिय अधिवेशन र एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते एवम् एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रदेशको अधिवेशन भदौ १ र २ गरिने निर्णय गरिएको पनि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
काँग्रेसको १४ औँ महाधिवेशन बाध्य भएर पनि गर्नुपर्ने अवस्था आएको छ । किनकि पार्टीलाई संवैधानिक संकटबाट जोगाउन भदौ महिनाभित्रै महाधिवेशन जसरी भएपनि सम्पन्न गर्नुपर्ने काँग्रेसको बाध्यता छ । संविधानको धारा २६९ को उपधारा ४९ख० अनुसार ५ वर्षभित्रै दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना समयसीमा बढाउन सक्ने प्रावधान छ । त्यसैमा टेकेर काँग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्म म्याद थप गरेको छ ।
यद्यपि संविधानले नै तोकेको समय सीमाभित्र काँग्रेसले आफ्नो १४ औँ महाधिवेशन सम्पन्न गर्न सकेन भने पार्टी नै नरहने अवस्था आउँन सक्ने पक्का छ । यसर्थ पटकपटक स्थगित हुँदै आएको काँग्रेस महाधिवेश यो पटक नभएमा पार्टी नै अवैध हुने भएकोले महाधिवेश हुने निश्चित छ ।
कोभिड–१९ संक्रमण तथा जोखिमबीच काँग्रेसले महाधिवेशन सम्पन्न गर्न निकै जोखिम छ । तथापि उच्चजोखिमको सामना गर्दै उसले महाधिवेश सम्पन्न गर्नुपर्ने अवस्था आएको छ । स्वास्थ्य सतर्कतको मापदण्ड अपनाएर वा अन्य कुनै भर्चुअल माध्यमबाट भएपनि यसपटक तोकिएकै मितिमा काँग्रेसले १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । अन्यथा नेपाली काँग्रेस पार्टी वैधानिकता रहने छैन ।