काठमाडौँ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरहादुर देउवाले अब आफ्नै नेतृत्वमा नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउने बताएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन सभापति देउवाले आफूनिकट नेताहरुसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।
देउवाले शनिबार प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बूढानीलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताए ।
उनले भने, ‘भनेकै समयमा महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । र, मेरै नेतृत्वमा कांग्रेसलाई देशको ठूलो पार्टी बनाउछु ।’
शनिबार छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ उपस्थित थिए ।
यसैगरी छलफलमा बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियारलगायत पनि सहभागी थिए ।
छलफलमा देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न पनि केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् । साथै, सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम पनि तय गर्न उनले भनेका छन् ।
कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको चौधौं महाधिवेशन गर्दै छ ।