काठमाडौं । यसवर्षको एसईईको नतिजा सार्वजनिक नहुँदै निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्ना लिन थालेका छन् । गतवर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थीको परीक्षासमेत नसकिएको अवस्थामा आफ्ना शिक्षण संस्था प्रवद्र्धन गर्ने उद्देश्यले ती विद्यालयले भर्ना लिन थालेका हुन् ।
उनीहरूले प्रि–रजिस्ट्रेसन र छात्रवृत्तिका लागि भन्दै अनलाइन परीक्षासमेत सञ्चालन गरेका छन् । भित्रभित्रै प्रवेश परीक्षा नै लिएर विद्यार्थी भर्ना गर्न थालेको अभिभावकहरू बताउँछन् ।
‘के आधारमा कुन विषय पढ्न रजिस्ट्रेसन गर्ने ? कुन आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने ?’ अभिभावक राजेन्द्र सापकोटाले भने, ‘यो त सरासर अवैध काम भइरहेको छ । विद्यार्थी, अभिभावकसँग पैसा असुल्ने स्कुलहरूको धन्दा फेरि सुरु भएको छ ।’ शिक्षाविदहरूले पनि कक्षा ११ मा नतिजाअगावै भर्ना खोलेर मनोमानी गरिएको बताए ।
यस्ता गतिविधिले शैक्षिक प्रणालीमा नै असर गर्ने उनीहरूको भनाइ छ । ठूला र नाम चलेका विद्यालयले नै प्रि–भर्ना र रजिस्ट्रेसनको अगुवाइ गरेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय (हिसान) का पदाधिकारीहरू सञ्चालक रहेका विद्यालय नै विद्यार्थी भर्ना लिन तँछाडमछाड गरिरहेका छन् ।
गतवर्ष नतिजा आउनु पहिल्यै विद्यार्थी भर्ना लिने विद्यालय यसपटक पनि सक्रिय देखिन्छन् । शिक्षा मन्त्रालय र स्थानीय तहले मनोमानी गर्ने शिक्षण संस्थालाई नियमन र कारबाही गर्न नसक्दा हरेक वर्ष विद्यार्थी–अभिभावकलाई अन्योलमा पार्ने र जथाभावी शुल्क असुल्ने प्रवृत्ति दोहोरिँदै आएको छ ।
हिसानका अध्यक्ष रमेश सिलवाल सञ्चालक रहेको गोल्डेनगेट इन्टरनेसनल कलेजले विज्ञान, व्यवस्थापन र मानविकी विषयमा अनलाइन रजिस्ट्रेसन खुलाएको छ । महासचिव लोकबहादुर भण्डारी सञ्चालक रहेको जेभियर इन्टरनेसनल स्कुलले पनि विद्यार्थी भर्ना खोलेको छ ।
‘अहिले हतार गरेर विज्ञान विषयमा रजिस्ट्रेसन गरौंला भोलि एसईईको नतिजा सोचे जस्तो नआए फेरि कुन कलेज खोज्दै हिँड्ने ?’ विद्यार्थी भुवन पन्तले भने, ‘चुप लागेर बसौं सबै आफूले पढ्छु भनेको कलेजको सिट संख्या भरिएला ।’
शिक्षण संस्थाहरूले आफूखुसी भर्ना प्रक्रिया अघि बढाउँदा विद्यार्थीहरू दुविधामा फसेको उनले गुनासो गरे । सरकारसँग नजिक रहेका अगुवा शिक्षण संस्थाले नै बदमासी सुरु गरेपछि उनीहरूको सिको गर्दै काठमाडौं उपत्यकाका अन्य दर्जनौं स्कुलले पनि भर्ना आह्वान गरेका छन् ।
नेसनल स्कुल अफ साइन्स (निष्ट), साउथ वेस्ट्रन स्टेट कलेज, युनिग्लोब्स कलेज, जेभिएर एकेडेमी, काठमाडौं ओल्ड स्कुल, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर, सेन्ट लरिएन्स कलेज, द टाइम्स इन्टरनेसनल कलेजलगायतले रजिस्ट्रेसनका लागि सार्वजनिक सूचना नै जारी गरेका छन् ।
शिक्षाविद विनय कुसियतले व्यापार र नाफामुखी निजी विद्यालयले शैक्षिक गतिविधिलाई आफू अनुकूल प्रयोग गर्दै आएको बताए । कक्षा ११ मा बेमौसमी भर्ना खोलेर व्यापारमा प्रश्रय दिन लागेको उनको भनाइ छ । ‘कक्षा १–१२ विद्यालय शिक्षा भएकाले एसईई र कक्षा ११ भर्नाको पहिलो जस्तो तामझाम गर्नुको औचित्य नै छैन,’ उनले भने, ‘यस्ता काम सरकारले रोक्न सक्नुपर्छ, विद्यार्थी–अभिभावक पनि सचेत हुनुपर्छ ।’
सरकारले विद्यालय शिक्षाको प्रणालीगत त्रुटि सुधार गर्न नसक्दा पनि निजी शिक्षण संस्थाले फाइदा उठाइरहेको कुसियतले प्रस्ट्याए । ‘एसईई खारेज गर्नुपर्छ, त्यसपछि कक्षा ११ को भर्नाको यस्ता गतिविधि स्वतः रोकिन्छ,’ उनले थपे, ‘१२ कक्षासम्म विद्यालय शिक्षा भनेपछि ८ कक्षा पास भएर ९ मा भर्ना हुनु र १० पास भएर ११ मा भर्ना गर्नु उस्तै हो, कुनै अन्तर छैन ।’
आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।