• मंसिर ११ २०८१, मंगलवार

पृथ्वीनारायणका पालादेखि विषे नगर्चीका सन्तानले बजाउँदै आएको नेपालकै ठूलो नगरा

असार ६ २०७८, आईतवार

काठमाडौँ । दुईसय वर्षभन्दा बढी समयदेखि संघीय राजधानी काठमाडौँको मुटु हनुमान ढोका दरवार क्षेत्रमा हरेक बिहान ९ बजे दुईवटा नगरा पालैपालो बज्ने गर्छन् । दुई सताब्दी पहिलेको यो संस्कृति धानेर नगरा बजाउने काम आजभोलि एक युवाले सम्हाल्दै आएका छन् ।

हनुमान ढोका दरवार क्षेत्रको सेरोफेरोमा रहेका यी नगरा कालभैरवको विशाल मूर्तिको बाँयापट्टी दुई कदम अगाडी जाने हो भने एउटा सानो घरमा पहिलो तलामा जोडी बाँधेर बसेका देखिन्छन्, ती दुई ठूला नगरा । ती नगरा कुनै सामान्य नगरा नभएर नेपालमा एउटा रेकर्ड कायम गरेर नेपाली संस्कृतिलाई समृद्ध बनाउँदै करिव दुई सयवर्ष भन्दा बढी पहिलेदेखि रहँदै आएका नगराको रुपमा चिनिएका छन् । जुन नगरा नेपालका सबैभन्दा ठूला नगरा भनेर समेत चिनिने गर्छन् । र हरेक दिन ती नगरालाई पालैपालो गजा हानेर बजाउने युवा भने काठमाडौँ महानगरपालिका वडा नम्बर १९ निवासी नगर्ची सुमन परियार हुन् ।

नगराको इतिहास

इतिहासकार यादव देवकोटाका अनुसार ती दुई ठूला नगरा राजा रणबहादुर शाहको पालामा बनाएर राखिएका हुन् । अर्कातिर भने नेपालका सबैभन्दा ठूला भनेर चिनिएका ती जोडी नगरा कहाँ, कहिले, कसरी बने भनेर कुनै एकिन तथ्य कसैको जानकारीमा नभएको भएपनि नेपाल एकिकरणका नायक पृथ्वी नारायण शाहका हजुरबुवा छत्र शाहले लमजुङ गएर गोर्खा फिर्ता हुने बेला हात्तीमा बोकाएर आफ्नो दरवारमा भित्र्याएको चित्र गोर्खा दरवारमा देखेको नगर्ची सुमन परियारकी बहिनी तथा युनेस्कोमा आवद्ध रञ्जिता परियारले बताइन् ।

पछि पृथ्वीनारायण शाहले काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्ललाई हराएर काठमाडौँ समेत जितेपछि गोर्खा दरवारबाट ती जोडी नगरा फेरि हात्तिमै चढाएर बाजागाजा सहित आउँदा काठमाडौँ ल्याएका हुन् । काल्पनिक कुरा भन्दा इतिहासकार यादव देवकोटाको तथ्य अनुसार राजा रणबहादुर शाहको राज्यकालमा एउटा बहादुर शाहले आफू नायवी भएको मौका पारेर स्थापना गरेका हुन् भने अर्को राजा रणबहादुर शाहले आफनै सक्रियतामा स्थापना गरेका थिए ।

देवकोटाका अनुसार त्यो समयमा गोर्खाका कुनैपनि राजाहरुसँग हात्ती भएको कुरा इतिहासमा देखिएको छैन भने नगर्ची सुमन परियाका बुवा नगर्ची वासुदेव परियारले कल्पिए अनुसार ती जोडी नगरा गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौँ  जितेपछि गोर्खाबाट अरु समान काठमाडौँ ल्याउने क्रमसँगै फेरि लमजुङबाट प्राप्त ती दुई नगरा काठमाडौँ ल्याएको हुनसक्छ । जहाँ जसरी ती दुई नगरा त्यहाँ भएपनि ती नगरा बजाउन थालिएको भने राजा गिर्वाणयुद्ध विक्रम शाहको पालामा वि.स.१८६४ देखि यसरी बिहान बिहान बजाउन थालिएको हो ।

किन र कतिचोटी बजाइन्छ नगरा ?

