आज बौद्ध धर्मका गुरु पद्यमसम्भवको जन्मजयन्ती हो । समाजमा नयाँ र विशिष्टरुपमा योगदान गरेका व्यक्तिहरुको सम्झनामा जन्मदिन मनाउने चलन रहीआएको छ । जन्मदिन मनाउने भनेको उनी र उनले गरेका राम्रा कार्यहरुको स्मरण गर्नु हो । अहिले जन्मदिन मनाउने परम्परालाई विकृति बनाइएको छ । कुनै योगदानको कदरबिना नै जसले जस्को पनि जन्मदिन मनाउने चलनले आज यस्ता विशिष्ट योगदान दिने व्यक्तिहरु ओझेलमा पर्दै गएका छन् । पद्मसम्भव बज्रयान बौद्ध धर्मका एक तान्त्रिक गुरु हुन् ।
जसले तिब्बत, भुटान र नेपाल आदि मुलुकहरूमा बज्रयान सम्प्रदायको स्थापना गरेका थिए । बज्रयान भनेको बौद्ध तान्त्रिक समुदाय हो । यसलाई बोधिसत्वतन्त्र ज्ञान भएको पनि भनिन्छ । यो सम्प्रदाय महायान भन्दा फरक समुदाय हो । विशेषगरी पद्मसम्भवलाई ञिङमा साम्प्रदायिक अनुयायीहरूले महागुरुको रूपमा मान्छन् । ञिङ्माको अर्थ ‘प्राचीन’ वा ‘पुरानो’ भन्ने हुन्छ ।
पद्मसंभव बौद्धाचार्य अथवा गुरु रिम्पोचे तिब्ब्ती भाषामा ‘लोब पोन’ (आचार्य) या ‘पद्म जुड’ले (कमलबाट उत्पन्न भएको) पनि भन्ने गरिन्छ । जो एक पौराणिक भारतीय बौद्ध रहस्यवादी थिए, जसले तिब्बतमा तान्त्रिक बौद्ध दर्शनको सुरुवात गरे । गौतम बुद्धले प्रतिपादन गरेको बौद्ध दर्शनमा उनले तन्त्रविद्या थपेका कारण उनलाई पनि बौद्धकै अवतार मान्नेहरु पनि छन् । उनलाई पहिलो बौद्ध मठ स्थापना गरेको श्रेय पनि दिइन्छ । परम्परा अनुसार पद्मसंभव उद्यान (वर्तमान पाकिस्तानमा पर्छ) का निवासी थिए ।
यो क्षेत्र उनको तान्त्रिक विद्याका कारणले प्रख्यात थियोे । ७४७ मा उनलाई तिब्बतका राजा ठि स्त्रीङ देचनले आमन्त्रण गरे । त्यहाँ उनले तन्त्रमन्त्रद्वारा ती सैतानलाई भगाए, जसले एक बौद्ध मठको निर्माणमा बाधा उत्पन्न गरिरहेका थिए । उनले ७४९ मा बौद्ध मठको निर्माण कार्य पूर्ण नहुञ्जेलसम्म त्यसको रेखदेख गरेका थिए ।
तान्त्रिक क्रिया, पूजा तथा योग शिक्षा तिब्बती बौद्ध पन्थका सदस्य पद्मसंभवको विषेशता हो । उनले कयौं तान्त्रिक पुस्तकको मुल संस्कृतबाट तिब्बती भाषामा अनुवाद पनि गराएका थिए । पौराणिक मान्यताः भारतको पश्चिममा ओड्डियान नामक एक स्थान छ । इन्द्रभूती नामक राजा त्यहाँ राज्य गर्दथे । धेरै रानीहरु भए पनि उनका सन्तान थिएनन् । सन्तानका प्राप्तका लागि उनले महादान गरे । याचकहरुको इच्छा पूरा गर्न र स्वर्ण दिपस्थित नागकन्याबाट चिन्तामणि रत्न प्राप्त गर्नका लागि उनले महासमुन्द्रको यात्रा गरे ।
उनले एक टापुमा कमलको फूलमा लगभग अष्टवर्षीय बालकलाई देखे । उनले ती बालकलाई आफ्नो साथमा ल्याए र राजा बनाए । राजपुत्रको नाम सरोरुहवज्र राखियो । राज्यप्रति अरुचीका कारण राजकुमारले त्रिशुल र खड्ग लिएर, अस्थिहरुको माला धारणगरी, नांगो भइ ब्रताचरण आरम्भ गरे । नृत्य गर्ने समयमा उनको खड्गबाट एकजना मन्त्रीका पुत्रको मृत्यु भयो । दण्डस्वरुप उनलाई त्यहाँबाट निष्कासन गरियो । उनी ओड्डियानका दक्षिणस्थित शितवन नामक श्मशानमा बस्न थाले । त्यहाँ बस्दाबस्दै उसले मन्त्रचर्याको बलले कर्म–डाकिनीलाई आफ्नो वशमा गरे र मानिसले उनलाई ‘शान्तरक्षित’ नाम दिए ।
