चार दिनसम्म भर्चुअल रुपमा सञ्चाल भएको नेपाल–अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा जुलुङ्गो (स्केरक्रो)ले लघु फिल्मतर्फको उत्कृष्ट जुरी अवार्ड जितेको छ । फिल्म राजेशप्रसाद खत्रीले निर्देशन गरेका थिए । त्यस्तै लघु फिल्मतर्फ कै प्याट हेवुड र जेमिल मेगिनिसको चलचित्र ‘ग्रामर्सी’ले पनि अवार्ड हात पारेको छ ।
सोमबार सम्पन्न महोत्सवमा रामदास कदावल्लुरको फिल्म ‘मन्नु, स्प्राउट्स अफ एन्डुरेन्स’ ले स्पेसल जुरी मेन्सन अवार्ड पाएको छ । त्यस्तै सोफिया अलावीको फिल्म ‘सो ह्वाट इफ गोट्स डाइ’ ले पनि स्पेसल जुरी मेन्सन अवार्ड प्राप्त गरेको छ ।
उत्कृष्ट एक्सपेरिमेन्टलको जुरी अवार्ड लोरी फेल्करकको ‘स्पोटेनस’ ले प्राप्त गरेको छ । त्यस्तै उत्कृष्ट फिचर फिल्मको जुरी अवार्ड ‘आइएम सफोकेटिङ, दिस इज माइ लास्ट फिल्म अबाउट यू’ ले हात पारेको छ ।
लेमोह्याङ जेरिमाया मोसेजद्धारा निर्देशित यही फिल्मले महोत्सवमा ग्रान्ड जुरी अवार्ड प्राप्त जितेको छ । आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीका अनुसार महोत्सवमा नेपाल लगायत १४ देशका ३० वटा चलचित्र निःशुल्क रुपमा प्रदर्शन गरिएको थियो ।
‘कोभिड महामारीका बाबजुद हामीले भर्चुअल्ली भएपनि फेस्टिभल सफल गराएका छौं । दर्शक, चलचित्रकर्मी र कलाका प्रेमीहरुबाट राम्रो प्रतिक्रिया मिलेको छ,’ उनले भने । प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो ।
महोत्सवको निर्णायक मण्डलमा रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमान्ते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब थिए । कोरोना महामारीका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो ।