• मंसिर ११ २०८१, मंगलवार

भारतीयलाई दबाउन अंग्रेजलाई सघाए वापत उपहार पाएका ४ जिल्ला, अर्थात् ‘नयाँ मुलुक’

असार ८ २०७८, मंगलवार

विस १९१४ सालमा हालको भारतको सुगौलीमा भएको नेपाल–अंग्रेजबीचको सन्धिमा नेपालले गुमाएकोमध्ये हालको पश्चिम नेपालका ४ जिल्लाहरु बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई पछि फिर्ता गरिएको हो । यसरी त्यो भूमी फिर्ता हुनुमा बेग्लैखाले इतिहास रहेको छ । अंग्रेजबाट फिर्ता आएको भूमिलाई ‘नयाँ मुलुक’ भनिन थालियो ।

भारतीय सिपाही विद्रोह

वि.स १९१४ साल (सन १८५७) मा भारतमा शासन गरिरहेको इष्टइण्डिया कम्पनी सरकार विरुद्घ भारतका सिपाहीहरु, राजा–रजौटा र जनताहरूले ठूलो विद्रोहको सुरुवात गरेका थिए । भारतमा त्यतिबेला झण्डै ५० वटा सानासाना राज्यहरु रेको बताइन्छ । अंग्रेजको शासनबाट भारतीयहरु आजित त भएका थिए नै, त्यसमा पनि अंग्रजहरूले हिन्दु र मुसलमानहरुको धर्म नै नास गरिदिन लागेको भन्दै भारतीयहरु अंग्रेजलाई लखेट्ने तयारीमा थिए ।

भारतीयको संस्कृति मास्ने षडयन्त्र अनुसार अंग्रेजी सेनामा कार्यरत भारतीय हिन्दु र मुस्लिम सेनाले राइफलमा गोली लोड गर्नु अघि गोलीको सील दाँतले टुटाउनु पर्ने नियम बनाइएको थियो । सील गाईको छालाको हुन्थ्यो भने सील भित्र सुँगुरको बोसो राखिएको हुन्थ्योे । हिन्दुहरु गाईको मासु खाँदैनथे भने मुसलमानहरू सुँगुरको मासु खाँदैनन् ।

अंग्रजहरूहरु यो दुवै चीज राइफलको गोलीद्वारा आफ्ना सेनामा रहेका हिन्दु र मुस्लिम सेनालाई खुवाएर उनीहरूलाई कृश्चियन बन्न दवाव दिइरहेका थिए । तर यस कुराको सर्वत्र घोर निन्दा भयो । यसको विरोध स्वरुप मंगल पाण्डे भन्ने एकजना भारतीय अंगे्रज सिपाहीले आफ्ना अंगे्रज कमाण्डरलाई गोली हानी मारिदिएपछि इष्टइण्डिया कम्पनी सेनामा ठूलो खैलबैैला मच्चिएको थियो । भारतमा थोरै दिन भित्रै अ‍ैग्रेज विरोधी विद्रोहले विशाल रुप लियो ।

यो विद्रोहको सुरुवात भारतको मेरठ शहरबाट भएको थियो । विद्रोहको नेतृत्व तत्कालिन मराठा पेशवा (राजा) नाना साहेवले गरेका थिए । विद्रोहले विशाल रुप लिएपछि निर्णायक जीतका लागि उनले नेपाल सरकारसँग अंग्रेज  विरुद्धसैनिक सहायता मागेका थिए । त्यस्तै लखनउका नवाव राजाले पनि नेपाल सरकारसँग अंग्रेज विरुद्घ सैन्य सहयोग मागेका थिए ।

तर नेपालका प्रधानमन्त्री समेत रहेका श्री ३ सरकार जंङ्गबहादुर राणा भने अन्दोलनकारीलाई सहयोग नगरी भारतमा अंग्रेज विरुद्घ भएको शसस्त्र जनअन्दोलन दवाउन अंग्रेजहरुलाई सैन्य सहयोग गर्न चाहन्थे । यसका धैरै कारणहरु थिए ।

पहिलो, त्यतिबेलाको पुरै विश्वको शक्तिशाली राष्ट्र ग्रेट ब्रिटेनबाट आफ्नो सरकारलाई मान्यता दिलाउन चाहन्थे ।

दोश्रो, ब्रिटिस सरकार निकै शक्तिशाली भएको र विद्रोहीहरूको विजय नहुने सम्भावना देखेकोले ब्रिटिस सरकारसँग जंगबहादुर घनिष्ठता बढाउन चाहन्थे ।

