• मंसिर १४ २०८१, शुक्रबार

कोरोनाको तेश्रो लहर फैलन नदिन पूर्वतयारीमा जुटेका छौंः कानूनमन्त्री जोशी

असार ५ २०७८, शनिबार

धनगढी । सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले कोरोना भाइरसको तेस्रो लहर फैलिन नदिन सरकार पूर्वतयारीमा जुटिसकेको बताएकी छिन् ।

शुक्रबार कैलालीको भारतसँग जोडिएको गौरीफन्टा नाकाको स्थलगत अनुगमन गर्दै प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री जोशीले स्थानीय तह र प्रदेश सरकार मिलेर कोरोना महामारी नियन्त्रणका योजना बनाउन थालेको बताइन् ।

‘कोरोना भाइरसको अर्को चरणको महामारी नियन्त्रण गर्न आवश्यक पर्ने पूर्व तयारीमा हामी जुटेका छौं,’ मन्त्री जोशीले भनिन्, ‘सीमा नाकाबाट संक्रमण फैलिने भएकाले यहाँ प्रविधिमैत्री संरचना निर्माण गछौँ ।’

स्थानीयतह र प्रदेश सरकार मिलेर यात्रु, सुरक्षाकर्मीका लागि पनि आवश्यक संरचना बनाएर मूल नाकालाई व्यवस्थित गरिने उनले बताइन् । मन्त्री जोशीले सीमा नाकाको तत्कालै उचित व्यवस्थापन गर्नुपर्ने देखिएकाले शनिबार बिहानैदेखि सरसफाइ लगायतका काम थालनी गरिने बताइन् । गौरीफन्टा नाकासँग जोडिएका कैलाली र कञ्चनपुरका स्थानीय तहले नाकालाई व्यवस्थित बनाउन आवश्यक पर्ने काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिसकेकाले संयुक्तरुपमा कार्य गरिने बताइन् ।

प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले पनि कोरोना भाइरसको तेस्रो लहर फैलिने कुराहरु आइरहेकाले रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर बनेको बताए । ‘तेस्रो लहरको संक्रमण फैलिन नदिन हामी गम्भीर बनेका छौँ,’ मन्त्री खड्काले भने, ‘त्यसका लागि भारतसँग जोडिएका गौरीफन्टा, गड्डाचौकी, दार्चुला र बैतडी जिल्लाका सबै नाकालाई व्यवस्थित गर्दैछौँ । नाकाबाट आउने सबै मानिसको चेकजाँच गरेर सुरक्षित साथ घरसम्म पुगाउने काम गछौँ ।’

मन्त्री खड्काले तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने कुरा आइरहेकाले उनीहरुलाई लक्षित गरेर अस्पतालहरुमा आवश्यक संचरना निर्माण गर्ने कामको समेत थालनी गरिने बताए ।