हेमन्त वली असार ११, दाङ ।
नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको शान्तिनगर गाउपालिका–३ अँधेरे निवासी अति विपन्न अवस्थामा रहेका दलबहादुर कुमालको घर निर्माण गरिदिने भएको छ । अल्पसंख्यक जातिमा पर्ने कुमालको घर निर्माण कार्य सुरु गरिसकिएको छ ।
आज एक कार्यक्रमकाबिच घर निर्माण कार्यको शिलान्यास गरिएको छ । घर निर्माणको शिलान्यास गर्दै सो पार्टीका दाङ सेक्रेटरी प्रदिप वलीले पार्टी जनताका लागि श्रम र समयसँग एकाकार भएर अगाडी बढेको बताए ।
जनप्रतिनिधिले आफ्नो अनुकूलतामा विकास बजेट छुट्याई कमिसन खाने र भ्रष्टाचार गर्ने गरेको समाचार आइरहेका बेला उनले भने जनताको लागि निःशुल्क घर बनाइदिने बताए । उनले भने,‘अहिले हामी साना टहरा बनाउछौं, भोली ठूला र समृद्ध टहरा बनाउछौं ।’
विभिन्न उद्योगी र व्यवसायीको सहयोग, नेता–कार्यकर्ता, गाउँटोल र समाजको श्रमशक्तिबाट कुमालको घर निर्माण गरिदिने उनको बनाइ रहेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै युवा संगठन नेपालका केन्द्रिय सदस्य वीरेन्द्रले संगठनका कार्यकर्ता निरन्तररुपमा जनताको सारथी बनेर जनश्रममा जोडिएको बताए । उनले भने,‘हामीले सुनेका छौं, स्थानीय युवा र बासिन्दाले पटकपटक वडाकार्यालय र स्थानीय नेताहरुलाई घर बनाइदिन अनुरोध गर्दा पनि वेवास्ता भएकोले आफ्नो पार्टी र संगठनले पहलकदमी लिएर कुमालको घर बनाइदिएका हौं ।’
घर निर्माण अभियानमा नेकपा निकट गणतान्त्रिक खेलकुद महासंघ दाङ अध्यक्ष विवेकले रु. ५ हजार, तुलसीपुर उपमहानगरपालिका वडा–९ निवासी व्यवसायी तथा समाजसेवी डिल्लीबहादुर केसीले रु. ८ हजार नगद सहयोग प्रदान गरेका थिए ।