• माघ १८ २०८१, शुक्रबार

मूर्ति तथा चित्रकलामा देखिने कुन बाहन कस्का ?

असार ४ २०७८, शुक्रबार

हिन्दु र बौद्ध मूर्ति तथा चित्रकलाहरुमा देवी देवताहरु आफ्नो आफ्नो बाहनमा बसेका हुन्छन् । ती बाहन वा बैठकलाई ‘आसन’ भन्ने शब्दले जनाउने गरिन्छ ।

विभिन्न देवी देवताहरुका मूर्ति, प्रतिबिम्बहरु वा चित्रहरु कोर्दा तिनीहरुलाई कुनै बैठकमाथि बसेको वा उभिएको स्थानमा कुनै बाहनमाथि बसेको वा उभिएको अवस्थामा प्रस्तुत गरिराखेको हुन्छ ।

यस्ता कलाकृतिहरु बनाउँदा कलाकारले धार्मिक शास्त्रको मान्यता अनुसार विभिन्न जनावरहरुको साथमा मूर्ति तथा चित्रकला कोरेको हुन्छ । ती मूर्ति तथा चित्रकलाले धार्मिक मान्यता अनुसारका विभिन्न कथा वस्तुहरुपनि झल्केको हुन्छ । हिन्दु देवी देवताहरुका मूर्तिहरुमा देखा पर्ने केही बाहन सहितका आशनहरु निम्न रहेका छन् ।

१) पद्म वा कलसाशन

यो आसनमा देवी देवताहरु सून्दर कमलको फूलमाथि बसेको वा उभिएको हुन्छन् । विशेष गरी विष्णु, लक्ष्मी र बुद्धका मूर्ति तथा चित्रहरु पद्यासनमा बसेका हुन्छन् । कमल फूलको पत्र चार, आठ वा सहद्र दल बनाएर प्रस्तुत गरिएको हुन्छ । कमल फूलमाथिको आसन भएकोले यसलाई कमलासन भनिन्छ ।

२) कुर्मासन

हिन्दुशास्त्रको मान्यता अनुसार यमुनाको बाहन कछुवा हो । यमुनाको मूर्ति तथा चित्र बनाउँदा कछुवामाथि बसेको वा उठेको बनाइन्छ । यस आसनलाई कुर्मासन भनिन्छ । कुनै कुनै मन्दिर अगाडी शिला वा स्तम्भहरुमा पनि कछुवाको माथि राखेको पाइन्छ ।

३) सिंहासन (बाघासन)

देवी दुर्गाको बाहन सिंह हो । त्यसैले दुर्गालाई सिन्हाबाहिनी पनि भनिन्छ । देवीको शक्तिलाई त्यो हिंस्रक सिंहले पनि प्रतिनिधित्व गरेको हुन्छ । कुनै कुनै देवीलाई बाघसँग पनि प्रस्तुत गरेको पनि पाइन्छ । यसरी दुर्गा सिंहको साथमा बसेको आसनलाई सिंहासन भनिन्छ भने देवी बाघमा बसेको आसनलाई आसनलाई बाघासन भनिन्छ ।

४) मकरासन

हिन्दु धर्मग्रन्थ अनुसार गंगाको बाहन गोही हो । गोहीलाई मकर पनि भनिन्छ । धर्मशास्त्र अनुसार गंगाले नै पृथ्वीमा पानी ल्याएको भन्ने मान्यता छ । गंगा गोहीमाथी बसेको आसनलाई मकरासन भनिन्छ । नेपालका ढुंगेधाराहरुमा ढुंगेधाराहरुको टुप्पोमा त्यही गोहीको मुखबाट पानी झरेको देखाइएको हुन्छ । गंगाको प्रतिनिधिको रुपमा उनको बाहनलाई यसरी देखिएको हो ।

५) मयुरासन

मयुर सन्दर पन्छी हो । मयुरलाई महादेवका पुत्र वा कार्तिकेयको बाहनको रुपमा प्रस्तुत गरिएको हुन्छ । यसरी कुमार मयुरसँग बसेको आसन मयुरासन हो । कतै कतै देवीहरू पनि मयुरासनमा बसेको देख्न सकिन्छ ।

६) गरुडासन

हिन्दु धर्मशास्त्र अनुसार विष्णु भगवानको बाहन गरुड हो । गरुडसँग बसेको विष्णुको आसन नै गरुडासन् हो । हिन्दु धर्मको मान्यता अनुसार गरुड छिटो गतिमा पुग्ने पन्छी हो ।

७) मुषकासन

भगवान शिव पार्वतीका पुत्रमध्य गणेश एक हुन् । गणेशको बाहनको रुपमा मुसोलाई लिएको पाइन्छ । मुसासँगै रहेको गणेशको आसनलाई मुषकासन भनिन्छ ।

८) नन्दी वा साँढे आसन

शिवको बाहन साँढे हुन् । साँढेलाई शिवभक्तको रुपमा पनि लिएको पाइन्छ । साँढेसँगै बसेको शिवको आसनलाई नन्दी वा साँढे आसन भनिन्छ ।

९) हस्ती (हात्ती) आसन

स्वर्गका राजा इन्द्रको बाहन ऐरावत हात्ती हो । हात्तिसँगै बसेको इन्द्र वा इन्द्रायणीको आसनलाई हस्ती आसन भनिन्छ । यो एक प्रकारको राजा भएको हुनाले राजा बस्ने आसनमा पनि हात्ती र सिंह प्रस्तुत गरिएको आसनलाई राखिएको हुन्छ । जसलाई राजसिंहासन् भनिन्छ ।

१०) हंस वा हाँस

हंस वा हाँसलाई विभिन्न देवीहरुको रुपमा प्रस्तुत गरेको देखिन्छ । जस्तैः सरस्वती, बहना अथवा चन्द्रमाले आफ्नो आफ्नो बाहनको रुपमा प्रस्तुत गरेको देखिन्छ । हंससँग बसेको देवीहरुको आसन नै हंसासन हो ।

११) अश्व वा घोडा आसन

सूर्य देवताको रुपमा घोडालाई लिएको पाइन्छ । अझ भन्ने हो भने सातवटा घोडाको समूहले सूर्यको रथलाई तानिरहेको हुन्छ । यसलाई नै अश्व वा घोडा आसन भनिन्छ ।

१२) प्रेत वा शव आसन

देवी चामुण्डाको बाहनको रुपमा प्रेत वा शवलाई लिएको पाइन्छ । प्रेत वा शवमाथि रहेको आसन नै प्रेत वा शवासन हो ।
यसरी विभिन्न पन्छी वा जनावरहरुलाई हिन्दु देवी देवताहरु वा बौद्ध मूर्तिहरुमा आआफ्नो बाहनको रुपमा लिएको पाइन्छ । लाटोकोसेरो, गाई, कुकुर, हनुमान, स्याल, सर्प, जरायो, हरिण आदि जनावर तथा पन्छीहरुसँग पनि देवी देवताहरुको सम्बन्ध रहेको पाइन्छ ।

यी मूर्ति तथा चित्रहरुले के कुरा प्रष्ट देखाउँछ भने हामी मानिसहरुले आफू मात्र यो पृथ्वीमा नरही सम्पूर्ण जीव जन्तुहरुलाई पनि स्थान दिनु पर्दछ भन्ने कुरा व्यक्त गर्दछ । यस हिसावले हाम्रा धार्मिक मूर्तिहरु पनि पारस्थितिक प्रणालीमा आधारित रहेको भनेर उत्कृष्ट रुपमा रहेको देखिन्छ ।