हरेक दिन बिहान ठिक ९ बजे जोडी नगरा बजाउने गरिन्छ । राजा प्रताप मल्लको नमस्ते गरेर दक्षिणतिर फर्किएको मूर्तिको अगाडी रहेको दिगु तलेजु मन्दिरको नित्य पूजाको समयमा यी दुई नगरा बजाउँदै आइएको छ । नित्य पूजा सुरु भएपछि मन्दिर अगाडी रहेको नेपालकै सबैभन्दा ठूलो घण्टा बज्ने र त्यसपछि सँगै नगरा बजाउने गरिएको नगर्ची सुमनले जानकारी दिए । उनका अनुसार तलेजु नाम आउन बित्तिकै मानिसहरुले हनुमानढोका दरवारको उत्तरपट्टी रहेको बडादशैंको नवमीको दिन खुल्ने मन्दिर भनेर सम्झिन्छन् तर जोडी नगरा बजाउने मन्दिर त्यो नभएर दिगु तलेजु मन्दिरको नित्य पूजाको लागि हो ।

हनुमान ढोका दरवारभित्र रहेको दाख चोकबाट दिगु तलेजु मन्दिर जाने द्वार रहेको जानकारी नगर्ची सुमनले दिए । यसरी नगरा बजाउदा हरेक नगरामा १०८ पटक मात्रै गजाले हानेर नगरा बजाउने चलन रहेको र आफूले त्यसै गर्ने नगर्ची सुमनले बताए । तत्कालिन समयमा मानिसहरुसँग समय हेर्ने अहिलेका जस्ता विभिन्न साधनहरु उपलब्ध नहुने भएकोले मात्रै होइन संचारका अरु साधन समेत नभएको त्यो अवस्थामा महत्वपूर्ण समय घडी र सरकारका विभिन्न सन्देश र निर्णयहरुप्रति मानिसहरुको ध्यानाकर्षण गराउन यी नगरको भूमिका हुनसक्ने विज्ञहरुको आँकलन देखिन्छ ।

कसले बजाउँछ नगरा ?

नेपाल एकिकरणको समयमा राजा पृथ्वीनारायण शाहलाई महत्वपूर्ण सहयोग गरेर एकिकरणको महाअभियानमा अहम् भूमिका खेलेका विषे नगर्चीको बारेमा धेरैजसोलाई जानकारी नै छ । नगर्ची परियार (दमाई) भित्रको एक थर रहेछ । पृथ्वी नारायण शाहको पालामा (बँधुवा) विषे नगर्चीले यस्ता नगरा बजाउने काम गरेको वासुदेव बताउछन् । यी दुई नगरा पनि नगर्चीहरुलाई नै बजाउन राजाहरुले जिम्मा दिएको हुनाले आफूहरुले यो बजाउँदै आएको सुमन बताउाछन् ।

उनै विषे नगर्चीको दर सन्तान भएकोले आफूहरुले यी नगरा अहिले पनि बजाउँदै आएको वासुदेव र सुमन बाबुछोराको भनाई रहेको छ । आफ्नो पुर्खालाई राजा गिर्वाणयुद्ध विक्रम शाहको पालामा ताम्रपत्रमा नगरा बजाउनु भनेर लेखेर दिएको रञ्जिता परियार (नगर्ची)ले बताइन् । नगरा सहित अरु पञ्चे बाजाहरु मिलेर उतिबेला बजाउने गरिएको भएपनि अहिले अरु बाजाहरु संरक्षण नहुँदा लोप भएकोमा वासुदेवले चिन्ता व्यक्त गरे ।

नगरा बजाउन रोकिएको समय

यसरी २१४ वर्षदेखि लगातार हरेक दिन नगरा बजाउँदै आइएको भएपनि बीचमा दुई वर्ष नगरा बजाउन भने रोकिएको रहेछ । वि.स. २०६२ सालमा नगरा राखिएको घर पुरानो (जिर्ण) भएर भत्किएकोले सो घर पुननिर्माण हुञ्जेल झण्डै १ वर्ष र वि.स २०७२ सालको भूकम्पमा परेर सँगै रहेको कृष्ण मन्दिर ढलेर नगरा राखिएको घर पनि भत्किएको हुनाले सो समयमा पनि नगरा राख्ने घर निर्माण हुञ्जेलको झण्डै १ वर्ष नगरा बजाउने काम रोकिएको रहेछ । त्यस बाहेक कोरोना महामारी भने हरेक दिन ठिक समयमा जोडी नगरा बजिरहेकै छन् ।

