• मंसिर १२ २०८१, बुधबार

बाढी पीडितलाई सरकारले पठायो झण्डै १३ करोड

असार ४ २०७८, शुक्रबार

काठमाडौँ । सरकारले बाढी र पहिरोबाट क्षति पुगेका घरहरु निर्माणको लागि १२ करोड ५८ लाख ८० हजार पठाएको छ । २०७७ सालको बाढी र पहिरोबाट क्षति पुगेका घरहरु निर्माणका लागि संघीय सरकारले व्येहोर्नु पर्ने रकम मध्यको सो रकम बाढी र विपदबाट क्षति पुगेका १४ जिल्लामा पठाई सकेको प्राधिकरणले जानकारी दिएको छ ।

बाढी पहिरोबाट क्षति पुगेका पूर्व मोरङदेखि पश्चिम दार्चुलासम्मका १४ जिल्लाका २९१३ घरधुरी निर्माणका लागि सो रकम पठाएको गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो ।
कुन जिल्लाले कति पाए ?

देशभरिमा बाढी र पहिरोबाट क्षति भएका जनताका घरहरु गरेर जम्मा २९१३ घर धुरी निर्माणको लागि संघीय सरकारको तर्फबाट व्येहोर्नु पर्ने सो रकम प्रति घरधुरी ४३,२१३ रुपैयाँ दुई पैसाको दरले पठाइएको प्राधिकरणले बताएको छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी रकम कालिकोटमा गएको देखिएको छ ।

कालिकोटमा क्षति भएका ९४७ घरहरु निर्माणको लागि ४ करोड ९ लाख ९८ हजार ७५० रुपैयाँ रकम गएको छ । बाढी र पहिरोबाट क्षति भएको घरहरु निर्माणको लागि दोस्रो ठूलो रकम बागलुङमा गएको छ । बागलुङमा क्षति भएका ५०२ घरहरु निर्माणको लागि २ करोड ५ लाख ९२ हजार ५०० रुपैयाँ रकम गएको छ ।

त्यस्तै स्याङ्जामा क्षति भएका २७४ घरहरु निर्माणका लागि १ करोड १७ लाख ६७ हजार ५०० रुपैयाँ सकम गएको छ । म्याग्दीमा क्षति भएका २४७ घरहरु निर्माणको लागि १ करोड ८ लाख ९७ हजार ५०० रुपैयाँ रकम पुगेको छ भने बाजुरामा क्षति भएका २१७ घरहरु निर्माणको लागि ९१ लाख २७ हजार ५०० रुपैयाँ, कास्कीमा क्षति भएका १६५ घरहरुको लागि ७० लाख ८७ हजार ५०० रुपैयाँ, भोजपुरमा क्षति भएका १३१ घरहरुको लागि ५७ लाख १८ हजार ७५० रुपैयाँ, पर्वतमा क्षति भएका ८५ वटा घरहरुको लागि ३६ लाख ४५ हजार रुपैयाँ संघीय सरकारले जिल्लामा पठाएको छ ।

बाढी पहिरोबाट क्षति भएका घरहरु निर्माणको लागि केन्द्रिय सरकारले जिल्ला पठाएको रकममध्ये रुकुम पश्चिममा क्षति भएका ८३ घरहरुको लागि ३५ लाख २ हजार ५०० रुपैयाँ, जाजरकोटमा क्षति भएका ७३ घरहरुको लागि ३२ लाख ८५ हजार रुपैयाँ, रोल्पामा क्षति भएका ५४ घरहरुलाई २३ लाख ८१ हजार २५० रुपैयाँ रहेको छ ।

त्यस्तै सरकारले पठाएको रकम अनुसार दार्चुला जिल्लामा क्षति भएका ५१ घरहरुलाई २२ लाख ७६ हजार २५० रुपैयाँ, मोरङमा क्षति भएका ४९ घरहरुलाई २२ लाख १ हजार २५० र धनकुटामा क्षति भएका ३३ घरहरु निर्माणको लागि १३ लाख ९८ हजार ७५० रुपैयाँ रहेको छ ।