• आश्विन १३ २०८१, आईतवार

पायल्स के कारणले हुन्छ ? यसबाट बच्न के उपाय अपनाउने ?

असार ४ २०७८, शुक्रबार

नेपालमा पायल्सबाट पीडितको संख्या निकै ठूलो छ । तर, धेरैले यो रोग लुकाएर पनि बसेका छन् । यो समस्या विशेषगरी गर्भावस्था, खानपानमा गडबडी, कब्जियत वा दिशा गर्दा बढि जोड लगाउनाले हुने गर्छ ।

पायल्सलाई अंग्रेजीमा हेमाराइड पनि भनिन्छ । मलद्धारमा रहेको भेरिकोज नलीमा दबाब परेमा पायल्स हुने गर्छ । यस्तो दवावले उक्त नली चर्कने, फुट्ने वा त्यसमा चिरा पर्ने गर्छ । जसले गर्दा मलद्वारमा चरम पीडा हुन्छ र कतिपयमा अत्यधिक रक्तश्राव समेत हुन्छ ।

सामान्य व्यक्तिमा पायल्सले गम्भीर समस्या निम्त्याउँदैन तर, रगत पातलो गर्ने औषधीको सेवन गर्नेहरुमा पायल्सले लिभरसिरोसिसको समस्या ल्याउँछ । पायल्सबाट छुट्कारा पाउने तथा यसलाई बल्झनबाट रोक्ने थुप्रै उपायहरु छन् । यहाँ पायल्सको उपचारका केही प्रभावकारी विधीहरुको वर्णन गर्दैछौं ।

पायल्सको उपचार

सिट्ज बाथः
पायल्सको उपचारमा सिट्ज बाथ प्रभावकारी मानिन्छ । यसमा विरामीको हिप तथा कम्मरमुनिको भागलाई १० देखि १५ मिनेट तातोपानीमा राख्नुपर्छ । यस पद्धतिले तत्काल दुखाईबाट राहत मिल्छ । दैनिक सिट्ज बाथलाई निरन्तरता दिएमा रोगलाई निर्मुल गर्न सहयोग पुग्छ ।

चिसो ट्वाइलेट पेपरको प्रयोगः

पायल्सका विरामीले ट्वाइलेट पेपर प्रयोग गर्नुभन्दा पानीले धुनु राम्रो हुन्छ । सुख्खा पेपरको प्रयोग गर्दा मलद्वारमा घाउ हुनसक्छ । त्यसैले, ट्वाइलेट पेपर प्रयोग गर्नै परेमा चिसो वा गिलो बनाएर मात्र प्रयोग गर्नुपर्छ । साथै, फोहर वा अल्कोहल लागेको पेपरले पुछ्नु हुँदैन । अन्यथा, मलद्वारमा पोल्न सक्छ ।

ट्रपिकल औषधिः

पायल्सको उपचारमा प्रभावकारी मानिने विभिन्न प्रकारका ट्रपिकल औषधी बजारमा किन्न पाइन्छ । यसमा एन्टीसेप्टिक क्रिम, ओयन्टमेन्ट, मेडिकेटेड वाइप्स आदि पर्छन् । यिनीहरुको प्रयोगले पायल्सको दुखाई कम गर्नुका साथै चिलाउन पनि कम हुन्छ । तर, चिकित्सकको सल्लाहबिना एक हप्ताभन्दा बढी औषधि प्रयोग गर्नु हुँदैन ।

पेन किलरः

पायल्सका बिरामीहरुलाई दिशा गर्दा चरम पिडा हुन्छ । यस्तो पिडा कम गर्न दुखाई कम गर्ने विभिन्न औषधिहरु प्रयोग गर्न सकिन्छ । तर, त्यस्ता औषधिको प्रयोग गर्नुअघि चिकित्सकसित परामर्श गर्नुपर्छ । अन्यथा, बालबालिका र किशोरकिशोरीमा यस्ता औषधी घातक बन्न सक्छन् ।

बरफको सेकाईः

पायल्सका विरामीहरुका लगि बरफको सेकाई प्रभावकारी उपचार हुनसक्छ । यसले रक्तसञ्चारलाई सुस्त बनाई आराम महसुस गराउँछ । यसको लागि बरफलाई एउटा व्यागमा हालेर करिब दश मिनेट संक्रमित क्षेत्रमा सेक्नुपर्छ ।

शरीर सफा राख्नेः

पायल्सको पीडा कम गर्ने अर्को उपाय भनेको संक्रमित क्षेत्रलाई सफा एवं स्वस्थ राख्नु हो । प्रत्येक दिन स्नान गरेपछि मनतातो पानीले मलद्वार वरिपरिको क्षेत्रलाई सफा गर्नुपर्छ । मलद्धारको सफाई गर्दा सावुनको प्रयोग गर्न अनिवार्य छैन । यसलाई सावुनले वा सादा पानीले पनि सफा गर्न सकिन्छ ।

पायल्सबाट कसरी जोगिने ?

