• मंसिर १५ २०८१, शनिबार

सर्वोच्च र निर्वाचन अयोगको निर्णयले जसपा एक हुने सम्भवना कायमै

असार ९ २०७८, बुधबार

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले (अध्यक्ष) केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर–वरिष्ठ नेता राजेन्द्र महतो (महन्थ–राजेन्द्र) समूहले सत्ता गठबन्धन गरे पश्चात् अर्का अध्यक्ष उपेन्द्र यादव–संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई (उपेन्द्र–बाबुराम) समूह चिडिएको छ ।

प्रधानमन्त्री ओलीले पहिलो पटक संसद् विघटन गरेपछि विरोधमा उत्रिएको जसपा महन्थ–राजेन्द्र समुहले एकाएक सत्ता गठबन्धनका लागि उनीसँग सत्ता साझेदार गर्ने बतायो । सत्ता साझेदारीकै लागि ओलीले जसपा महन्थ–राजेन्द्र समूहलाई अकस्मात प्रस्ताव गरेका थिए । त्यसपछि जसपाकै अर्को समूह उपेन्द्र–बाबुराम समुहले ओलीसँग सत्ता गठबन्धन गर्न नहुने भन्दै चट्टानी अडान राख्यो । तर, महन्थ–राजेन्द्र समुहले पार्टीभित्र कुनै छलफल र परामर्श नगरी ओलीसँगै सत्ता साझेदारी गरेको थियो ।

संसद् विघटन पश्चात् प्रधानमन्त्री ओली नेतृत्वको सरकार कामचलाउमा परिणत भएको छ । सरकार कामचलाउमा परिणत भएसँगै उसले पटकपटक मन्त्रिमण्डल विस्तार गरेको छ । गत जेठ २७ गते १९ औं पटक मन्त्रिमण्डल विस्तार गरेको हो । ओलीले त्यो पटक जसपा महन्थ–उपेन्द्र समुहका ११ जनालाई मन्त्रीपद थमाएर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए ।

योसँगै जसपा उपेन्द्र–बाबुराम महन्थ–राजेन्द्र समूहसँग चिडिएको छ । पार्टीभित्र देखिएको कलह र फुटको सम्मुखमा पुगेको जसपा दुई समूह एकआपसमा नराम्ररी चिडिँदै गएका छन् । एक समूहले अर्को समूहलाई कारबाही गर्नेदेखि चर्को आलोचना र आरोप प्रत्यारोप गर्दै आएका छन् भने आपसमा बोलीसमेत बाराबारको अवस्था उत्पन्न भएको छ ।

जसपा दुवै समुहले एकअर्कालाई कारबाही गरे पनि निर्वाचन आयोगले त्यसलाई मान्यता नदिई पार्टी पूर्ववत् अवस्थामै फर्किएको निर्णय गरेको छ । यो निर्णयसँगै जसपाको एकता हुनसक्ने राजनीतिक वृत्तमा चर्चा चलेको थियो । तथापि उपेन्द्र–बाबुराम समुहले महन्थ–राजेन्द्र समूहसँग एकता समाप्त भैसकेको बताएको थियो ।

उपेन्द्र–बाबुराम समूहका नेता नवराज सुवेदीका अनुसार, ‘महन्थ–राजेन्द्र लगायतका नेताले पहिलेको अडान त्यागेर ओलीसँग सत्ता गठबन्धन गर्नु भएको छ । उहाँहरूले पहिलो पटक संसद् विघटन भए पश्चात् जुन निर्णय र अडान लिनु भएको थियो । त्यसैमा अडिग रहनसक्नु भएन । विस्तारै विचलिदै हुँदै ओलीसँग सत्ता गठबन्धन गर्नु भएको छ । यो पार्टीको हितविपरीत भएकोले अब उप्रान्त उहाँहरूसँग मिलेर जानसक्ने अवस्था देखिदैन ।’

