काठमाडौँ। एक करोडभन्दा बढीको लागतमा बनेको दाङको घोरदौरामा बन्दै गरेको खुला नाचघर यही बर्खा थेग्ने नसकेर भत्किएको छ। जिल्ला सदरमुकाम घोराहीदेखि उत्तरपूर्व ६ किलोमिटर टाढा रहेको पर्यटकीय गाउँमा निर्माणाधीन सो नाचघर भत्किएको हो। गाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने निर्णय अनुसार दुई कोठे नाचघर र दर्शक दीर्घा बनाइएको थियो।
घोराही उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर १८ का वडा अध्यक्ष भरत अर्यालले आफूले पनि नाचघर भत्किएको जानकारी पाएको बताए। उनले भने, ‘शनिबार परेको वर्षाका कारण नाचघरको ट्वाइलेट तिरको भाग भत्किएको सूचना मलाई आएको छ, आज दिउसोतिर इन्जिनियर सहित हर्ने जाने तयारी गरेका छौं।’ अर्यालका अनुसार शौचालयतिरको भाग भत्किएको सूचना आएको भएपनि स्थानियहरुले भने दर्शक दीर्घा समेत भत्किएको भनेर सामाजिक संजालमा सार्वजनिक गरिरहेका छन्।
वन कार्यालयको प्राविधिक सहयोगमा निर्माण थालिएको सो नाचघर निर्माण ठेकेदारले घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्न भने बाँकी नै रहेको जानकारीमा आएको छ।
रकम अनुसारको संरचना नबनाएको भनेर स्थानियले पहिले नै प्रश्न गरेका थिए
दाङको घोरदौराबाट हिमालका विभिन्न दृश्यहरु समेत देखिने भएकोले त्यस स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सोचले त्यहाँ नाचघर बनाउने योजना भएको थियो। योजनालाई लुम्बिनी प्रदेश सरकारले १ करोड बजेट दिएको थियो। दोस्रो पटक पनि प्रदेश सरकारबाट ६० लाख छुट्याइएको थियो। सो स्थानमा नाचघर बनाउन भिरालो जमिनलाई डोजरले खनेर मैदान बनाइएको थियो। सो स्थान नजिकै रहेको खाल्डोलाई जमिनको सतहसँग बराबर गर्नको लागि पर्खाल समेत बनाइएको थियो।
नाचघरको स्टेजमा ओतका लागि छानो र दर्शक दीर्घाको लागि ढुंगाको पेटी हालिएको थियो। नाचघरको संरचना हेर्दा सामान्य लाग्ने भएकोले लागत र बजेट अनुसारको संरचना नबनेको स्थानीयले प्रश्न गरेका थिए।