• मंसिर ११ २०८१, मंगलवार

कस्तो रहला आजको मौसम ? यस्तो छ अनुमान

असार १० २०७८, बिहीबार

काठमाडौँ। नेपालमा आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नम्बर-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ । देशभर मनसुनी वायुको प्रभाव छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेको महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ ।

हाल वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागमा र वाग्मती, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरेखोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।