• मंसिर १० २०८१, सोमबार

देशभरका सय भन्दा बढी नर्सिङ कलेज बन्द हुँदै, यस्तो छ कारण

असार ४ २०७८, शुक्रबार

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बाध्यकारी नियम अनुसार आफ्नो भवन नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्न नपाउने छैनन् । जसले गर्दा सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने अवस्थामा छन् ।

हाल देशभर कोरोना महामारीको जोखिम रहेको र नर्सहरुको थप खाँचो रहेकै अवस्थामा चिकित्सा शिक्षा आयोगले व्यवस्था गरेको नर्सिङ कलेजको सय बेडको आफ्नै भवन हुनुपर्ने बाध्यकारी ऐनका कारण कलेज बन्द हुने र तीन हजार ६ सय विद्यार्थी नर्सिङ पढ्नबाट बञ्चित बन्नेछन् ।

आयोगको चिकित्सा शिक्षा ऐन २०७५ अनुसार नर्सिङ विषय सञ्चालन गर्ने शिक्षालयहरूको आफ्नै सय बेडको अनिवार्य अस्पताल हुनुपर्ने व्यवस्था गरिएको छ । आयोगले अस्पताल बनाउन कलेजहरूलाई दुई वर्षको अवधि पनि दिएको थियो । यो अवधि गत वर्ष नै सकिएको छ ।

दुई वर्ष बितिसक्दा समेत स्वास्थ्य विषय पठनपाठन गराउने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) अन्तर्गतका शिक्षालयले आफ्नो अस्पताल बनाउन सकेका छैनन् । विश्वविद्यालय अन्तर्गत सञ्चालित नर्सिङ कलेजहरूको समेत आफ्नो अस्पताल छैन ।

यति मात्र होइन, सिटिइभिटीको नर्सिङ पढाइ हुने पाँच आंगिक कलेजमा समेत आफ्नो अस्पताल नभएको सिटिइभिटीका प्रवक्ता विनोद बडालले बताए । उनका अनुसार सिटिइभिटीका आंगिक र सम्बन्धन प्राप्त गरी ९० शिक्षालयसँग आफ्नो अस्पताल छैन । अन्य विश्वविद्यालयका २० नर्सिङ कलेजहरूको पनि आफ्नो अस्पताल नभएको उनले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।