• मंसिर १५ २०८१, शनिबार

गठबन्धनलाई दरो बनाउदै ‘प्रतिगमन’विरुद्ध थप सशक्त भएर उत्रिने विपक्षी पाँच दलको निष्कर्ष

असार ९ २०७८, बुधबार

काठमाडौं । बूढानीलकण्ठमा बसेको विपक्षी पाँच दलको बैठकले गठबन्धनलाई दरो बनाएर लैजाने तथा ‘प्रतिगमन’विरुद्ध थप सशक्त भएर उत्रिने निष्कर्ष निकालेको छ ।

कांग्रेस सभापित शेरबहादुर देउवा निवासमा बसेको सो बैठकले सरकारका ‘असंवैधानिक कदम’विरुद्ध थप सशक्त भएर उत्रिने निष्कर्ष निकालेको बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका हुन् ।

उनले भने,‘बैठकमा गठबन्धनलाई दरो बनाएर लैजाने र प्रतिगमनविरुद्ध खरो उत्रिने निर्णय भएको छ ।’

बैठकमा सहभागी एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले गठबन्धनलाई थप मजबुत बनाएर लैजानुपर्ने बताएको अध्यक्ष यादवले जानकारी दिए ।

नेता नेपालको भनाई उद्दृत गर्दै अध्यक्ष यादवले भने,‘माधवकुमार नेपालले समेत सहकार्य जारी रहने र केपी ओलीसँग कुनै पनि अबस्थामा सहकार्य नहुने अबस्था बनेको बताउनुभयो ।’

बैठकमा मंगलबार सर्वोच्च अदालतले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर, प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहस लगायत पछिल्ला विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रमाचन्द्र पौडेल सहभागी थिए । त्यस्तै माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै नेता देव गुरुङ, जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

नेकपा एमालेबाट निष्कासित नेता नेपाल सँगै नेता भीम रावल समेत बैठकमा सहभागी थिए ।