काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको नाममा स्थापित ‘निशा घिमिरे संरक्षण कोष’को नाममा आएको रकम पारदर्शी बनाइने भएको छ ।
कोषको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । कोषका संयोजक समाजसेवी दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।
निर्णय अनुसार निशाको नाममा आएको रकमलाई पारदर्शी बनाइने, साताको एकपटक दाताको नाम र रकम सार्वजनिक गर्ने, आएको हप्तामा कोषमा जम्मा गर्ने र निशाको बुवाको खातामा हालसम्म आएको रकम र निशाको लागि उपचार तथा उपचारपछि भैपरी आउने खर्चलाई घरमा तथा अस्पतालमा दाताले दिएको रकमलाई शुक्रबारसम्म सार्वजनिक गरिनेछ ।
कोषका कोषाध्यक्ष कलाकार मोहन निरौलाले आगामी दिनमा निशाका लागि आउने रकम संरक्षण कोषमा राखिने समझदारी भएको बताए । बैठकमा निशाको बुवा प्रेमप्रसाद घिमिरेको पनि उपस्थिति थियो ।