काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले नतिजा आउने गरी काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । शुक्रबार गृहमन्त्रीको कार्यभार सम्हाल्दै पौडेलले आफूले मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताएका हुन् । उनले आफूसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए ।
संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा आफ्नो जिम्मेवारी पुरा गर्न उनले निर्देशन दिए ।
मन्त्री पौडेलले नतिजा आउने गरी काम गर्ने उद्देश्य रहेको पनि बताए । ‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिनँ । म हरेक व्यक्ति आफ्नो कामप्रति, जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ भन्ने मान्यता राख्छु । कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने मान्यता राख्छु,’ उनले भने, ‘यहाँहरुले आ–आफ्नो जिम्मेवारी सम्पादन गर्न सबै स्वतन्त्र हुनुहुन्छ । कुनै प्रहरी संगठनका प्रमुखलाई, सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन । गृह सचिवले हस्तक्षेप गर्दैन ।’
सरुवा, बढुवा तथा थमौतीका लागि आफूलाई भेट्न नआउन उनले सबैलाई निर्देशन दिए । ‘म कहाँ एउटा पनि पुलिस नआओस् । अन्याय भयो भनेर र साँच्चै नै अन्याय अनुभुत गरेर आउछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु । नभए प्रमोसनका निम्ति, थमौतिका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस म कहाँ नआओस्,’ उनले भने ।