यसका अलावा अंग्रेजहरूलाई सहयोग गर्न चाहनुका पछाडि अन्य कारणहरु पनि थिए । उनले काठमाडौंस्थित ब्रिटिस रेजिडेन्टसँग विद्रोह दबाउन नेपाली सेना पठाउने अग्रिम प्रस्ताव पेश गरे । रेजिडेन्टले यो प्रस्ताव स्वीकार गरी आफ्ना भारतस्थित गभर्नर जनरललाई पत्राचार गरेका थिए । तर गभर्नर जनरल lord canning ले नेपाली सेना हिन्दु भएको र यसले कम्पनी सरकारलाई सहयोग नगरी विद्रोहीहरूसँग मिली उनीहरूलाई सहयोग गर्न सक्ने सम्भावनाको शंकागरी यो प्रस्ताव अस्वीकार गरिदिएका थिए ।

अर्को कुरा के थियो भने सन् १८४८ मा भएको  अंग्रेज–सिख युद्घमा पञ्जाबकेशरी महाराजा रणजीत सिंहको पराजयसँगै मृत्यु भएपछि उनकी विधवा रानी चाँद कवरलाई अंग्रेजहरूले ऐतिहासिक चुनारगढ किल्लामा कैदगरी राखेका थिए । तर उनी उक्त किल्लाबाट भाग्न सफल भइन् । उनी जोगीनीको भेष धारण गरी नेपाल आइन् र नेपाल सरकारसँग राजनीतिक शरण मागिन् । नेपाल दरवारमा खैलाबैला मच्चियो । शरण दिएमा पछि अंग्रेजहरु रिसाउने, शरण नदिए हिन्दु धर्मको राजधर्म अनुसार एक अवला स्त्रीलाई शरण नदिएको पाप लाग्ने ।

आखिरकार जंगबहादुरले रानी चाँद कवरलाई राजनीतिक शरण दिएका थिए । कम्पनी सरकारले चाँद कवरलाई फिर्ता पठाइदिन अनुरोध गर्योे तर जंगबहादुरले आफू हिन्दूराजा भएकोले शरणको मरण गर्न नसक्ने भनि अस्वीकार गरिदिएका थिए । यसकारण पनि canning ले नेपालसँग विश्वास गर्न नसकेर यो प्रस्ताव अस्वीकार गरिदिएका थिए । जंगबहादुरले प्रस्ताव पठाई रहे । canning ले अस्विकार गरिरहे । यो क्रम धैरै पटक चलेको थियोे भन्ने इतिहास छ ।

सैन्य सहायता माग

जुलाई १८५७ मा भारतीय अन्दोलनकारीले गोरखपुरदेखि उत्तर भारतका लखनऊ लगायतका धैरैजसो शहरहरु कब्जा गरी सकेपछि  अंग्रेजहरु आत्तिए । भारतीय अंग्रेज सेना त्यहाँको जनविद्रोह दवाउन पूर्ण असफल भएपछि मात्रै प्रयोगात्मक रूपमा lord canning ले विद्रोह दबाउन नेपाल सरकारसँग औपचारिक सैन्य सहायता मागे । तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले पहलवान सिंह बस्नेतको नेतृत्वमा तुरन्त ३०० जना सेना भारत तर्फ पठाए ।

त्यसपछि ३–४ सयको दरले सेना भारत पठाउँदै रहे । यो सेनाले उत्तर भारतका धेरै शहरहरूमा विद्रोहीसँग कडा संघर्ष गरी उनीहरुले कब्जा गरेका शहरहरु आफ्नो नियन्त्रणमा लियो । त्यसपछि मात्रै अंग्रेजहरुलाई नेपाल सरकार प्रतिपूर्ण विश्वास भएको थियो । निरास भएर भारत छोड्ने मनस्थिति बनाइसकेका अंगे्रजहरूले अति नै खुशी भई नेपाल सरकारसँग पुनः ठूलो दलबल लिई गोरखपुर कब्जा गरिदिन अनुरोध गरे ।

महाराजको कमाण्ड

१० दिसम्बर १८५७ मा जंगबहादुर राणाले आफ्नै कमाण्डमा ९,००० सेनाको विशाल फौज लिई काठमाडौंबाट गोरखपुरका लागि प्रस्थान गरे । ६ जनवरी १८५८ उनी गोरखपुर पुगे । नेपाली फौजले १५–२० दिन भित्रै गोरखपुर कब्जा गरे । अंग्रेज सेनाको सहायताका लागि केही सेना त्यहीँ छाडेर बाँकी सेनाका साथ उनी अम्बरपुरतिर लागे । अम्बरपुर कब्जा गरिसके पछि त्यहाँबाट सानातिना किल्लाहरु कब्जा गर्दै उनी ११ मार्च १८५८ मा उनी लखनऊ आइपुगे ।