नगरा बजाउनेका दुःख

समाजमा हरेका काम गर्नेहरुले उचित पारिश्रमिक पाएको देखिन्छ । समाजसेवा गर्छौं भनेर भन्नेहरुले समेत आफूलाई सेवा खर्च राखेर अरुलाई सेवा गरेको हाम्रो देशमा देखिन्छ । अझ कोही कोहीले त समाजसेवा गर्छौं भनेर समाजसेवाको नाउँमा आफ्नो र आफ्नै परिवारको मेवा भरिरहेको समेत देखिन्छ तर यसरी सताब्दीऔं देखि परम्परा र संस्कृति थामिरहेको काठमाडौँको ती नगरा बजाउने नगर्चीहरुलाई भने कसैले केही पनि नदिँदो रहेछ । हाल गुठी संस्थानबाट नियुक्ति लिएर नगरा बजाइरहेका नगर्ची बाबुछोरा वासुदेव, सुमन र उनको परिवार संस्कृति धान्ने नाममा बिना पारिश्रमिक यो काम गरिरहेको बताउँछन् ।

पैसाको नाममा काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने चैते दशैंमा २० हजार र वडादशैंमा २५ हजारले त्यहाँ बली चढाउने र पूजा गर्ने राँगा किन्न समेत नपुगेको उनीहरुको दुखेसो रहेको छ । हरेक पूजा गर्दा विधि पुरा गरेर नगरा बजाउनुपर्ने भएपनि आर्थिक अभावका कारण आजभोलि केवल अगरबत्ती मात्रै बालेर नगरा बजाउनु पर्ने बाध्यता रहेको उनीहरुले बताए । विभिन्न तिथिमितिहरुमा सामान्य पूजा गर्नुपर्दा कम्तिमा पनि २५ सय चाहिने तर यो काम गर्न कसैले आर्थिक जोहो नगरिदिएको उनीहरुको भनाई छ ।

इन्द्र जात्राको समयमा कुमारी गणेश भैरबको जात्राको दिन(पूर्णिमाको भोलिपल्ट) नगराको तर्फबाट लिएर जाने भाग (समयवजी भाग)को समेत कसैले खर्च उपलब्ध नगराइदिँदा उनीहरुलाई पर्नु पिर पर्ने रहेछ । यसरी नगरालाई कुनै व्यवस्थापन नहुने हो भने आउने पुस्ताले यसरी निःशुल्क काम गर्ला या नगर्ला नगर्चीहरु शंका व्यक्त गर्छन् । यी समस्याहरु त छँदैछन् । अझ हनुमान ढोका दरवार वरिपरी घरवार विहीन हौँ भनेर बस्नेहरुले समेत नगराघर वरिपरी र अरु मन्दिरको वारिपरी दिसा पिसाब गरेर नगरा घर र मन्दिरहरुलाई सार्वजनिक खुल्ला शौचालय बनाउदा त झन् नगर्चीहरुलाई अर्को समस्या थपिएको छ ।

सम्पतीको धनी व्यवहारमा गरिब नगरा

नगरा धान्नेहरुलाई अरु काम गरेर जीवन गुजारा चलाउनुपर्ने बाध्यता रहेको छ तर नगरा गरिब भएर यस्तो भएको होइन । काठमाडौँ उपत्यका लगायतका ठाउँहरुमा नगरा गुठीको नाउँमा धेरै सम्पती रहेको छ तर त्यो सम्पती अरुले नै उपभोग गरिरहेका छन् । खासगरी नगराको नाउँमा गुठीमा अत्यधिक जग्गा रहेको छ । ३०/४० वर्षदेखि नगरा गुठीको जग्गा उपभोग गरिरहेकाहरुले नगरालाई केहीपनि दिने गरेका छैनन् ।

गुठीयार उत्पादन माग्न जाँदा उपभोग गरिरहेकाहरुले उल्टै हप्काई दप्काई गर्ने गरेका छन् । काठमाडौँ उपत्यकामा मात्रै होइन दोलखा चरिकोटमा समेत नगराको नाममा १७४ रोपनी जग्गा रहेको उनीहरु बताउँछन् । नगराले नगराको सम्पती उपभोग गर्न पाउने हो भने आफूहरुलाई कुनै समस्या नहुने उल्लेख गर्दै रञ्जिता भन्छिन्, ‘नगराको सम्पती भनेको ऐनामा भएको तस्बिर जस्तो छ, जो देख्न सकिन्छ ल्याउन सकिँदैन ।’