काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमाले असन्तुष्ट माधवकुमार नेपाल-झलनाथ खनाल समूहसँग जेठ २७ गते ६ बुँदे एकता प्रस्ताव आह्वान गरेका थिए ।
ओेलीको ६ बुँदे एकता प्रस्ताव झुटको पुलिन्दा भएको भन्दै नेपाल-खनाल समूहले त्यसको भोलिपल्ट उल्टै ६ बुँदे एकता प्रस्ताव आह्वान गरेको छ । सो समूहको उक्त आह्वान पश्चात् उनले आधिकारिक जवाफ भने हालसम्म दिन सकेका छैनन् । यद्यपि नेपाल-खनाल समूहका दोस्रो वरियताका केहीँ नेताले ओलीको एकता प्रस्ताव सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
नेता घनश्याम भुषाल, योगेश भट्टराई लगायतका केही नेताले ओलीसँग झुकेर भएपनि पार्टी एकता गर्ने पक्षमा देखिएका छन् । उनीहरूले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको एकता प्रस्ताव सकारात्मक भएको धारणा राख्दै आएका छन् । यो सँगै उनीहरूले राजधानीका विभिन्न होटलमा ओली समूहका दोस्रो वरियताका नेता सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली लगायतका अन्य केही नेताहरूसँग एमाले एकताका लागि अनौपचारिक रूपमा पटकपटक भेटवार्ता र छलफल गर्दै आएका छन् ।
यी दुई समूह एकआपसमा निरन्तर भेटवार्ताकै क्रममा छन् । नेपाल–खनाल समूहको एकताको बटम लाइन पार्टीको राजनीतिक तथा वैचारिक संगठनको संरचना २०७५ जेठ २ मा फर्काउनु हो । यो संरचनामा पार्टीलाई फर्काउन ओली समूहका नेताहरूसँग उनीहरूले भेटवार्ता गरेका हुन् । यो सँगै प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली सो समूहको बटम लाइनप्रति सकारात्मक रहेको बताइएको छ ।
दुवै समूहका दोस्रो वरियताका नेताहरूको भेटवार्ता र छलफल पश्चात् पार्टी एकताको सम्भावना नजिकिएको बताइएको छ । तर, एकताका लागि भन्दै दुवै समूहले हालसम्म आधिकारिक धारणा भने सार्वजनिक गरेका छैनन् । पार्टी एकताका लागि ओली सकारात्मक भएपनि वरिष्ठ नेता नेपालले एकताका लागि तत्काल कुनै सम्झौता नभएको बताएका छन् । उनले जेठ ३१ गते आफ्नै निवास कोटेश्वरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा यस्तो बताएका हुन् ।
पछिल्लो राजनीतिक घटनाक्रम र त्यसले उल्झाएको विवाद चुलिदै गएको छ । यसैबीच प्रधानमन्त्री ओलीविरुद्ध सत्ता पक्षको असन्तुष्ट समूह नेपाल–खनालले विपक्षी दलहरू काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव–संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई समूहसँग ध्रुवीकरण गरेका छन् ।
नेपाल–खनाल समूहले विपक्षीसँग ध्रुवीकरण गरेपछि नेपाल–खनाल ससमूहले कर्णाली र सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार ढल्नबाट जोगाइ दिएको छ । त्यस्तै सो समूहले प्रदेश–१, गण्डकी र बागमतीमा नीति तथा कार्यक्रमको पक्षमा उभिएसँगै उसले एमाले एकता र सहकार्यको रणनीति अगाडि सारेको देखिन्छ । यी प्रदेशहरूमा ओली र नेपाल–खनाल दुवै समूह मिलेर आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
एमाले ओली र नेपाल–खनाल समूह एकताको सम्मुखमा पुग्नै लाग्दा गत जेठ ३१ गते नेपाल निवास कोटेश्वरमा काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बुधबार अपरान्ह पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले भेट गरेका छन् ।
यसअघिका विपक्षी गठबन्धनको भेला तथा भेटघाट र छलफल बुढानीलकण्ठस्थित देउवा निवासमा हुँदै आएको थियो । त्यतिमात्रै होइन, संसद् विघटन भएयता बुढानीलकण्ठमा विपक्षी दलहरूको आधिकारिक भेटवार्ता, छलफल र निर्णय समेत गरिएका छन् । राजनीतिक विषयमा छलफल गर्न हतारिएर अन्य पार्टीका नेताको निवासमा नजाने देउवा पछिल्लो चरणमा कोटेश्वर जान थालेका छन् ।
गत जेठ ३० गते सर्वोच्च अदालतले एमाले अध्यक्ष ओलीले एक पक्षीय रुपमा गठन गरेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने आदेश दिएको छ । त्यसपछि नेपाल–खनाल समूहका नेताहरूले अदालतले एमालेलाई एकता गर्न खोजेको टिप्पणी हुँदै आएको थियो ।
तथापि सर्वोच्चको फैसला कार्यान्वयन भएमा एमाले विवाद समाधान र दुवै पक्ष एकता हुने र पुर्ववत् अवस्थामा फर्किने सम्भवना बढेपछि विपक्षी दलका नेताहरूले कोटेश्वरमै पुगेर भेट गर्दै आएका छन् । यसर्थ पहिले राष्ट्रिय राजनीतिको ‘इपिसेन्टर’ देउवा निवास बुढानीलकण्ठ बनेको थियो भने पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर बनेको छ ।