लखनऊमा नेपाली–अंग्रेज सेनाको संयुक्त फौजले विद्रोहीलाई त्यहाँबाट लखेटेका थिए । जंगबहादुर नेतृत्वको नेपाली सेनाले जौनपुर, आजमगढ, मुवारकपुर, कुण्डिया, चण्डा, बदलपुर, हमिरपुर, सुल्तानपुर, सोनपुर बरसतपुर, बादशाहगंज, लखनऊ आदि ठाउँमा विद्रोहिहरूसँग भिषण संघर्ष गरी विद्रोही हरूलाई पराजित तुल्याएको थियो ।

लखनऊ लुट

नेपाली सेनाले लखनऊको बेगमकोठी, आलमबाग, छतरमंजिल, मोतिमहल, केशरबाग, ताराकोठी र मुसाबागमा ठूलो लुट मच्चाएका थिए भन्ने इतिहास छ । केशरबागमा त प्रसस्त हीरामोति, जवाहरत र सुनचाँदी फेला परेको थियो । जवाहरत र मोतीको महत्व नबुझेका नेपाली सेनाले जवाहरत र मोतीको हार फोडेर त्यसमा उनिएको सुनको धागो मात्रै लिएर आएका थिए ।

सुनभन्दा कैयौं गुना महंगो जवाहरत र हीरामोती चिन्न नसकेर फ्याँकिदिएका थिए भन्ने इतिहास पनि छ ।
भारतीय जनताले अंग्रेज विद्रोह समाप्त भएपछि जंगबहादुर २३ मार्च १८५८ मा इष्टइण्डिया कम्पनीका गभर्नर जनरल  canning लाई भेट्न इलाहावाद गएका थिए । त्यहाँ ४ दिन बसी बनारसहुँदै ४ मे १८५८ मा जंगबहादुर काठमाडौं आइपुगेका थिए । नेपाली सेनाको सहयोगमा यो भिषण विद्रोह दमन भएपछि भारतलाई स्वतन्त्र हुन थप ९० वर्षअरु लागेको इतिहास छ ।

सम्झौता

यो विजयबाट अत्यन्तै खुशी भई ब्रिटिस सरकारद्वारा जंगबहादुरलाई सन् १८५९ मा  grand cross of the order नामक तक्मा प्रदान गरिएको थियो । आपतको समय मद्धत गरेवाफत नेपाललाई स्थायी उपहार दिने lord canning को चाहना अनुसार निजले सुगौली सन्धिद्वारा नेपालले गुमाएका ४ जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गर्न होम डिपार्टमेन्ट मार्फत् इष्टइण्डीया कम्पनीका डाइरेक्टरलाई सिफारिस गरेका थिए । सन् १ नोभेम्वर १८६० मा ब्रिटिस सरकार र नेपाल सरकारका बिचमा restoration treatty नामक सन्धी भयो ।

यो सन्धी अनुसार सुगौली सन्धिमा नेपालले गुमाएका पश्चिमी नेपालका ४ जिल्लाहरू बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गरिएको थियो । अंग्रेजबाट फिर्ता आएको भूमिलाई ‘नयाँ मुलुक’ भन्न थालियो । नयाँ मूलुक अन्तरगत पर्ने पूर्वको राप्ती नदि र पश्चिमको महाकाली नदिबिचको भूभागमा निकै ठूलो घनाजंगल थियो ।

विश्व प्रसिद्ध चारकोशे झाडी यसै जंगल भित्र पर्दथ्यो । आजभन्दा १५५ वर्ष अगाडि यहाँ बस्ति थिएन । यो दक्षिण एसियाकै प्रसिद्ध शिकारगाह पनि थियो । यो जंगलमा शिकार खेल्न नेपाल सरकारका तत्कालिन श्री ५ महाराज धिराज, श्री ३ महाराज र निजका भाई भतिजा र राजकुमारहरु र उच्चपदस्थ सैनिक कर्मचारीहरु आउने गर्दथे । ब्रिटेनका राजकुमार प्रिन्स अफ वेल्सले पनि यहाँ सिकार खेल्न आएकोे इतिहास पाइन्छ ।

इष्टइण्डिया कम्पनी सरकारसँग नेपालको विस १९७७ अथवा सन् २३ अगस्त १९२० मा शारदा सिंचाई परियोजना सम्बन्धि सम्झौता भयो । त्यतिबेला नेपालका प्रधानमन्त्री चन्द्रसमशेर थिए । ८ वर्ष लगाएर निर्माण सम्पन्न भएको शारदा बैराज र नहरको उद्घाटन विस १९८५ (११ दिसेम्वर १९२८) मा तत्कालिन अंग्रेज सरकारका भारतस्थित विशिष्ट अधिकारी सर मल्कोन थैलिसले गर्नु भएको थियो । यो नहर बनाउँदा तत्कालिन अंग्रेज सरकारका प्रमुख इन्जिनियर मिष्टर एफएफ बैन र मिष्टर बिडीओडारले यहाँ काम गरेका थिए ।

