• मंसिर १४ २०८१, शुक्रबार

माओवादी छोडेका २ मेयर सहित १४ जनप्रतिनिधिको पद रिक्त (नाम सहित)

असार ११ २०७८, शुक्रबार

काठमाडौं । माओवादी केन्द्र छाडेर एमालेमा गएका दुई जना मेयर र पाँच जना उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले उनीहरुको पद रिक्त गरेको हो ।

माओवादी केन्द्रले पार्टीबाट २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले दल त्याग गरेकोले कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएको थियो । आयोगले माओवादीको जानकारी अनुसार आज सूचना निकालेर १४ जनप्रतिनिधिको पद रिक्त भएको बताएको छ ।

जसअनुसार दुई मेयरको पद पनि गएको छ । रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहाको पद रिक्त भएको हो । रीनाकुमारी एमाले नेता प्रभु साहकी श्रीमती हुन् । प्रभु साह पनि माओवादी छाडेर एमालेमा गएकोले माओवादीले सांसद पद हटाइदिएको थियो ।

यस्तै रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद रिक्त भएको छ ।

यस्तै महोत्तरी साम्सी गाउँपालिका प्रमुख शेष फारूक, रौतहट यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रिक्त भएको आयोगले जानकारी दिएको छ ।

उनीहरूले दल त्याग गरेको सूचना माओवादीले पठाएकोले स्वतः पद रिक्त भएको आयोगले बताएको छ । आयोगको असार ९ मा बसेको बैठकको निर्णय अनुसार उनीहरूको पद रिक्त भएको हो ।

योसँगै रौतहटको मौलापुर नगरपालिकामा मेयर र उपमेयर दुबै कारवाहीमा परेपछि दुबै पद रिक्त भएको छ । यहाँ मेयर रीनाकुमारी साह र उपमेयर गौरीशंकर प्रसाद थिए ।

क–कसको गयो पद ?