त्यहाँबाट उनी जहोर प्रदेशको आनन्दवन नामक श्मशानमा गए । विशिष्ट चर्याका कारण डाकिनी मारजितद्वारा अभिषेकका साथ अधिष्ठित गरे । त्यहाँबाट पुनः त्यस टापुमा गए, जहाँ उनी पद्यमा उत्पन्न भएका थिए । त्यहाँ उनले डाकिनीको संकेत अनुसार गृहातन्त्रका साधना गरे र बज्रबाराहीको दर्शन गरे । त्यहीँ उनले समुन्द्रीय डाकिनीलाई वशमा गरे र आकासीय ग्रहमा अधिकार प्राप्त गरे । डाकिनीहरुले उनको नाम ‘रौद्रव्रबिक्रम’ राखे । एकपटक उनको मनमा भारतीय आचार्यबाट बौद्ध एवं अन्य शास्त्रका अध्ययन गर्ने इच्छा उत्पन्न भयो । तदनुसार उनी जहोर प्रदेशका भिक्षु शाक्यमुनिका साथ आचार्य प्रहित भएको ठाउँमा पुगे ।
त्यहाँ उसले प्रब्रज्या ग्रहण गरे र त्यहाँ उनको नाम ‘शाक्यसिंह’ राखियो । त्यसपछि उनी हिमालय पर्वतमा बस्ने आचार्य मन्जुश्री मित्रका साथमा गए । तिनीहरुले उनलाई भिक्षुणी आनन्दी भएको ठाउँमा पठाए । भिक्षुणी आनन्दीले उनलाई अनेक अभिषेक प्रदान गरिन् । भिक्षुणीको सानिध्यमा उनलाई आयुविद्या एवं महामुद्रामा अधिकार प्राप्त भयो । त्यसपछि अन्य आचार्यसँग उनले प्रब्रकिलविधि, पद्यवाग्विधि, शान्त–क्रोध माया धर्म एवं उग्रमन्त्र श्रवण गरे ।
त्यसपछि उनी जहोर प्रदेश गए र त्यहाँकी राजकुमारीलाई वशमा गरेर पोतलक पर्वत गए । त्यस पर्वतको गुफामा उनले अपरिमितायु मण्डललाई प्रत्यक्ष दर्शन गरेर आयु साधना गरे । तीन महिनाको साधनापछि उनले बुद्धको साक्षात दर्शन गरे । त्यसपछि उनी जहोर र ओड्डियान गए र त्यहाँका जनतालाई सद्धर्ममा प्रतिष्ठित गरे । उसले अनेकौं तैर्थिकलाई शास्त्रार्थमा परास्त गरे र नेपालमा आएर महामुद्राका सिद्धी गरे । शास्त्रहरुमा गुरु पद्यसम्भवका बारेमा अर्को एक प्रसंगपनि रहेको छ ।
ओड्डियानका राजा इन्द्रभूतीकी छोरी मन्दरवा पनि पद्यसम्भवले गरेको तपश्या सिक्नका लागि गएको बखतमा उनले पद्यसम्भवसित विहे गरी भन्ने आरोप लाग्यो । त्यो हल्ला थाहा पाएपछि राजा इन्द्रभूतीले आफ्नी छोरीलाई मण्डी भन्ने ठाउँमा गाडेको र पद्यसम्भवलाई जलाउन लाग्दा ३,४ दिनसम्म पनि लास नजलेको र सोही स्थानमा कमलको फूलमा ८ वर्षको बालक देखा परेको भन्ने पनि रहेको छ ।
शास्त्रहरुमा यी र यस्ता प्रसंग तथा सन्दर्भहरु जे भएपनि पद्यसम्भवले बौद्ध दर्शनमा तन्त्रमन्त्र विद्यालाई थपेर समृद्ध बनाएका हुन । बौद्ध दर्शन जस्तो भौतिकवादी दर्शनमा तन्त्रमन्त्र विद्या थप्ने कुरा कति वैज्ञानिक होला ? मानिसहरु यसलाई अनुसन्धानको विषय ठान्छन् तर खासमा प्रत्यक वर्ष साउन महिनाको पहिलो दशमीमा पद्मसम्भवको जन्मजयन्ती मनाउने चलन रहीआएको छ तर तिथिमितिमा आउने घटबढका कारण यसपाली भने असार ६ गते नै गुरु पद्यसम्भवको जन्मजयन्ती पर्न गएको छ ।