• मंसिर १२ २०८१, बुधबार

तीन प्रभावशाली नेताको आज जन्म दिन, को कहाँ जन्मिए ?

असार ४ २०७८, शुक्रबार

काठमाडौँ।

संयोगले नेपालका तीन ठूला कम्युनिष्ट नेताहरुको आज एकैदिन जन्मदिन परेको छ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, पूर्वसभामुख, पूर्वगृह, संचार र अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य कृष्णबहादुर महरा र प्रभावशाली नेता नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य पूर्वसांसद लिलामणि पोखरेलको असार ४ अर्थात् अंग्रेजी मिति अनुसार जुन १८ तारिक एकैदिन जन्मदिन परेको हो ।

डा.भट्टराई र महरा विगतको जनयुद्धलाई शिर्ष तहबाट नेतृत्व गरेका नेताहरु हुन् भने पोखरेल जनयुद्धलाई नजिकबाट सहयोग गर्ने नेताहरुमध्ये एक हुन् । नेपालको इतिहासमा पहिलोपल्ट भएको संविधान सभाको चुनावबाट माओवादी शान्ति प्रकृयामा आएपछि २०६५ सालमा पोखरेलहरुको एकता केन्द्र र माओवादीबीच एकता भएको थियो ।

पूर्वप्रधानमन्त्री डा. भट्टराई विस.२०११ साल असार ४ गते गोरखामा जन्मिएका हुनभने पूर्वसभामुख महरा २०१५ साल असार ४ गते रोल्पामा जन्मिएका हुन् । नेता पोखरेलको भने अंग्रेजी र नेपाली मिति परवर्तन हुँदा मात्रै अंग्रेजी मिति अनुसार आज जन्मदिन पर्न गएको हो ।

नेपाली मिति अनुसार नेता पोखरेल विस.२००९ साल असार ५ गते प्युठानको खैरामा जन्मिएका हुन् ।
२०४८ सालको संसदीय निर्वाचनमा उनी ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा विजयी भएका थिए भने २०५६ सालको निर्वाचनमा सिन्धुली निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । नेता पोखरेलले एक राष्ट्रवादी नेताको रुपमा आफूलाई स्थापित गरेका छन् ।