• असार १६ २०८१, शनिबार

सय वर्षमा पनि ३० वर्षका युवती जस्तै कृयाशील यी २ महिला

असार ११ २०७८, शुक्रबार

उमेर बढ्दै जाँदा मानिसमा निस्कृयताका साथै असक्तता समेत देखापर्ने गर्छ । जसलाई मानिसहरु बुढेसकाल लागेको भन्ने गर्दछन् । बुढेसकालमा मानिसहरु असक्तताका विभिन्न लक्षणहरु देखाउने गर्दछन् । नेपालमा कसैकसैले ४० वर्ष लाग्दा नलाग्दै बुढेसकालको अनुभूति गर्ने गर्दछन् भने यही देशमा कोहीकोही मानिस एकसय वर्षसम्म पनि सक्रिय जीवन बिताइरहेका पाउन सकिन्छ ।

दिन ढल्किँदै र उमेर बढ्दै जाँदा मानिसको देहमा शक्ति ह्रास भई काम गर्ने, हाँस्ने, खेल्ने, दगुर्ने लगायतका शारीरिक कृयाकलापहरु गर्न नसक्नेस्थिति देखा पर्दछ, जसलाई हामी बुढेसकाल समेत भन्ने र बुझ्ने गर्दछौं । तर संसारमा यस्ता पनि मानिसहरु पाइन्छन्, जो आफ्नो उमेर र बुढेसकालमा समेत युवा अवस्थामा जस्तै सक्रिय जीवन बाँच्न सकेका देखिन्छन् ।

कोही मानिस आफ्नो बुढ्यौली र उमेर बिर्सेर युवाजस्तो मात्रै होइन कयौं बच्चाहरुको भन्दा पनि सक्रिय जीवन बिताइरहेका हुन्छन् र छन् भन्दा तपाईंलाई अचम्म लाग्ला । संसारमा अहिले पनि सयवर्ष काटेका यस्ता दुई महिला रहेका छन् जसले आफूलाई युवा अवस्थाको जस्तो मात्रै होइन बच्चाकालको जस्तो सकृय बनाइरहेका छन् ।

१) आइलिन क्रामर

आइलिन क्रामर नाम गरेकी एक महिला १०६ वर्षकी भइन् तर उमेरले त्यति धेरै हुँदापनि उनको शरीर भने १०-११ वर्षको बालबालिकाको जस्तो सकृय मात्रै होइन युवाको जस्तो शक्तिशाली देखिन्छ । युवा समयदेखि व्यवसायीक नृत्याङ्गना रहेकी क्रामर अहिले पनि नृत्यका विभिन्न कार्यक्रम गर्ने गर्छिन् । अस्ट्रेलियाको सिडनीकी बासिन्दा उनी विश्वयात्रा गरेकी छिन् । ९९ वर्षको पुगेपछि मात्र उनी गृहनगर सिड्नी बस्न लागेकी हुन् । उनी यति क्रियाशील रहेकी छिन कि दिनमा नृत्यका कक्षाहरु चलाउनुका साथै उनले एकदिनमा एउटा कथा समेत लेख्ने गर्छिन् ।

 

हालै अस्ट्रेलियामा देशव्यापी रुपमा गरिएको प्रतिष्ठित चित्रकला प्रतियोगितामा समेत उनले सहभागिता जनाएर मानिसलाई चकित पारेकी छिन् । उनी अझैं पनि विभिन्न पुस्तकहरु प्रकाशन गरिरहेकी छिन् । दिमागबाट बुढ्यौली र उमेर भन्ने शब्द नै हटाइसकेको बताउने उनी नाँच्दा शरीरको माथिल्लो भागलाई एकदम कलात्मक तरिकाले चलाएर नाटकीय तरिकाले भावभंगी प्रकट गर्छिन् । आफूले अन्य कलाकारहरुसँगै नाचेको भिडियोहरु बनाएर सामाजिक सञ्जाहरुमा पनि उनले राख्दै आएकी छिन् ।

२) डिङकी फ्लावर्स

डिङकी फ्लावर्स बेलायतको राजधानी शहर लण्डनकी बासिन्दा हुन् । उनी अहिले एकसय वर्ष नाघिन् । यिनी अहिले पनि आफू नाँच्ने मात्रै होइन अरुलाई समेत नाँच्न सिकाइरहेकी छिन् । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसको लागि कोष संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी डिङकी फ्लावर्स यो उमेरमा आफू नाँच्ने मात्रै होइन अरुलाई समेत नाँच्न सिकाएर चर्चामा छिन् । नृत्यसँगै उनले शारीरिक अभ्यासका कक्षा चलाएर पनि एनएचएसको लागि कोष संकलन गरिरहेकी छिन् । उनी भन्छिन ‘म ३० वर्षकी भएँ कि १०० वर्षकी भएँ मतलव भएन तर मैले काम गर्छु की गर्दिन त्यो मात्रै मतलव हो ।’