१) दिशा गर्दा नकन्नेः
पायल्सको जड भनेको कब्जियत हो । कब्जियत भएमा दिशा गर्दा बल लगाउनुपर्छ । बढि बल लगाउँदा मलद्वारा वरिपरिको नशा फुटेर पायल्सको समस्या उब्जिन सक्छ । त्यस्तै, पुरानो डायरिया, पाचनसम्बन्धि समस्या, बाथरुममा बसेर पढ्ने तथा मोबाइलमा गेम खेल्ने बानीले पनि पायल्स हुने गर्छ । त्यसैले, दिशा गर्दा कहिल्यै पनि बल लगाउनु हुँदैन । त्यस्तै, बाथरुममा धेरै बेर बस्नु हुँदैन । ट्वाइलेट सिटमा बस्दा खुट्टालाई थोरै माथि उठाएर दिशा गर्न सजिलो बनाउनु पर्छ । कहिल्यै दिशा रोकेर बस्नु हुँदैन । आउनासाथ ट्वाइलेट कुदिहाल्नु पर्छ । समयमा ट्वाइलेट नगए वा धेरैबेर रोके कब्जियत हुनसक्छ ।

२) सही खानपानः

सही खानपानबाट पनि पायल्सलाई रोक्न सकिन्छ । यसका लागि सन्तुलित आहारका साथमा पेय पदार्थबाट टाढै रहनुपर्छ । सन्तुलित आहारका लागि फलफूल, सागसब्जी, अन्न, पास्ता, गेडागुडी लगायतका फाइबरयुक्त खानेकुराको सेवन गर्नुपर्छ । पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्दछ । कफीन तथा मदिराबाट टाढा रहनु पर्छ, किनकी यसले आन्द्राको गतिविधिलाई प्रभावित पार्न सक्छ ।

३) नियमित ब्यायामः

नियमित व्यायाम यसै पनि स्वास्थ्यको लागि अति आवश्यक छ । यसले तौललाई नियन्त्रित गर्न सहयोग पुग्छ । आवश्यकता भन्दा बढी तौल भएमा यसले मलद्धारको नलीमा अतिरिक्त दवाव पैदा गर्न सक्छ । पायल्स पैदा हुने सबैभन्दा ठूलो कारण यही हो । त्यस्तै, शारीरिक सक्रियताले पनि कब्जियत रोक्न सहयोग गर्छ । यसबाहेक विभिन्न वैकल्पिक उपचार पद्धतिद्वारा पनि पायल्सको उपचार गर्न सकिन्छ ।

चिकित्सकको परामर्शको आवश्यकता:

सामान्यतया, पायल्सले ठूलो हानी पुर्याउँदैन । सुरुको अवस्थामा यसको उपचार पनि सजिलो हुन्छ तर, पनि केही व्यक्तिमा भने यसले जटिल समस्या निम्त्याउने गर्छ । विशेषगरी, पायल्सका कारण अत्यधिक पीडा भएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ । पायल्सका कारण लामो समय रक्तश्राव भएमा रक्तअल्पता हुने गर्छ । रक्तअल्पता भएमा शरीरका कोषिकामा अक्सिजन राम्ररी पुग्दैन, जसका कारण व्यक्तिलाई कमजोरी तथा थकान महसुस हुने गर्छ ।

शल्यक्रियारहित उपचारः
पायल्सको अन्तिम उपचार भनेको शल्यक्रिया नै हो । तर, सुरुको अवस्थामा शल्यक्रियाबिना पनि यसको प्रभावकारी र सुरक्षित उपचार गर्न सकिन्छ । ससाना रबर व्याण्डको प्रयोग गरेर, स्केलेरोथेरापी इन्जेक्सन दिएर तथा लेजर थेरापीद्वारा पनि पायलल्स रोगको उपचार गर्न सकिन्छ । त्यसको लागि चिकित्सकलाई देखाउन जरुरी छ ।

कुन अवस्थामा शल्यक्रिया गर्ने ? केही जटिल अवस्थाहरुमा शल्यक्रियाबिना पायल्सको उपचार सम्भव हुँदैन । त्यस्तो अवस्थामा चिकित्सकहरु पायल्स निकाल्न शल्यक्रियाकै सल्लाह दिन्छन् । यस्ता शल्यक्रिया रोगको प्रकृति र रोगको गम्भीरता तथा उपचार पद्धति अनुसार फरक हुन्छन् । अस्पताल भर्ना भएर वा नभई पनि शल्यक्रिया गर्न सकिन्छ । शल्यक्रिया गर्दा कहिलेकाहीँ रक्तश्राव, संक्रमण पनि हुन सक्छन् ।
सुझावः
दुःखाई कम गर्ने विभिन्न औषधिको प्रयोगले कब्जियतको समस्या पैदा हुन सक्छ त्यसले पायलल्स निम्त्याउन सक्छ । त्यसैले, यस्ता औषधधि सेवन गर्नुअघि अगाडि दिशा नरम बनाउने औषधीको प्रयोग गर्नु जरुरी छ । गर्भावस्था र सुत्केरी अवस्थामा धेरैलाई पायल्स हुनसक्छ । त्यसैले, गर्भावस्थामा चिकित्सकको सल्लाहबिना कुनै औषधी खानु हुन्न । अन्यथा, यसले स्वास्थ्यमा प्रतिकल प्रभाव पार्न सक्छ ।

ध्यान दिनु पर्ने कुराः
पायल्समा प्रयोग गरिने क्रिमप्रति केही व्यक्ति संवेदनशील हुन सक्छन् । त्यसको लागि कुनै पनि क्रिम प्रयोग गर्नु पूर्वसावधानी अपनाउनु पर्छ । पायल्सका कारण दिशामा रगत देखिनसक्छ । त्यसबाहेक, आन्द्राको क्यान्सर लगायत गम्भीर समस्यामा पनि दिशामा रगत देखिने हुँदा तुरुन्तै चिकित्सकलाई जचाँउनु पर्छ । कुनै औषधीले एलर्जी भएमा चिकित्सकसित सम्पर्क गरी नयाँ उपचार पद्धतिको थालनी गर्नु पर्छ । पायल्सका कारण अत्याधिक दुखाईका कारण मलत्याग गर्न समस्या भएमा तुरुन्तै चिकित्सकलाई जचाउँनु पर्छ ।