नहर निर्माण गर्दा नहरको पूर्वमा पर्ने नेपालको भूमि प्रयोग गर्नुपर्ने बाध्यता भएकोले अंग्रेज सरकारले मोरु ५०,००० (पचास हजार) नेपाललाई क्षतिपूर्ति दिएको थियो । शारदा ब्रिज र नहरको निर्माण सुसम्पन्न भइसके पछि अंग्रेजहरुलाई भारतमा थप रेलवे लाइन विस्तारका लागि रेलवे पटरी मुनि विछ्याउन सालको काठको जरुरत थियो, जो नेपालको यसै भूभागमा अकुत रूपमा उपलब्ध थियो । नेपालका प्रधानमन्त्रीहरु पनि नयाँ मुलुकको जंगललाई फडानी गरी बस्ती आवाद गर्न चाहन्थे । कारण उतिबेलाको राज्य कोषको मुख्य आम्दानी भनेकै जग्गाबाट प्राप्तहुने लगान (मालपोत) थियो । जो अहिलेको अनुपातमा निक्कै चर्को हुने गर्दथ्यो ।

विस १९८५ मा कोइलर भन्ने एक  अंग्रेज ठेकेदारलाई श्री ३ चन्द्रशमशेर जवराले नयाँ मुलुकको जंगलको फडानी गर्ने अख्तियारी दिए । यो अख्तियारी पाएपछि कोइलरले कञ्चनपुरको झलारीको उत्तरमा पर्ने स्टेसनपुर र कैलालीको गौरीफन्टा नाकाहुँदै चौमालासम्म रेल सेवा विस्तारगरी यहाँको धेरै काठ भारततर्फ लग्यो । नयाँ मुलुकमा जंगल फडानी भएसँगै रस्तीबस्ती आवाद हुनेक्रम पनि बढ्दै गयो ।

बस्ति बसाउने काम गर्नेलाई जिमीदार पदवी दिइयो । जिमदारले आफ्नो ईलाकाबाट लगान वा मालपोत उठाई निर्धारित समयमै ९५ प्रतिशत रकम नेपाल सरकारलाई बुझाउनु पर्दथ्यो । नेपाल सरकारबाट निजले उठाएको कुल मालपोतको ५ प्रतिशत निज लाई नै पारितोसिक उपलब्ध गराइन्थ्योे । १९३० पछि भारमा अंग्रेज  विरुद्धको जन अन्दोलन झन–झन तिब्रहुँदै गयो ।

भारत स्वतन्त्रतापछि

भारतीय आन्दोलनकारीहरूबाट अंग्रेजले हार खानु परेपछि विस २००४ साल तदनुसार (१५ अगस्त १९४७) मा अंग्रेजहरु भारत छोड्न बाध्य भए । तिनै कोइलर भन्ने अंग्रेज ठेकेदारले जंगल फडानी गरी बस्तियोग्य बनाएको भूभागबाटै कैलाली र कञ्चनपुरमा मानव बस्तीको सुरुवात भएको पाइन्छ । सर्वप्रथम राना समुदायले भारतका उत्तरी जिल्लाहरूबाट कञ्चनपुरहुँदै त्यहाँबाट नयाँ मुलुकका अन्य भागमा प्रवेशगरी बस्ती बसाले । पछि दाङ जिल्लाबाट थारु, राजी, र कठरिया समुदायहरु बाँके, बर्दिया र कैलालीतिर बसाई सर्दै आए ।

पहाडी जिल्लाहरूबाट पहाडीयाहरूको पनि आगमनको क्रम सुरुभयो । डोटी बोगटान निगाली गाउँका ठकुरी बाबुसाई कृतिसिं बोगटी रजवार कैलालीको हँसुलिया क्षेत्रमा आइ यहाँ बसोबास गर्ने पहिलो पहाडीया जिमदार बनेका थिए । सुरुसुरुमा पहाडीहरु ६ महिना हिउँदमा मात्रै यहाँ आई आफ्ना गाईभैँसीहरु चराउने गर्थे । चैत्र लागेपछि गर्मी र औलोको डरले पहाड फर्कन्थे ।

तर दाङ जिल्लातिरबाट सर्दै आएका थारु (चौधरी)हरु र उत्तर भारतबाट आएका रानाहरु भने यहाँ स्थायीरूपमा रहे । कालान्तरमा औलो र मलेरीया रोगको स्थायी उपचार पत्ता लागेपछि पहाडी समुदायले पनि नयाँ मुलुकमा स्थायीरूपमा बसोबासको सुरुवात गरेको पाइन्छ ।