त्यस्तै उपेन्द्र–बाबुराम निकट अर्की नेतृ रेनुकुमारी यादवले भन्छिन्, ‘महन्थ–राजेन्द्र समूहसँग एकता समाप्त भैसकेको छ । महन्थ लगायतका ४ जना नेतालाई पार्टीले साधारण सदस्यता नरहने गरी निष्कासन गरिसकेको छ । अब आइन्दा उहाँहरूलाई पार्टीमा फर्काउने सपना पनि देखेका छैनौँ । उहाँहरुलाई जसपामा कुनै पनि पदिय दायित्व र जिम्मेवारी पनि छैन । बहुमतको निर्णयले निष्कासन गरेका हौँ । पार्टीबाट निष्कासन भैसकेको व्यक्ति पार्टीमै पुनः फर्काउनु हाम्रो नैतिकताले पनि दिँदैन ।’

यसअघि पार्टीको निर्णय विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता गठबन्धन गरेको भन्दै उपेन्द्र–बाबुराम समूहले पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारबाही गरेको छ । उनीहरूलाई गरेको कारबाहीबारे अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगलाई जानकारी गराएका थिए । त्यसपछि उनले आयोगलाई जसपाको रेकर्डबाट हटाएर विवरण अद्यावधिक गर्न आग्रह गरेका थिए । बहुमत केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित पेश गरिएको उक्त पत्रलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ ।

त्यस्तै अध्यक्ष उपेन्द्र यादवलाई अर्का अध्यक्ष महन्थ ठाकुरले पनि कारबाही गरेका छन् । यद्यपि एकअर्काले आपसमा कारबाही गरे पनि निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरेपछि अब के गर्ने भन्नेबारे दुवै समूह छलफलमा जुटेका थिए । तथापि त्यसबारेमा हालसम्म के भएको हो, उसले जानकारी गराएको छैन ।

उनीहरू पार्टीको आन्तरिक छलफलमै जुटेको अवस्थामा सर्वोच्च अदालतले हिजो (मंगलबार) मन्त्रिपरिषद् पुनर्गठन र विस्तारविरुद्ध अन्तरिम आदेश जारी गरेसँगै जसपा अध्यक्ष महन्थ ठाकुर–वरिष्ठ नेता राजेन्द्र महतो (महन्थ–राजेन्द्र समूहको राजनीतिक अवस्था संकटमा परेको छ । कामचलाउ प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नियुक्त भएका जसपा ११ जना मन्त्री हिजो नै पदमुक्त भैसकेका छन् । सर्वोच्चले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन र विस्तारविरुद्ध अन्तरिम आदेश जारी गरेसँगै उनीहरूको मन्त्रीपद पनि गुमेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २७ गते १९ औँ पटक विस्तार गरेको मन्त्रिपरिषद्को निर्णय सर्वोच्चले उल्ट्याइ दिएसँगै जसपा महन्थ–उपेन्द्र समूहका ११ जना मन्त्रीको मन्त्रीपद गुमेको छ । सर्वोच्चको मंगलबारको निर्णयलाई जसपाकै अर्को समूह उपेन्द्र–बाबुराम समुहले स्वागत गरेको छ । उसले सर्वोच्चको कदमलाई स्वागत गर्दै पार्टी एकता गर्नका लागि महन्थ–राजेन्द्र समूहलाई ढोका खुल्लै छाडेको बताए । यद्यपि महन्थ–राजेन्द्र समुहले भने हालसम्म पार्टी एकताका बारेमा कुनै धारणा सार्वजनिक गरेको छैन ।

जसपाका नेता एकले अर्कोलाई गरेको कारबाही निर्वाचन आयोगले अस्वीकार गर्नु र मंगलबार प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सामेल भएका जसपाका ११ मन्त्रीहरूलाई मदमुक्त गर्नुले जसपा एक हुने सम्भावना नजिकिएको छ । तर, जसपाका एक समूहले अर्को समूहसँग एकता गर्नसक्ने सम्भावना भने न्यून छ ।