काठमाडौँ। नेपाली काँग्रेसको चौधौँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिदै गर्दा नेताहरुमा विभिन्न तहका नेतृत्वका लागि दौडधुप चलिरहेको छ। महाधिवेशनबाट आउने नेतृत्वमा आफ्नो दाउ लगाउने ध्याउन्नमा काँग्रेसका सबै गुट/उपगुटहरु लागिरहेका छन्।
यसैबीच वरिष्ठनेता रामचन्द्र पौडेलले आफू निकटका केन्द्रिय सदस्यहरुको बैठक शुक्रबार बोलाएका छन्। पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा महाधिवेशनकै बारीमा छलफल हुने काँग्रेस केन्द्रिय सदस्य जीवन परियारले बताए। उनले भने ‘वरिष्ठ नेताज्यूले आज छलफलका लागि बोलाउनु भएको छ, महाधिवेशनकै बारेमा छलफल हुन्छ।’
चौधौँ महाधिवेशनमा फेरि केन्द्रिय सभापतिमा उम्मेद्वारी दिने पौडेलको मनसाय देखिन्छ। काँग्रेसका दुवै समूहमा सभपतिका दावेदार धेरै रहेका छन्। खासगरी पौडेल समूहमा सभापतिका आकांक्षी धेरै रहेका छन्। वरिष्ठनेता पौडेलले सामुहिक छलफल गरेर अघि बढ्ने बताएका छन्।
उता सभापति देउवाले पनि आफू सभापतिमा दोहोरिन तयारी बढाएका छन्। देउवाले आफू निकटका केन्द्रिय सदस्यहरुसँग एक चरणको छलफल गरिसकेका छन्। सभापति देउवा समूहबाटैउपसभापति विमलेंद्र निधिले पनि सभापतिमा आफ्नो दाबेदारी प्रस्तूत गरिसकेका छन्। निधिले अरु सभापतिका आकांक्षीहरुसँगको भेटघाट बढाएका मात्रै छैनन्, पार्टीका युवानेताहरूसँग पनि छलफल तिव्र पारेका छन्।
काँग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १४औं महाधिवेशनको लागि अहिले कृयाशील सदस्यता छुट्ट्याउने काम गरिरहेको छ।